सिमकोट , चैत्र १९ गते । दुर्गम क्षेत्रका बिरामी सिटामोल पनि नपाउँदा रित्तो हात फर्कन बाध्य छन्। हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा अहिले औषधि अभाव छ।
उपचार नपाउनेमध्येकी एक हुन्, चंखेली गाउँपालिका–२ की गर्खाकी महिला स्वास्थ्य स्वयंसेवक लक्ष्मी कौरा शाही। बिरामी भएर उनी लगातार ४ दिनसम्म दार्मा स्वास्थ्यचौकी गइन्। तर, दार्मा स्वास्थ्यचौकीले सिटामोलसम्म दिन नसक्दा घरमै उपलब्ध हुने तीतो पकाएर खाएपछि रुघा सन्चो भएको उनले बताइन्।
ताँजाकोट गाउँपालिका–३ मासपुरका ६५ जना रुघाखोकीले दुई सातादेखि थला परेका छन्। टाउको दुखेका बेला उनीहरू स्थानीय जातको खुर्सानी पिसेर निधारमा लगाउने गर्छन्। ज्वरो आएका बेला तीतो (स्थानीय जडीबुटी) खाने गर्छन्। विकट मासपुरमा रुघाखोकीसहितका अन्य रोगले पीडित बनेका दर्जनभन्दा बढी बिरामी छन्। शाही र रोकाया त प्रतिनिधि पात्र मात्रै हुन्। अधिकांश सर्वसाधारण निःशुल्क औषधि पाउनबाट वञ्चित छन्।
स्वास्थ्य सेवा विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालयले खरिद गरी स्थानीय स्वास्थ्य संस्थामा आउने औषधि समयमा नपठाउँदा हुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो। जिल्लाले औषधि खरिदका लागि गाउँपालिकालाई रकम निकासा पठाएको भन्दै पन्छिएपछि आफ्नो स्वास्थ्य संस्थामा औषधि अभाव रहेको दार्मा स्वास्थ्य संस्थाकी अनमी करुणा मल्लले बताइन्।
आफू काम गर्ने स्वास्थ्य संस्थामा सामान्य ग्लोव पनि नभएको जनाउँदै मल्लले भनिन्, ‘न त केन्द्रको औषधि आएको छ, न गाउँपालिकाको औषधि नै स्वास्थ्य संस्थामा छ। यो अवस्थामा बिरामी मर्कामा परेका छन्।’
ग्रामीण स्वास्थ्य संस्थामा सरकारले प्रदान गर्ने निःशुल्क औषधि सिटामोलसम्म नहुँदा आफूले रुघाखोकी लाग्दा स्थानीय जडीबुटीले काम चलाएको अदानुचुली–१ का प्रमबहादुर महताराले जानकारी दिए।
स्वास्थ्य राज्यमन्त्रीको औषधि अभाव हुन नदिने वाचातर्फ इंगित गर्दै बोहराले भने, ‘हामीलाई न उपचार गर्ने राम्रा स्वास्थ्य संस्था छन्। न नियमित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी बस्छन्। न स्वास्थ्य संस्थामा पर्याप्त औषधि नै छ। राजधानीलाई हेरेर मन्त्रीले भाषण गर्नुभन्दा हुम्लाका दुर्गम स्वास्थ्य संस्थामा आएर वाचा गर्नुपर्छ।’
अदानचुली–६ पाल्स ओखाडीकी प्याउका रोकायाले कालिकाको बारिगाउँस्थित स्वास्थ्यचौकीमा जाँदा सिटामोलसमेत नपाएको बताइन्। सामान्य रुघाखोकीको औषधि निजी क्लिनिकबाट खरिद गर्दा ९ सय ५ रुपैयाँ खर्च भएको जनाउँदै प्याउकाले सामान्य बिरामी पर्दासमेत स्वास्थ्य संस्थामा औषधि नपाइने सुनाइन्।
उनले थपिन्, ‘मेडिकल नजिक नभएपछि उपचार नपाएरै ज्यान जाला भन्ने डर लागेको छ।’
कालिका स्वास्थ्यचौकीका इन्चार्ज मोहनसिंह घर्तीका अनुसार गाउँका केही स्वास्थ्य चौकीमा सिटामोल, एफोक्सीलिन, आयुटिएफ मात्रै पाइन्छ। प्रायः स्वास्थ्य संस्थामा औषधि मौज्दात शून्य हुँदा बिरामी सास्ती भोग्न बाध्य छन्।
स्वास्थ्य संस्थामा औषधि नहुँदा आफूले स्वास्थ्य संस्था नै बन्द गर्नुपरेको श्रीनगर इलाका स्वास्थ्यचौकीकी अनमी पुष्पादेवी कानुले बताइन्।
‘गाउँका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव भएको खबर आएको छ’, निमित्त जिल्ला स्वास्थ्य प्रमुख डा.रञ्जितकुमार यादवले भने, ‘केन्द्रले पठाउने ७० प्रतिशत र क्षेत्रले पठाउने २० प्रतिशत औषधि नआउँदा समस्या भएको हो।’
अघिल्लो वर्ष जिल्ला स्वास्थ्य कार्यालयले १० प्रतिशत औषधि बराबरको रकम सबै गाउँपालिकालाई भुक्तानी दिएको यादवले जानकारी दिए। विभाग नेतृत्वविहीन हुँदा समस्या आएको उनले बताए। - नवराज महतारा , अन्नपूर्ण पोष्टबाट
Post a Comment