पहिलो चरण चुनाव भोलि
काठमाडौं, वैशाख ३० गते । २ भाग, ६८ लहर र झन्डै पौने एक मिटर लम्बाइ, ५१ सेन्टिमिटर चौडाइको मतपत्र । असरल्ल चुनावचिह्न । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागको मतपत्रको बनोट र ढाँचाले स्थानीय तह निर्वाचनमा अधिकांश मतदाता अलमलमा पर्ने देखिएको छ । जटिल मतपत्रका कारण यो निर्वाचनमा धेरै मत बदर हुने सम्भवना रहेको निर्वाचनका जानकारहरू बताउँछन् ।
‘मतपत्र जटिलताले मतदातालाई अप्ठ्यारो पर्ने देखिन्छ', पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले भन्नुभयो, ‘मतपत्रको जटिलताअनुसारको मतदाता शिक्षा कार्यक्रम हुनसकेको छैन । यसपटक मतपत्र धेरै बदर हुनसक्ने स्थिति देखिएको छ ।' आयोगले छोटो समयमा धेरै काम गरे पनि मतपत्रको जटिलताले समस्या पैदा गर्ने श्रेष्ठको भनाइ छ । निर्वाचनका जानकारहरू काठमाडौंलगायत ठूला सहरको मतपत्र सरसर्ती हेरेर मतदान गर्न एकजना मतदातालाई ५ मिनेटसम्म लाग्ने अनुमान गर्छन् । निर्वाचन आयोगले मतपत्रको जटिलताका कारण बढीमा १ हजार मतदाताका लागि एक मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ ।
‘हिमाली जिल्लामा २३ जना र बढी मतदाता भएका तहमा १ हजार मतदाताबराबर एक मतदान केन्द्र निर्धारण गरेका छौं', आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो, ‘केही जटिलता देखिए पनि मतदाताले संयम अपनाएर मत संकेत गरे बदर नहोला ।' ७१ सेन्टिमिटर लम्बाइ र ५१ सेन्टिमिटर चौडाइको सबैभन्दा ठूलो मतपत्र पट्ट्याउन पनि निकै गाह्रो छ । ‘मतपत्रका कारण यसपटक मतदानप्रक्रिया जटिल हुने देखिएको छ', आम निर्वाचन पर्यवेक्षण समिति (जीओक) का अध्यक्ष हिमालयशमशेर राणाले भन्नुभयो ।
०४८ सालदेखि भएका सबै निर्वाचनको पर्यवेक्षण गर्दै आउनुभएका राणाले भन्नुभयो, ‘मतदान कसरी गर्ने, कसरी पट्ट्याउने र मतपत्र खेर जान नदिनेतर्फ मतदातालाई सिकाउने काममा कमी देखिएको छ ।' स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गरेकाले तलमाथि, दायाँबायाँ चुनावचिह्न खोज्नै मतदातालाई झन्झट हुने राणाको भनाइ छ । ‘निर्वाचन आयोगले तोकेको भन्दा धेरै समय मतदानकार्यमा लाग्ने देखिन्छ', राणाले भन्नुभयो, ‘मतदान ढिलो भई रात परेमा बत्ती र अन्य सुविधाको वैकल्पिक व्यवस्था आयोगले समयमै गर्न जरुरी छ ।'
निर्वाचन हुने कि नहुने भन्ने अन्योल र समय अभावका कारण पर्याप्त रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकिएको आयोगका पदाधिकारीहरू बताउँछन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मौन समयमा सबैले आआफ्नो परिवारमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइसक्नुभएको छ । कमभन्दा कम मतपत्र बदर हुनुलाई निर्वाचन सफलताको कडीका रूपमा लिने गरिएको छ । दल र उम्मेदवारले पनि मतदान गर्ने तरिकाभन्दा आफूलाई मत दिन मात्र मतदातासँग अभियान सञ्चालन गरेका थिए ।
अर्कोतर्फ दलहरूले ‘सात ठाउँमा सात छाप' भनी मत मागेकाले पनि मतदाता अन्योलमा पर्ने देखिएको छ । मतपत्रमा खुला वडा सदस्यमा एउटै दलका उम्मेदवारलाई दुईवटा चुनावचिह्न दिइएकाले सामान्य रूपमा गणना गर्दा आठवटा चुनावचिह्न भेटिन्छन् । ‘वडा सदस्यको पहिचानका लागि दुईवटा चुनावचिह्न दिइए पनि एउटा मात्र छाप लगाउनुपर्छ भन्ने कुरा आयोगले स्पष्ट गरिसकेको छ', प्रवक्ता शर्माले भन्नुभयो, ‘यस विषयमा दलहरूले पनि मतदातालाई सम्झाउनुपर्ने देखिन्छ ।' आयोगले अन्तिम समयमा परिचयपत्र वितरण गरेकाले केही स्थानमा पहिले मतदान गरिसकेका मतदाता पनि नामावलीमा छूट भएको जानकारी जीओक अध्यक्ष राणाले दिनुभयो ।- अन्नपूर्ण बाट ,नरेन्द्र साउद
Post a Comment