काठमाडौं , पुस १० गते । उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छ ।
विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ । तर, हाल उपत्यकाको वायु प्रदूषणको दर एक सय ४२ माइक्रोग्राम पर मिटर क्युवसम्म पुग्ने गरेको छ । सरकारले ४० माइक्रोग्राम पर मिटर क्युव मापदण्ड तोकेको छ । यो तथ्यांक केलाउँदा उपत्यकाको वायु २४ सै घन्टा श्वास फेर्नलायक नभएको तर्क गर्छन् वातावरणविद् र स्वास्थ्यकर्मी । केही दिनयता काठमाडांै उपत्यकाको तापक्रम २ डिग्री सेल्सियससम्म झर्दा वायु प्रदूषण ह्वात्तै बढेको देखिन्छ।
स-साना धुलोका कणबाट प्रदूषण बढ्नुमा सवारीसाधन नै जिम्मेवार भएको पाइएको छ । ३६ प्रतिशत प्रदूषण सवारीसाधनका कारण हुने गरेका छन् भने ६० प्रतिशत प्रदूषणमा सवारीसाधन र सडकका धुलो जिम्मेवार छन् । उपत्यकाको वायु अति प्रदूषित रहेकाले अहिले मास्कबिना हिँडडुल गर्नु आफैं खतरा निम्त्याउनु हो । स-साना धुलोको कण फोक्सो हँुदै रक्तनलीसम्म सहजै पुग्दा मानवस्वस्थ्यमा गम्भीर असर पर्छ।
त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सक करवीरनाथ योगीले धुलो खाँदा मानिसको फोक्सोलगायत संवेदनशील अंगमा असर पुग्ने गरेको बताए । बिहान र बेलुकी कार्यालय समयमा प्रदूषणको दर बढी हुने गर्छ । सवारी चाप बढी हुँदा जाम हुने र धुलो बढी हुने गरेको छ।
यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे सवारी प्रदूषण नियन्त्रणमा कढाइसाथ काम भइरहेको जिकिर गर्छन् । सरकारी अधिकारीको जिकिर एकातर्फ भए पनि वायु प्रदूषण दर दैनिक बढ्दो क्रममा देखिएको छ । बढ्दो दरलाई घटाउन राज्यले तात्कालिक र दीर्घकालीन नियन्त्रणमा पहल गर्न सकेको छैन।
केही टालटुले काम भए पनि योजनाबद्ध ढंगका काम नहुँदा प्रदूषण ज्यूँका त्यूँ रहेको सरोकारवालाको तर्क छ । उपत्यकाका सबैभन्दा प्रदूषित क्षेत्र वीरेन्द्र स्कुल र कालिमाटी क्षेत्र मानिन्छ।
एक वर्षअघि राष्ट्रिय योजना आयोगले वायु प्रदूषण अनुगमन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले तत्काल सडक कालोपत्रे गर्नुपर्ने, सवारी प्रदूषण जाँच प्रभावकारी बनाउनुपर्ने, आकाशेपुल निर्माणजस्ता अत्यावश्यक काम गर्न सुझाएको थियो । तर, सुझावअनुसार सरकारले काम नगर्दा प्रदूषणको दरमा कमी नआएको वातावरण विभाग वातावरणीय प्रदूषण नियन्त्रण शाखा प्रमुख शंकरप्रसाद पौडेल बताउँछन्।
जाडो बढेसँगै आगो बाल्ने, तातो हावालाई माथिको चिसो हावाले बाहिरिन नदिने, धुवाँ बाहिर जान नसक्ने खाल्डोका रूपमा काठमाडौं रहेकाले दुई हजार आठ सय मिटरभन्दा माथि वायु बग्न नपाउँदा प्रदूषण बढेको विज्ञको दाबी छ।
सडक सफा गर्नुपर्ने, गाडी व्यवस्थापन गर्न सके मात्रै प्रदूषणमा कमी ल्याउन सकिने विभागका वातावरणीय प्रदूषण नियन्त्रण शाखाका पौडेलको बुझाइ छ।
विभागले काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पेस गरेको छ । विभागले सरकारी र गैरसरकारी पक्षले के-के गर्ने भन्ने समयतालिका सहितको कार्ययोजना तयार गरेको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरणमैत्री स्थानीय सरकारसम्बन्धी ऐन ०७० असोज २३ मा जारी गरे पनि काठमाडौं महानगरसहित उपत्यकाका नगरपालिकाले प्रभावकारी कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।
भौतिक संरचना निर्माण गर्दा वातावरण संरक्षण गर्ने, स्वच्छ वातावरण कायम गर्न आवश्यक व्यवस्था गर्नेजस्ता प्रावधान यसमा छ । यता, वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ पनि राज्यले प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न नसक्नु नै प्रदूषण बढ्नुका प्रमुख कारक बनेका छन्।
विभागले प्रदूषणको निरन्तर अनुगमन गरी प्रतिवेदन मन्त्रालय र सम्बन्धित पक्षलाई बुझाउँदै आएको छ । विभागले प्रदूषण नियन्त्रणका लागि पेट्रोलियम पदार्थमा प्रदूषण शुल्क, इँटाभट्टामा चिम्नीको उचाइ र धुवाँसम्बन्धी मापदण्ड तय गरेको छ । विभागले सिमेन्ट, क्रसर, डिजेल जेनेरेटरको धुवाँसम्बन्धी समेत नयाँ मापदण्ड तय गरिसकेको छ।
प्रधानमन्त्री कार्यालयले वायु प्रदूषण न्यूनीकरणका लागि द्रुत टिम गठनसमेत गरी काम थालेको छ । टिमका संयोजक कार्यालयका सहसचिव नारायण रेग्मीले धुवाँधुलो र कार्वनडाइअक्साइड न्यूनीकरण गर्न सम्बन्धित कार्यालयबाट नियमित काम सुरु गर्न निर्देशन दिइएको बताए।
द्रुत टिमको निर्देशनमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र वातावरण विभाग सवारी प्रदूषण नियन्त्रण गर्न नियमित मापन, महानगरपालिकाले सडकको धुलो उठाउने र सडकमा पानी छर्कने काम थालेको छ।
सडक विभागले भत्केका सडकलाई पिच गर्ने, खाल्डा पुर्ने काम अघि बढाएको रेग्मीले जानकारी दिए।
प्रदूषणबाट बच्ने उपाय
- मर्निङ वाकमा जाँदा सडकभन्दा परको खुला स्थान रोज्नु
- मास्क लगाएर हिँडडुल गर्नु
- बिहान ९ बजेभन्दा अगाडि चलहपहल हुने क्षेत्रमा ननिस्कनु
- फोहोर जलाउन नदिनु
- धुलो सरसफाइमा सहयोग गर्नु
- छेटु शर्पा , अन्नपूर्ण पोस्टबाट
Post a Comment