चुनावमा तालमेल हुँदा ठूला पार्टीलाई मात्र लाभ हुने, साना पार्टीलाई खासै लाभ नहुने परिणाम आयो । यस्तो किन भयो ? कतिपय ठाउँमा कांग्रेस र माओवादीले तालमेल गरे । कतिपय ठाउँमा एमाले र राप्रपाले तालमेल गरे । यस्तो तालमेलमा साना पार्टीका रुपमा रहेका माओवादी र राप्रपालाई फाइदा भएन । हो, भरतपुर महानगरमा भने अलि फरक चित्र देखियो । त्यहाँ कांग्रेसले माओवादीलाई मेयरमा समर्थन गर्यो । माओवादीकी उम्मेदवार रेणु दाहाल एमाले उम्मेदवार देवी ज्ञवालीसंग प्रतिस्पर्धामा छिन् र त्यहाँ अहिले मतगणना रोकिएको छ । सानो पार्टीकी उम्मेदवार भए पनि रेणु प्रतिस्पर्धामा आउनुलाई अलि फरक कोणबाट हेरिनुपर्छ । किनभने उनी माओवादी उम्मेदवारको रुपमा भन्दा पनि तत्कालीन प्रधानन्त्री पुष्पकमल दाहालकी छोरी बनेर चर्चामा आइन् । राज्यसत्ता सम्पूर्ण उनको पक्षमा खनाइयो । खैर, यो प्रसंग बेग्लै हो, मुख्य प्रसंग के भने तालमेलमा ठूला पार्टीको भागमा लाभ, साना पार्टीको भागमा विलाप पर्न गएको देखिन्छ ।
चुनाव रोमाञ्चकारी हुँदैन तर चुनाव परिणाम रोमाञ्चकारी हुन्छ । अति नै उत्सुकता जगाउने खालको हुन्छ । चुनाव परिणामले मानिसलाई रोमाञ्चित र विचलित दुवै बनाइदिन्छ । गत संविधानसभा चुनावमा माओवादीले पहिलो हुन्छु नै भन्ने सोचेको थियो तर परिणाम अर्कै आयो । चुनाव सकिएर मतगणना हुन थालेपछि मध्य राति माओवादी नेता डा. बाबुराम भट्टराईले चुनाव परिणाम नमान्ने घोषणा गरे । उनी र उनकी पत्नी हिसिला यमीले एकै ठाउँमा उभिएर मध्यरात चुनाव परिणाम नमान्ने घोषणा गरेपछि मुलुक कता जान्छ भन्ने अन्यौल उत्पन्न भयो । तर, चुनाव भइसकेपछि मतगणनामा असन्तुष्ट भएका भरमा परिणामलाई रोक्न सकिंदैन । किनभने जनता परिणाम सुन्न अधैर्य भएर बसेको हुन्छ । त्यसबेला बाबुरामले मतगणना बहिष्कार गर्ने र परिणाम नमान्ने घोषणा अर्थहीन भयो ।
नेपालमा चुनावको लामो इतिहास भए पनि चुनाव प्रणालीले संस्थागत रुप लिन कहिल्यै पाएन । २००७ सालपछि २०१५ सालमा एक खालको चुनाव भयो । ०१७ पछि अर्काे खालको चुनाव भयो । त्यसपछि २०४७ पछि अर्कै खालको चुनाव भयो । संविधानसभा कालमा भएको चुनाव झनै अनौठो अनुभव दिने खालको रह्यो । र, त्यो विचित्र अभ्यास समेत थियो । प्रालि जसरी खोलिएका पार्टीका मुखिया पनि सभासद बन्न पाए । सभासद पद नै किनबेच र लिलामी भयो ।
भारतमा चुनावी तालमेल राजनीतिक संस्कृतिकै रुपमा स्थापित भइसकेको छ । त्यहाँ मुख्यत दुईटा गठवन्धन हुने गरेको छ । विगतमा कांग्रेस आई विरुद्ध विपक्षीहरुले गठवन्धन बनाउँथे, पछि गएर कांग्रेसले पनि गठवन्धन बनाउन थाल्यो । अहिले प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको भारतीय जनता पार्टीले पनि गठवन्धन गरेरै जितेको हो । भारतमा स्थापित भएको राजनीतिक संस्कृति नेपालमा भने खासै मौलाउन सकेन ।
चुनाव जति लामो छैन हाम्रो चुनावी तालमेलको इतिहास । पञ्चायतकालमा व्यक्ति–व्यक्तिबीचमा चुनावी तालमेल हुन्थ्यो । कम्युनिष्टहरुले उम्मेदवार उठाएको ठाउँमा अघोषित रुपमा पञ्च र कांग्रेसबीच पनि चुनावी तालमेल हुन्थ्यो तर गुपचुप रुपमा । ०४७ सालपछिको चुनावमा कम्युनिष्टहरुबीच चुनावी तालमेल भयो तर लाभ ठूला पार्टीले मात्र पाए । ०४८ को आमचुनावमा तत्कालीन जनमोर्चा (हालको माओवादी केन्द्र) र एमालेबीच केही ठाउँमा चुनावी तालमेल भएको थियो तर सानो पार्टीका रुपमा रहेको जनमोर्चाले लाभ पाएन । त्यसबेला काठमाडौंमा एमालेले सबै सिट जित्यो तर तालमेल गरिएको एक क्षेत्रमा जनमोर्चाका मल्ल के सुन्दर पराजित भएका थिए । त्यसपछिका चुनावमा पनि विभिन्न तरिकाले चुनावी तालमेल नभएको होइन तर तालमेल गर्ने राजनीति संस्कृति भने विकास भएको थिएन । तालमेलका दृष्टिले अहिलेसम्मकै सबैभन्दा व्यापक तालमेल भएको चुनाव यो स्थानीय तहको चुनाव हो ।
भारतमा चुनावी तालमेल राजनीतिक संस्कृतिकै रुपमा स्थापित भइसकेको छ । त्यहाँ मुख्यत दुईटा गठवन्धन हुने गरेको छ । विगतमा कांग्रेस आई विरुद्ध विपक्षीहरुले गठवन्धन बनाउँथे, पछि गएर कांग्रेसले पनि गठवन्धन बनाउन थाल्यो । अहिले प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको भारतीय जनता पार्टीले पनि गठवन्धन गरेरै जितेको हो । भारतमा स्थापित भएको राजनीतिक संस्कृति नेपालमा भने खासै मौलाउन सकेन । किन मौलाउन सकेन भन्ने प्रश्नको जवाफ आआफ्नै होला तर स्थानीय चुनावले पनि भन्यो, तालमेल सफल नहुने रहेछ नेपालमा । पहिलो चरणको चुनावमा तालमेल सफल भएन । तैपनि दोस्रो चरणको चुनावमा व्यापक स्तरमा तालमेल भएको छ । यसलाई कुन रुपमा बुझ्ने ? यसै हारिन्छ, उसै हारिन्छ, तालमेल गरियो भने जितिने पो हो कि भन्ने विचारले दलहरु प्रेरित भएका हुनसक्छन् । त्यसैले जसले जहाँजहाँ सक्छ उसले त्यहाँ जोसुकैसंग तालमेल गरेको देखिएको छ ।
एकताका वाम तालमेलको अवधारणामा खुबै छलफल हुने गरेको थियो । शायद अब त्यो युग सकियो । वाम तालमेलले कहिल्यै औचित्यपूर्ण आकार लिएन । चुनावी तालमेल भनेको सैद्धान्तिक आधारमा हुने नै होइन । अन्य देशहरुको अभ्यास, खासगरी नेपाल धेरै प्रभावित हुने भारतीय अभ्यास हेर्दा पनि चुनावी तालमेल सैद्धान्तिक आधारमा भएका देखिंदैन । पार्टीको संगठनात्मक प्रभाव नै चुनावी तालमेलको निर्णायक फ्याक्टर भएको देखिन्छ । चुनावी तालमेल गर्ने, गठवन्धन बनाउने अनि त्यस्तो तालमेल या गठवन्धनलाई सैद्धान्तिक खोल हाल्ने प्रयास भएको सर्वत्र देखिन्छ । तर, नेपालमा अहिलेको चुनावी तालमेलमा त्यसरी सैद्धान्तिक खोल हाल्ने काम समेत भएको देखिंदैन । जस्तो कि धेरै ठाउँमा कांग्रेस र माआवादीले चुनावी तालमेल गरेका छन् । उता, एमाले र माओवादीले पनि केही ठाउँमा तालमेल गरेका छन् । कांग्रेसले संघीय समाजवादी फोरमसंग मात्र नभएर राष्ट्रिय जनमुक्ति पार्टीसंग पनि चुनावी तालमेल गरेको छ । अर्थात्, चुनावी तालमेल स्थानीय आवश्यकताको आधारमा गरिएको देखिन्छ, न कि सैद्धान्तिक आधारमा ।
दुई चरणको स्थानीय चुनावमा तालमेल सफल देखिएन । अब तेस्रो चरणमा दुई नम्बर प्रदेशमा तालमेल हुन गइरहेको छ । सो प्रदेशमा को को बीच कसरी तालमेल हुन्छ भन्ने अस्पष्ट छ तैपनि तालमेल अवश्य हुन्छ भन्ने चाहिं स्पष्ट छ । दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी र एमालेबीच धेरै ठाउँमा तालमेल हुनेवाला छ भन्ने सुन्नमा आएको छ ।
नेपालमा सैद्धान्तिक आधारमा कसैले चुनावी तालमेल गर्छु भन्छ भने त्यो फगत देखाउनका लागि मात्र हो । किनभने सैद्धान्तिक आधारमा तालमेल हुनसक्छ भने किन बेग्लाबेग्लै पार्टीमा रहनुपर्यो ? सैद्धान्तिक रुपमा एउटै हो भने दुईटा पार्टी बनाउनुको अर्थ पनि हुँदैन । त्यसैले चुनावी तालमेल संगठनात्मक प्रभाव र आकारको आधारमा नै हुने हो । र, चुनावी तालमेल आफू कमजोर भएको ठाउँमा मात्र गरिन्छ । तथापि, यो प्रसंगमा पुन भरतपुरको चर्चा गर्नैपर्ने हुन्छ । भरतपुरमा कांग्रेस अत्याधिक बलियो थियो तैपनि मेयर पद माओवादी केन्द्रलाई दिएर आफूले उपमेयर लिएर कांग्रेसले तालमेल गर्यो । यहाँ चाहिं तालमेल भित्रको तालमेलले काम गरेको देखिन्छ । अर्थात्, भरतपुरमा माओवादी अध्यक्ष प्रचण्डकी छोरीलाई मेयर पद दिएर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा प्रचण्डको समर्थन लिए । यति विचित्रको चुनावी तालमेल चाहिं विरलै हुनसक्छ ।
दुई चरणको स्थानीय चुनावमा तालमेल सफल देखिएन । अब तेस्रो चरणमा दुई नम्बर प्रदेशमा तालमेल हुन गइरहेको छ । सो प्रदेशमा को को बीच कसरी तालमेल हुन्छ भन्ने अस्पष्ट छ तैपनि तालमेल अवश्य हुन्छ भन्ने चाहिं स्पष्ट छ । दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी र एमालेबीच धेरै ठाउँमा तालमेल हुनेवाला छ भन्ने सुन्नमा आएको छ । राजपा र एमाले नदीका दुई किनारा जस्ता लाग्छन् तर चुनाव र तालमेल भन्ने चिज यस्तो हो जहाँ नदीका दुई किनारा पनि आपसमा जोडिन्छन् । सैद्धान्तिक आधारमा होइन व्यवहारिक आवश्यकताको आधारमा चुनावी तालमेल हुने भएकाले राजपा र एमालेबीच तालमेल भएमा अनौठो नमाने हुन्छ । किनभने दुई नम्बर प्रदेशमा राजपाले कांग्रेसलाई बलियो देखेको छ । बलियो कांग्रेस विरुद्ध उसले एमालेलाई साथ लिनु अस्वाभाविक होइन ।
कतिपय जानकारहरुको भनाई के छ भने आउँदो केन्द्र र प्रदेशको चुनावमा कांग्रेस र माओवादी केन्द्रबीच व्यापक तालमेल हुनेछ । यसका लागि दुवै पार्टीका कतिपय नेताहरुले छलफल चलाइरहेको पनि बुझिन्छ । यो असम्भव छैन । किनभने स्थानीय चुनावले एमालेलाई धेरै नै बलियो देखाइदियो । दोस्रोमा देखियो कांग्रेस र तेस्रोमा देखियो माओवादी केन्द्र । पहिलोको विरुद्ध दोस्रो र तेस्रो मिल्नु नै चुनावी तालमेलको असली गणित हो । तर, तालमेल गर्दा कसलाई फाइदा र कसलाई हानी हुन्छ भन्ने चाहिं विचारणीय छ । तालमेलको लाभ कांग्रेसले मात्र लिएर माओवादीलाई हानी हुने हो कि ? माओवादीले मात्र नभएर तालमेल गर्न चाहने हरेक पार्टीका लागि यो सोचनीय विषय हो ।
जे होस्, नेपालमा पनि चुनावी तालमेलले बिस्तारै जरा गाड्न थालेको दृष्टिगोचर हुन्छ, तालमेलले भविष्यमा मुलुकको राजनीतिलाई पार्ने प्रभाव आंकलन गर्न थाल्ने बेला भएन र ?
( वरिष्ठ पत्रकार बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्)- रातोपाटीबाट , गोपाल बुढाथोकी
Post a Comment