नेपाली राजनीतिको बेग झन् बढी तीव्र र अलोकतान्त्रिक भइरहेको छ । स्थानीय निकाय निर्वाचनसम्म घोर अवसरवादी चरित्र प्रदर्शन गरिरहेका राजनीतिक पार्टीहरू प्रतिनिधि सभा र प्रान्तीय सभाको निर्वाचन मिति घोषणासँगै तीव्र एवं व्यापक समीकरणको आकर्षणतर्फ मोडिएका छन् ।
कांग्रेस र माओवादीको असैद्धान्तिक तालमेल अहिले सैद्धान्तिक (? ) ध्रुवीकरणतर्फ मोडिएको छ । सामाजिक÷राजनीतिक घटना परिघटनाका पछाडि अनेकौं गतिशक्ति (डाइनामिक्स) को बेजोड भूमिका हुन्छ । अतः अहिले निर्माणाधीन समीकरणहरूका पछाडि पनि गतिशक्तिहरूको भूमिका प्रबल छ भन्नेमा विवाद छैन । र, ती गतिशक्तिहरू खुट्याउनुपर्ने आवश्यकता पनि छ ।
के हुन सक्छन् यी गतिशक्तिहरू ? यसको गहिरो अन्वेषण हुन बाँकी नै होला । तर विगत एकदुई हप्ताभित्रका राजनीतिक घटना, तिनीहरूसँग सम्बन्धित विश्लेषणयुक्त अभिव्यक्ति एवं राजनीतिक नेताहरूसँगका कुराकानीबाट केही महत्वपूर्ण गतिशक्तिहरू खुट्याउन सकिन्छ ।
स्थानीय निकाय निर्वाचनताका बनेको माओ-कांग्रेस गठबन्धनले एमालेलाई एक्ल्याउने प्रयास गर्यो । यो सबैले अनुभूति गरेकै हो । यसका पछाडि पनि अनेक उद्देश्य र पात्रहरू संलग्न थिए । त्यस गठबन्धनलाई विदेशीहरूले राम्रोसँग प्रयोग गरे । त्यस गठबन्धनले निर्वाचन क्षेत्र निर्धारणको कार्यलाई समेत प्रभावित गरेको ठहर एमालेको थियो । त्यसैले यस गठबन्धलाई रहन दिनु एमालेका लागि खतरायुक्त हुन्छ भन्ने दृष्टिकोण नेतृत्वपंक्तिमा पैदा भयो ।
एमाले-माओ गठबन्धन त्यस अर्थमा वर्तमान राजनीतिको कारण होइन ‘परिणाम’ मात्र हो । कारण माओ-कांग्रेस गठबन्धनले एमालेलाई एक्ल्याउने प्रयास गर्दा एमालेमा उत्पन्न खतराको अनुभूति हो । दुई नम्बर प्रदेशको निर्वाचनमा यो घनीभूत रूपमा प्रकट भयो भन्ने अनुभूति पनि एमालेमा रहेको देखियो ।
नेपाली कांग्रेसका कतिपय नेताको एमालेलाई मधेसबाट बढार्नुपर्छ भन्ने अभिव्यक्ति, मधेसबाट मात्र होइन एमाले देशबाटै बढारिन्छ भन्ने प्रचण्डको भनाइ र विगत लामो समयदेखि मधेसमा एमालेलाई निषेध गर्ने केही मधेसकेन्द्रित व्यक्तिका अभिव्यक्तिले एमालेलाई रक्षात्मक धारमा खडा गराए । यी घटना लोकतान्त्रिक रणनीति अवश्य थिएनन् । एमालेले राष्ट्रवादको कुरा उठायो भनी प्रहार गर्नेको संख्या पनि केही हदसम्म देखियो । यसै पृष्ठभूमिमा एमाले र माओवादी गठबन्धनको रणनीति तयार भयो । वामपन्थी राजनीतिमाथि चौतर्फी प्रहार गर्ने विदेशी योजना पनि यसमा संलग्न थियो भन्ने भट्टराईको संलग्नताबाट स्पष्टै थियो ।
छदम् गतिशक्तिहरूको भूमिका नेपालको लोकतन्त्रलाई चुनौतीपूर्ण हुन सक्ने खतरा छ भन्ने कुरालाई एमाले-माओ गठबन्धनले कति आत्मसात गरेको छ ?
खतराबाट निकास पाउने योजनाकै रूपमा एमालेले ‘वामपन्थी’ एकताको सूत्रलाई प्रयोग गर्यो । लोकतन्त्रमा वैचारिक एजेन्डा र विषयहरू छलफलका विषयवस्तु हुन्छन् र गठबन्धनहरू पनि निर्माण हुन्छन् । तर नेपालको कथित लोकतन्त्रमा षड्यन्त्रले विचारलाई विस्थापित गर्दै आएको पृष्ठभूमि छ । सबैभन्दा जेठो पार्टीको हैसियतले लोकतान्त्रिक बहसद्वारा लोकतन्त्रलाई संस्थापित गर्ने दायित्व कांग्रेसको थियो । तर उसले तेस्रो दललाई साथमा लिएर विपक्षीमाथि शक्ति केन्द्रित गर्ने कार्यलाई ठीक वा बेठीक के हो भनी गम्भीर बहस गर्न कांग्रेसीहरू चुके भने फेरि पनि लोकतन्त्रले त्रासदी भोग्नुपर्ने छ ।
माओ-कांग्रेस गठबन्धन एउटा ठूलो ऐतिहासिक भूल थियो नेपालको लोकतान्त्रिक प्रक्रियामा । यो सैद्धान्तिक कुनै पनि अर्थमा थिएन । यो सत्तालोभ थियो र नेपालमाथि विदेशी खेलको उपज थियो । यसले नै आज समीकरणको पृष्ठभूमि तयार पारेको छ । यो समीकरण कांग्रेस वा एमाले कसैका लागि त नोक्सानीको कारण अवश्य नै बन्नेछ । अहिले बनिरहेको गठबन्धनका पछाडि नेपालको संविधान ध्वस्त पार्ने विदेशी गेमप्लान परिपूर्ण छ ।
page6,-oct24,-2017
तर यस अवस्थाको सिर्जनामा एमालेको भूमिका पनि गम्भीर थियो । संविधान घोषणापछि स्थापित एमाले-माओ सहकार्यलाई स्थायित्व दिन नसक्नु एमालेको राजनीतिक दुरदर्शीतासँग जोडिएको कमजोरी थियो । त्यसैले माओ-कांग्रेस गठबन्धन एमालेप्रतिको प्रतिशोधनका रूपमा जन्मियो र हुर्कियो । यस गठबन्धनमा एक अर्काले एक अर्कालाई सकेसम्म प्रयोग गर्ने प्रयास गरे । यस गठबन्धनमा नैतिक आधार कम र स्वार्थ बढी थियो । परिणामतः गठबन्धनका दुवै पक्ष एकअर्काप्रति सशंकित रहे ।
माओवादीलाई कांग्रेसले प्रयोग गर्यो । माओवादी एमालेको प्रहारको निसाना बन्यो । एमालेले उसलाई ‘लम्पसारवाद’ को पर्यायका रूपमा पेश गर्यो । परिणामतः माओवादी मनोवैज्ञानिक रूपमा पराजित भयो । अब उसलाई कांग्रेससँग सधैं उभिने साहस पनि थिएन र त्यसो गर्न सम्भव पनि थिएन । यस पृष्ठभूमिमा एमालेसँगको गठबन्धनले उसलाई राहत मिल्नु स्वाभाविकै हो । यदि उनीहरू बीचको गठबन्धन सैद्धान्तिक समिपता हो भने बेग्लै कुरा हो । अन्यथा यसले एमालेलाई समाप्त पार्नेछ ।
यस अर्थमा कांग्रेसले एमालेमा सिर्जना गरेको भय र माओवादीमा कांग्रेससँगको गठबन्धनले सिध्याउँछ भन्ने भयले यी दुवैलाई छलफलको मोर्चामा ल्याएको हो र वाम गठबन्धन निर्माणको अवस्था सिर्जना भयो । यो गठबन्धन पद्धति र प्रक्रियाका कारणले आलोचित रह्यो, भलै सैद्धान्तिक मापदण्डका कारणले स्वाभाविकै हो । वामपन्थीहरूका बीचमा मोर्चा बन्नु आफैंमा ठूलो कुरा होइन । पार्टी एकताको सन्दर्भ पनि ठूलो कुरा होइन । तर प्रश्न के अनुत्तरित छ भने, के इतिहासको विश्लेषणसहित यो गठबन्धन हुन लागिरहेको हो ?
नेपालको लोकतान्तिक प्रक्रियामा संविधान जारी हुँदा तयार भएको पार्टीहरूको सहकार्यको ‘मुड’ संविधानको सफल कार्यान्वयनको सन्दर्भमा किन रहन सकेन र राजनीतिक दलहरू ‘प्रोक्सी युद्ध’ वा मनोवैज्ञानिक युद्धको अवस्थामा रुपान्तरित भए ।
यसको एउटा कारण हो वामपन्थी वर्तमान गठबन्धन । तर यसभित्र अझै अनेकौं भित्री गतिशक्तिहरू पनि क्रियाशील छन् । नेपालको रणनीतिक अवस्थितिको सन्दर्भमा ‘डोक्लाम’ घटना पनि एउटा गतिशक्ति नै हो । कसैले मान्नु नमान्नु आफ्नो ठाउँमा छ, तर संविधान निर्माण हुन नदिन खेलिएका इन्डो-वेस्ट रणनीतिलाई विदेशी राजदूतहरूका काठमाडौंका बैठकहरू, जयशंकर सन्देश, मोदी-क्यामरुन संयुक्त वक्तव्य, मोदी-युरोपेली युनियन वक्तव्य, बेलायती संसद्मा नेपालको निर्वाचन रोक्ने प्रस्ताव पेश हुनु, सीके राउत हरकत, हिन्दी भाषा राष्ट्रिय भाषाको प्रोपोगण्डा जस्ता विषयले प्रष्ट देखाएका छन् र यिनै खेलहरू र विगतको नाकाबन्दीले नेपालीलाई राष्ट्रिय स्वाभिमानप्रति झन् बढी संवेदनशील बनाएको यथार्थलाई कसैले केवल खोक्रो राष्ट्रवाद भन्छ भने त्यो शक्ति राजनीतिक शक्ति होइन भन्न सकिन्छ र त्यस्ता शक्तिले आफूलाई जनताबाट पर धकेल्छन् ।
नेपाली राष्ट्रिय मनोविज्ञानलाई खोक्रो राष्ट्रवाद भन्नेहरू इन्डो-वेस्ट रणनीतिका मोहरा बनेका छन् भन्न सकिन्छ । माथिका घटनाले नै देखाउँछन् संविधान असफल पार्ने खेल अहिले पनि भइरहेका छन् । नेपाली कांग्रेस यसको सिकार भइरहेको हुन सक्छ । त्यसैले उसले आफ्नो अवस्थाको विश्लेषण गर्न सक्नुपर्छ ।
यस खेलको सिकार माओ-एमाले गठबन्धन पनि हुन सक्छ । वामपन्थीहरू स्वभावतः धार्मिक संस्कारबाट निरपेक्ष हुन्छन् । उनीहरूलाई कुनै धर्मले प्रभावित पार्दैन । धर्म उनीहरूको राजनीतिको एजेन्डा पनि बन्दैन । त्यसैकारण कुनै धार्मिक आस्था बोक्ने व्यक्तिहरूसँग वामपन्थीहरूको गठबन्धन हुन सक्तैन । तर वामपन्थी गठबन्धनभित्र क्रिस्चियन धर्म प्रचारमा संलग्न दल पनि समावेश छन् भन्ने आरोपहरू छन् । यसकै आधारमा कांग्रेस र वामपन्थीहरूका बीचमा कलह सिर्जना गर्दै आगामी निर्वाचन हुन नसक्ने अवस्था सिर्जना गर्ने खेल भइरहेका आशंका पनि व्यक्त भइरहेका छन् । हिजो माओवादीले हिन्दु धर्म र संस्कृतिमाथि प्रहार नगरेको पनि होइन । यस्तो अवस्थामा छदम् गतिशक्तिहरूको भूमिका नेपालको लोकतन्त्रलाई चुनौतीपूर्ण हुन सक्ने खतरा छ भन्ने कुरालाई एमाले-माओ गठबन्धनले कति आत्मसात गरेको छ ?
इन्डो-वेस्ट रणनीति आफैंमा निरन्तर पराजित हुँदैछ । भारतमा बहुर्राष्ट्रियताको नारा हुर्काउने र चीनलाई घेर्ने पश्चिमी रणनीतिको सिकार स्वयं भारत त छँदैछ, तर भारत नै यसमा टाँसिन पुग्दा नेपालभित्रको विदेशी रणनीति जटिल र बुझ्नै नसकिने भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन नहुने वातावरणको सिर्जना गर्ने ‘गेम प्लान’ सबैभन्दा पेचिँदो गतिशक्तिका रूपमा रहेको छ । सम्पूर्ण दक्षिण एसियालाई अस्थिर बनाउने खेल हेर्नैपर्छ नेपालको राजनीतिको विश्लेषण गर्दा ।
निर्वाचन प्रक्रिया सुरु भए पनि वातावरण भत्काउने खेलहरू घनीभूत भइरहेछन् । नेपाली कांग्रेस पराजयको मनोविज्ञानबाट ग्रस्त रहेको छ । यसको प्रमाण मन्त्रिमण्डलको अलोकप्रिय विस्तार पनि हो । संविधान संशोधनको कलह सफल हुन सकेन । स्थानीय निर्वाचन रोक्न सकेनन् । अब संविधान कार्यान्वयनको पूर्णतालाई रोक्ने हो भने, निर्वाचन बिथोल्नैपर्छ । षड्यन्त्रकारीहरू यसरी सोचिरहेका हुन सक्छन् । यस खेलमा जो सरिक हुन्छ उसले देशलाई बर्बादीको खाडलमा त हाल्छ नै त्यसले एसियाको राजनीतिक एवं सामरिक रणनीतिलाई समेत प्रभावित पार्ने छ । निर्वाचन हुन सकेन भने देश फेरि संसद्हीन अवस्थामा पुग्ने छ । यो भनेको जनताको कानुनी सार्वभौमिकताविहीन अवस्था निर्माण हुनु हो । अर्थात यो भनेको जनताले आफ्नो सार्वभौमिकता प्रयोग गर्न नसक्ने अवस्थाको निर्माण गर्नु हो । यस्तो अवस्थाको सिर्जना भनेको नेपाल इन्डो-वेस्टस्वार्थको नजिक जानु हो ।
यसबाट नेपालको चीनसँगको सम्बन्ध असन्तुलित हुन जान्छ । यसले चीनलाई नेपाल-चीन सीमा र भारत-चीन सीमामा सामरिक रूपमा सजग र सक्रिय हुन बाध्य पार्ने छ । यसले नेपालमात्र होइन सम्पूर्ण दक्षिण एसिया र चीनको सम्बन्ध पुनर्परिभाषित हुने अवस्था निम्त्याउन सक्छ ।
लोकतन्त्रमा न्यायपालिका, कार्यपालिका र व्यवस्थपिकाको अस्तित्व सधैं रहन्छ । कुनै पनि निकाय कहिल्यै खाली हुँदैनन् । त्यसरी खाली नहुने अवस्था सुनिश्चित भएन भने शक्तिपृथकीकरणको सिद्धान्त निस्प्रभावी भई कार्यकारिणी निरंकुशता वा न्यायिक अराजकता पैदा हुन जान्छ । त्यसैले लोकतन्त्रमा दुई सदनको व्यवस्थापिकाको प्रबन्ध संविधानले गर्दछ ।
यसका अतिरिक्त सांसदहरूको पदावधि सकिँदा पनि सभामुख र उपसभामुखको पद कायम रहन्छन् । तर यी पदहरू रहने व्यवस्था नगरी किन व्यवस्थापिकाविहीन अवस्था सिर्जना गरियो ? यो प्रश्न गम्भीर छ । वरिष्ठ नेताहरू उपस्थित रहेको एउटा छलफल कार्यक्रममा पंक्तिकारले यो प्रश्न गर्दा उत्तर आयो ‘यो व्यवस्था (सभामुख र उपसभामुखको निरन्तरता) राख्न समितिलाई निर्देशन दिइएको थियो । तर त्यो व्यवस्था राखेनछन्।’
संविधानको धारा २९६ को उपधारा (१) मा ‘यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको संविधानसभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका संसद्मा स्वतः रुपान्तरण हुनेछ र त्यस्तो व्यवस्थापिका संसद्को कार्यकाल संवत् २०७४ साल माघ ७ गतेसम्म कायम रहनेछ’ भन्ने स्पष्ट किटानी व्यवस्था गरिएको छ ।
तर त्यसको स्पष्टीकरणमा ‘मनोनयनपत्र दाखिल गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद् कायम रहनेछ’ भनी विवादास्पद र भ्रामक व्यवस्था कसले थप्यो ? किन सभामुख र उपसभामुखको निरन्तरता नयाँ संसद् गठन हुँदासम्म कायम राखिएन ?
निर्वाचन हुन नदिने सबै किसिमका खेल अहिले नेपथ्यमा भइरहेका हुन सक्छन् । वामपन्थी गठबन्धनभित्र माओवादी-एमालेका कार्यकर्ता नै असन्तुष्ट छन् र एक-आपसमा लडिरहेका छन् । नेपाली कांग्रेस ६४ जना मन्त्रीका कारणले शिर निहुर्याउन बाध्य भएको छ । यिनै कारणले पार्टीभित्र विवाद छन् । हिन्दुत्वको नारा बोक्नुपर्ने दबाब कांग्रेसभित्र सिर्जना भइरहेको छ । विदेशी गेमप्लान निर्माताहरूले सिर्जना गर्न खोजेको अवस्था यही हो । निर्वाचन भएन र संविधान खारेज भयो भने राजा आउँछन् भन्ने अनाडि तर्क पनि उत्तिकै छन् ।
यथार्थमा देश दीर्घ अस्थिरताको बाटोमा जानेछ । कांग्रेसका कारणले निर्वाचन हुन सकेन भने यो लोकतान्त्रिक शक्ति विघटनको सिकार हुनेछ । वामपन्थी गठबन्धनका कारणले निर्वाचन हुन सकेन भने नेपालमा वामपन्थी राजनीति समाप्त हुनेछन् । जो जे भए पनि नेपाल एकातिर धार्मिक उग्रता र अर्कातिर जातिवादमा विभाजित हुने खतरा पैदा हुनेछ । यसलाई बुझ्नु सत्तामा बसेको कांग्रेस र गठबन्धन बनाउने वामपन्थीको कर्तव्य हो ।
त्यसो त पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन पत्र समेत दाखिला भइसकेको अवस्थाले सकारात्मक संकेत भने गरेको छ । तर यसबाट मात्र उत्साहित भइहाल्ने अवस्था भने छैन । - अन्नपूर्ण बाट