काठमाडौं , असोज ११ गते। ६३ वर्ष पुगिन्, गायिका तारा थापा। हेर्दा लाग्दैन- उनलाई बुढ्यौलीले छोइसक्यो। किनकि अनुहारमा उस्तै ताजगी र उर्जा देख्न सकिन्छ। हँसिलो मुहार अनि स्वरमा उत्तिकै निखारपन।
करिब ४ वर्षअघि एकदिन आफ्ना स्तनमा गिर्खा आएको महसुस गरिन् उनले। त्यो गिर्खा स्तनको मुन्टोमा पलाएको थियो। छाम्दा गिर्खा भित्र पुरियो, मासुभित्र। उनी निकै अत्तालिइन्।
‘विश्व संगीत दिवस आइरहेको थियो। त्यसको सांगीतिक यात्रामा निकै नै व्यस्त रहन पुगेँ। त्यसकारण आफ्नो स्वास्थ्यलाई समय दिन सकिनँ।
स्वास्थ्य जाँच गराउनुपर्छ भन्नेमा त उनी सचेत नै थिइन्। तर व्यस्तताले एक महिना यत्तिकै बित्यो। अर्को महिना जब अस्पताल पुगिन्, क्यान्सर दोस्रो स्टेजमा पुगिसकेको थियो।
सुरुमा त विश्वास गर्न निकै गाह्रो भयो उनलाई। तर यथार्थ त्यही थियो। ‘क्यान्सर कत्ति छिटो फैलिने रहेछ, म छक्क परेँ,' उनी भन्छिन्, 'अब स्तन काटेर फाल्नुबाहेक अरु विकल्प छैन भन्ने लाग्यो।’
उनी सायद अलि छिटो चेकजाँचमा गएको भए स्तन काटेर फाल्नु पर्दैन थियो। ‘अप्रेसन गर्नुपर्छ भनेर सुरुमा निकै डराएँ तर त्योभन्दा बढी त केमो दिएपछि कपाल झर्दा डर लागेको थियो,' उनी सम्झिन्छिन्,‘भुइँ छोइहाल्ने जस्तो लामो कपाल त्यसरी झरेको पाउँदा मन नदुख्ने त कुरै भएन। कत्तिले त मलाई मेरो लामो कपाल देखेरै 'उ: त्यो तारा थापा हो' भनेर चिन्थे।
कपाल झरेको तनाव यतिसम्म भएछ कि बरु मर्छु केमो गराउँदिन भन्ने सोचसमेत आएछ उनमा। सुरुमा केमो गरेपछि १० दिन उनलाई निकै गाह्रो भयो। 'खानामा रुचि भएन, जे पनि गन्हाउने हुन्थ्यो,' भन्छिन्, 'केमोमा प्रयोग हुने रसायन हानिकारक हुन्छ भनेर डर लाग्थ्यो।'
स्तन क्यान्सरको शल्यक्रियापछि एउटा घटना उनी प्राय:सम्झिइरहन्छिन्।
भक्तपुर अस्पतालको बेडमा 'रेस्ट' गरिरहेकी थिइन् उनी। हङकङमा हुने सांगीतिक यात्रामा जान भिसा लागिसकेको थियो।
जब उनलाई क्यान्सर लागेको समाचार मिडियामा आयो, आयोजकले तारन्तार फोन गर्न थाले। 'सबै टिकट बिक्री भइसकेकाले तपाईं नगए कार्यक्रम नै रद्द हुन्छ भनेर रुन थाले,' उनले सुनाइन्।
आफूलाई क्यान्सर नै लागिहाल्छ भनेर उनले सोच्न पनि सकेकी थिइनन्। आफूले त्यसरी 'साइन' गरिसकेको 'प्रोजेक्ट'लाई कसरी धोका दिनु? उनको मन अमिलो भएर आयो।
डाक्टरलाई आफ्नो कुरा सुनाइन्। डाक्टरले उनलाई कार्यक्रममा जान हौस्याए। भरखरै शल्यक्रिया गरिएकाले उभिएर नगाउन र स्ट्यान्डमा माइक राखेर कुर्सीमा बस्न सुझाव दिए।
शल्यक्रिया गरेको १८ दिन मात्र भएको थियो। उनले कार्यक्रममा करिब ७ वटा गीत लगातार गाइन् उभिएरै। ‘कलाकार मान्छे, मैले त डाक्टरको सल्लाह नै भुलेँछु,' उनी हाँस्दै भन्छिन्, ‘मेरो नाम त गिनिज बुकमा लेखिनुपर्छ होला, अप्रेसन सकेर 'बेड रेस्ट'मै रहँदा सांगीतिक प्रस्तुति दिएकोमा।’
काठमाडौंमै हुर्केकी उनले यतै लेखपढ गरिन्।उनलाई अहिले लाग्छ- राजधानी जस्तो ठाउँमा त क्यान्सरको जोखिम बारे सोच्न सकेका छैनौं भने विकट गाउँका महिलाहरुको हालत कस्तो होला?
रोग लुकाएर बस्दा ढिलो भएमा आफूलाई नै गाह्रो हुने उनको अनुभव छ। 'आफूलाई डरलाग्दो रोग लाग्यो भनेर डराउनुहुँदैन।आफूलाई विश्वासगर्न छाड्नुहुन्न,' उनी सुझाउँछिन्, 'ठिक हुन्छ भनेर मनमा सोच्नुपर्छ। लक्षण देखापरे हेलचेक्र्याइँ नगरौं।'
अहिलेत उनी स्वस्थ छिन्। ६–६ महिनामा चेकअपको लागि अस्पताल जानुपर्छ। ‘घरपरिवार, चिकित्सक तथा शुभेच्छकबाट धेरै माया तथा प्रार्थना पाएँ, त्यसैले पनि छिटो निको भएँ होला,’उनी अब ढुक्क छिन्।
पछिल्लो पटक २०७० सालमा गीति एल्बम निकालेकी उनलाई पुरानो गीतहरुको म्युजिक भिडियो बनाउने इच्छा छ। ‘फूल झरेपनि काँडा झर्दैन’, ‘सबैले दिने उस्तै हुन्छ माया’, ‘सयथरी बाजा एउटै ताल’,‘कलिलो तामालाई सोध आमालाई’ जस्ता चर्चित गीतकी गायिका हुन् उनी। - बुनु थारु , स्वास्थ्य खबर पत्रिकाबाट
Post a Comment