काठमाडौँ, मंसिर ३ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीको प्रश्नले सबैलाई गम्भीर तुल्याएको बताउनुभएको छ ।
आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल(नियोक)द्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आज यहाँ आयोजित प्रशिक्षणको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सुरक्षामा चुनौती खडा गर्ने यस्तो घटना किन र केका लागि भइरहेको छ, यसले हामीलाई अनुत्तरित प्रश्न उब्जाएको छ । ”
नेपालको संविधान, गणतन्त्र र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुने आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्णरुपमा पालना हुन आवश्यक रहेको बताउँदै डा यादवले राजनीतिक दल र उम्मेदवारबाट टाढै रही संस्थाको बदनाम नहुने ढंगबाट पर्यवेक्षण गर्न पर्यवेक्षकलाई सुझाव दिनुभयो ।
शहरभन्दा हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गर्न सल्लाह दिँदै उहाँले सूक्ष्म र गहन रुपमा पर्यवेक्षण गर्न तथा मतदातालाई मतदानको महत्वबारे सचेतना र जागृत तुल्याउने सन्देश प्रवाह गर्न सुझाव दिनुभयो ।
नियोकका अध्यक्ष हिमालशम्शेर जबराले निर्वाचनको प्रचारप्रसारमा जुटेका नेता तथा कार्यकर्तामाथि आक्रमणले समाजमा हिंसाको त्रास दिनाका साथै जसरी पनि जित्नुपर्छ भन्ने मान्यताले निर्वाचनको परिणामलाई पैसाले प्रभाव पार्ने त होइन भन्ने प्रश्न उब्जेको बताउनुभयो ।
सोही संस्थाका कार्यकारी निर्देशक कृष्णमान प्रधानले २५ वर्षदेखि नियोगले निर्वाचन पर्यवेक्षण गर्दै आएकामा यस पटकको निर्वाचनमा ८०० जना पर्यवेक्षक खटाउन लागेको जानकारी दिनुभयो ।
सो अवसरमा सहभागी अन्य वक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण र लोकतन्त्रलाई स्थायित्व दिने सन्दर्भमा हुने निर्वाचनमा पद र पैसाको दुरुपयोग र चलखेल, पक्षपात, मौलिक र नैसर्गिक अधिकार कुण्ठित भए÷नभएको विषयलाई सूक्ष्मरुपले अध्ययन हुन आवश्यक रहेको बताउनुभयो ।
नियोकले ९० प्रतिशत पर्यवेक्षकलाई दुर्गम क्षेत्रमा पर्यवेक्षण गर्न खटाउन लागेको र उनीहरु समाजका विभिन्न विधामा ख्यातिप्राप्त र अनुभवी व्यक्तित्व रहेको जनाएको छ । यही मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मुलुकका ५२ संस्था र अन्तर्राष्ट्रिय चार संस्थाले निर्वाचनको पर्यवेक्षण गर्न अनुमति पाएका छन् ।रासस
Post a Comment