त्यस्तै, २२१ सम्पदा पुनर्निर्माण भइरहेको र पुनर्निर्माण हुन ३०८ बाँकी रहेका छन् । महाभूकम्पले काठमाडौँ उपत्यकामा भत्केका आधा दर्जनभन्दा बढी प्राचीन सम्पदाको पुनर्निर्माण कार्य भने बीचमै रोकिएका छन् ।
पुनर्निर्माणको प्रक्रिया सुरु भइसकेका काठमाडौँ र ललितपुरस्थित केही विश्वसम्पदा सूचीमा सूचीकृत र ऐतिहासिक महत्वका केही सम्पदाको पुनर्निर्माण बीचमै रोकिएका हुन् ।
सम्पदा पुनर्निर्माण हुँदा पहिलेकै स्वरुपमा नभई आधुनिकीकरण गरी निर्माण भएको र गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएपछि पुनर्निर्माणमा रोक लागेको हो ।
विश्व सम्पदा क्षेत्रमा सूचीकृत केही धरोहर पुनर्निर्माण भने सम्झौता गरेका दातृ निकायले जथाभावी निर्र्माण गरेको भन्दै रोकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
ललितपुरको पर्या सम्पदास्थल बुङमतीमा रहेको धार्मिक सांस्कृतिक सम्पदा रातो मछिन्द्रनाथको मन्दिर निर्माण गर्न श्रीलंकाले दुई वर्षको सम्झौता गरेको थियो । सम्झौताअनुसार काम सुरु पनि भयो तर पहिलेको संरचना विपरीत कंक्रिट, सिमेन्ट लगायत सामग्री राखिन थालेपछि स्थानीयले विरोध गरे । यो मन्दिर झण्डै एकहजार ६०० वर्ष पुरानो हो ।
ललितपुर महानगरपालिका, युनेस्को तथा पुरातत्व विभागका प्रतिनिधिले अनुगमन गर्दा प्राचीन मर्मअनुसार नभएकाले रोकिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
श्रीलंकाले दुई ठेकेदारमार्फत् कुल पाँच करोड २१ लाख रुपियाँमा निर्माण गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्झौता गरेको थियो । यो सहित सरकारको बोलपत्र आह्वानमा ललितपुरको राधाकृष्ण मन्दिर, शंखमुलको जगतनारायण मन्दिर र पाटनको कृष्ण मन्दिर पुनर्निर्माण गर्न दिइएको थियो ।
बजेट घटाघटमा निर्माण ठेक्का लिने अनि निर्माण गर्दा गुणस्तरहीन काम देखिएको महर्जनले बताउनुभयो । प्राधिकरणका कार्यकारी अधिकृत सुुशील ज्ञवालीले विभागसँग समन्वय नहुँदा गुणस्तरीय काम नभएकोे बताउनु भयो ।
काठमाडौंँस्थित विश्व सम्पदा सूचीमा सुचीकृत वसन्तपुर दरबार क्षेत्रका केही सम्पदाको पुनर्निर्माण अझै सुरु हुनसकेका छैनन् । “स्थानीयले विरोध गरेपछि रोकिएको छ,” हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख अरुणा नकर्मीले बताउनुभयो ।
“कागजपत्र, नक्सा पास लगायत सबै काम सकिएको थियो ।” यहाँ स्थित जगन्नाथ मन्दिर, गोपीनाथ मन्दिर, आगम छेँ मन्दिर, नागपोखरीको शिव मन्दिरको पुनर्निर्माण सुरु हुनैलाग्दा रोकिएको जानकारी उहाँले दिनुभयो ।
जैसीदेवल, दशावतार, माजुदेग, रानी पोखरी लगायत संरचना पुननिर्माणमा पनि विवाद देखिएको थियो । ती क्षेत्रमा काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग र उपत्यका संरक्षण समितिको संयुक्त पहलमा काम भइरहेको छ ।
“माजुदेगको बोलपत्र पुरातत्व विभागले नै नियम अनुसार दिएको हो,” एक कर्मचारीले भन्नुभयो, “बनाउँदै गर्दा पछि मिटिङ डाकेर के के मिलेन भनेर रोक्नुभयो ।” महानगरपालिकाले सम्पदा निर्माणका लागि पाएको १९ करोड रुपियाँ बजेटमध्ये दश करोड सक्दा सहुलियत ढंगमा राम्रो पुनर्निर्माण भएको दाबी उहाँले गर्नुभयो ।
युनेस्कोको नेपालस्थित कार्यालयका कर्मचारी निपुन श्रेष्ठका अनुसार रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माणको तत्कालीन काम राम्रो थिएन । “सार्वजनिक खरिद ऐन अनुसार यस्ता सम्पदा पुननिर्माणको ‘टेण्डर’ दिँदा गुणस्तर र समयको ख्याल गर्नुपर्र्छ,” उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्र जस्तै सम्पदा पनि सरकारको प्राथमिकतामा हुनुपर्छ ।”
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले गुणस्तर र सङ्ख्यात्मक हिसाबले सम्पदाको पुनर्निर्माणमा केही त्रृटि र ढिलाइ भएको स्विकार गर्नुभयो । उहाँले थप्नुभयो, “हाम्रो पक्षबाट डिभिजनल इन्जिनियरले सिफारिस गरे अनुसार काम भएको छ ।”
सम्पदाको संरक्षणमा अनुगमनकारी भूमिकाबाट हेर्दा केही समस्या आइरहेको युनेस्कोका तर्फबाट नेपालमा काम गरिरहनुभएका क्रिष्टियन म्यानहन्टले बताउनुभयो । उहाँका अनुसार नेपालका धार्मिक तथा ऐतिहासिक महत्वका ७०० सम्पदामा भूकम्पले असर गरेको थियो । जसमध्ये एउटा पूर्ण नष्ट भएको अवस्था थियो । - चाँदनी हमाल ; गोरखापत्र अनलाइनबाट
Post a Comment