भक्तपुर, साउन ३१ गते । साउन शुक्ल पञ्चमीका दिन नाग, सर्पको चित्र वा कपासको आकार बनाएर नागपूजा गरिँदैछ । साउने झरीले दलदल भएको जमिनको भित्रिभागबाट घस्रेर हिँड्ने सरिसृप विषालु यी नाग ÷सर्प जमिन बाहिर आउने भएकाले यसप्रति सचेतता अपानाउन पनि यो तिथिमा नागको पूजा गरिएको हो भनिन्छ । नागको तस्विर वा कपासको आकृति बनाई घरको मूलढोका तथा पानीका स्रोतमा अर्चना गर्ने गरिन्छ ।
शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म गरी आठ नागको विशेष वर्णन गरिएको छ । ज्योतिषी डा. लोकराज पौडेलका अनुसार जन्मकुण्डलीमा सर्पयोग परेकाले यो दिन नागको पूजा अर्चना गर्दा राम्रो हुन्छ ।
काठमाडौँ भचाखुशीको घोडेनाग, सुन्धारा टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिनाग, इटुम्वहालको जलनाग, टेकू दोभानको टेकुनाग, थानकोटपारी नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारी टौदह, नक्साल र महाराजगञ्जको नागपोखरी र पशुपतिनाथको आभूषण वासुकी नाग र रातोमच्छिन्द्रनाथको आभूषण कर्कोटक नागमा पूजा अर्चना गरेर मनाउने चलन छ । ज्याठा निवासी लक्ष्मी महर्जनका अनुसार नागदोश लागेकाहरुबाट नागपञ्चमी बाहेकका दिनमा पनि काठमाडौँ सहरका यी नागमा पूजा अर्चना हुँदै आएको छ । चाँगुनारायण ८ कलमसी स्थित पाँचटाउके कल्पेश्वरकाली नागमा यसै दिन विशेष अर्चना गरिँदैछ ।
बहिरा भनिएका पशुपतिनाथका आभूषण वासुकी नागलाई यसैदिन पुजारीद्वारा थाल ठटाएर रातभर जागा गराउने गरिँदै आएको छ ।
नक्साल नागपोखरीमा रहेको नागपोखरीमा सधैँ झैँ स्थानीय युवाबाट धार्मिक उत्सव आयोजना भएको स्थानीय वरिष्ठ समाजसेवी पवन तण्डुकार बताउनुहुन्छ । शेषनागमाथि रहेर जलसयनीमा रहनु भएका विष्णुका नागलाई दर्शन गर्न नारायण स्थान पुग्ने पनि योदिन हुन्छन् । दुवो अक्षता दूधले अर्चना गरेर कपुर धुँवााधार गर्दै नागको पूजन गर्दा पाँच इन्द्रियसहित शरीर र मनमा नाग दोष लाग्दैन भनिन्छ । इनार, कुवा, पानी पँधेरोमा नागको वास हुन्छ भनिन्छ, यसै दिन यसै अवसरमा इनार कुवा कुण्ड धारा लगायतका पानीका स्रोत मुहानमा पनि अर्चना गरिन्छ ।
महलाई सर्प वा नागको सत्रुका रुपमा लिइन्छ, महको थोपाले नै सर्प वा नाग टुक्राटुक्रा हुने भएकोले नागपूजाका दिन मह प्रयोग नगर्नु भन्ने मान्यता पनि छ । - गोरखापत्र दैनिकबाट
Post a Comment