प्रथम पृष्ठ विचार
वैशाखशुक्ल पूर्णिमा एउटा बहुआयामिक पर्व हो । एउटै पर्वलाई नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले आआफ्नै तरिकाले मनाउँछन् । यो नै नेपाली चाडपर्वको समन्वयात्मक चरित्र हो । चाडपर्वको यस समन्वयात्मक विशेषताले नेपाली संस्कृतिमा अन्तरनिहित समन्वयात्मक अध्यात्मवादी दर्शन एवं अनेकतामा एकताको आदर्शलाई राम्ररी स्पष्ट पार्छ । नेपाली संस्कृतिको यस आदर्शले नेपालीमा फराकिलो मानसिकता विकास गराउँछ । यस फराकिलो मानसिकताले नेपालीलाई नेपाल राष्ट्रको निर्माण तथा नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन एवं विकासको साझा र सुदृढ भावनाको जागरणतर्फ उन्मुख गराउँछ।
वैशाखशुक्ल पूर्णिमाको दिनअघि देवी भगवतीले चण्ड नामको दैत्यलाई बध गरेको हुँदा देवी भगवती चण्डी नामबाट प्रख्यात हुनुभयो र वैशाखशुक्ल पूर्णिमा चण्डीपूर्णिमाको नामबाट प्रसिद्ध भयो । वैशाखशुक्ल पूर्णिमाका दिन कतिपय समुदायको देवालीपूजा हुन्छ । देवालीपूजा कुलायनपूजा वा कुलपूजा हो । कुलायनपूजा वा कुलपूजाको आफ्नो वंश वा कुलले गरिआएको पूजा भन्ने सामान्य अर्थ पनि हुन्छ तर वास्तवमा कुलायनपूजा वा कुलपूजा भनेको शक्तिउपासना हो किनभने तन्त्रशास्त्रअनुसार कुल भनेका शक्ति र अकुल भनेका शिव हुन् । त्यसकारण कुल अथवा शक्तिका उपासकहरू कौल अथवा कौलमार्गी कहलाउँछन्।
चण्डीपूर्णिमाका दिन गण्डकी प्रदेशका गुरुङ, मगर, दुरा, दरै, कुमाल र थारूहरू चण्डीथानमा चण्डीपूजा गरेर घाटु नृत्य विसर्जन गर्छन् । कोसी प्रदेशका राईहरू चण्डीपूर्णिमाका दिन चण्डीनाच नाचेर साकेवासिली पर्व मनाउँछन् । नेपालमा चण्डी संस्कृति पूर्वदेखि पश्चिमसम्म व्याप्त छ । चण्डी संस्कृतिले पूर्व र पश्चिम नेपाललाई समन्वय गराएको छ । यही समन्वय, सहिष्णुता एवं सहअस्तित्व नै नेपाल राष्ट्र तथा नेपाली राष्ट्रियताको प्राण हो ।
वैशाखशुक्ल पूर्णिमाको मध्याह्नकालमा लुम्बिनी उपवनका भगवान् शाक्यमुनि बुद्धको जन्म भएको थियो । वैशाखशुक्ल पूर्णिमाकै ब्रह्ममुहूर्तमा उरूबेला तीर्थमा शाक्यमुनि बुद्धले बोधिज्ञान प्राप्त गरेका थिए । त्यसपछि उरूबेला तीर्थ बुद्धगयाको नामबाट प्रसिद्ध भयो । यसैगरी वैशाखशुक्ल पूर्णिमाकै मध्याह्नकालमा कुशीनगरको शालवनमा भगवान् शाक्यमुनि बुद्धले महापरिनिर्वाण प्राप्त गरेका थिए । यसरी वैशाखशुक्ल पूर्णिमासँग भगवान् शाक्यमुनि बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाण यी तीनवटा घटनाको सम्बन्ध रहेको छ ।
सम्राट अशोकको लुम्बिनीस्थित स्तम्भाभिलेखमा लुम्बिनीमा भगवान् शाक्यमुनि बुद्धले जन्म लिएको उल्लेख छ । नेपालसँग शाक्यमुनि बुद्धका अतिरिक्त कनकमुनि बुद्ध र क्रुकुच्छन्द बुद्धको पनि सम्बन्ध छ । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारदेखि उत्तरतर्फ निगलिहवास्थित स्तम्भाभिलेखमा सम्राट अशोकले आफ्नो राज्याभिषेकको चौधौं वर्षमा त्यहाँ कनकमुनि बुद्धको स्तुपलाई बढाएर निर्माण गरेको उल्लेख छ ।
यसैगरी तौलिहवा बजारको पश्चिमपट्टि नजिकै गोटिहवामा पनि अशोकस्तम्भको फेदपट्टिको अवशेष अवस्थित छ । उक्त स्तम्भको अभिलेख कुँदिएको भाग भने फेला पार्र्र्न सकिएको छैन । चिनियाँ यात्री फाह्यान र हुयन साङका अनुसार उक्त स्थान क्रुकुच्छन्द बुद्धको जन्मस्थल हो । यसरी नेपालको पश्चिम तराई कपिलवस्तु र लुम्बिनी क्षेत्रमा क्रुकुच्छन्द, कनकमुनि र शाक्यमुनि बुद्धको जन्म भएको पाइन्छ । त्यसकारण नेपालको कपिलवस्तु लुम्बिनी क्षेत्रमा तीनतीनजना बुद्धले जन्म लिनाको भौगोलिक, दार्शनिक तथा सांस्कृतिक पृष्ठभूमिबारे थाहा पाउन अवश्यक छ ।
वैशाखशुक्ल पूर्णिमा समन्वयात्मक छ । समन्वयात्मक अध्यात्मवाद उच्च मानवीय मूल्य र चरित्र हो । त्यसैले हामी समन्वयमा रमाउनुपर्छ, सहिष्णुतामा हाँस्नुपर्छ र सहअस्तित्वमा रहनुपर्छ ।
नेपालको कपिलवस्तु लुम्बिनी क्षेत्र अबध क्षेत्रमा पर्छ । अबध क्षेत्र प्राचीन अयोध्या क्षेत्रअन्तर्गत पर्छ । अतः बुद्धजन्मको सन्दर्भमा अबध र अयोध्याको अर्थ बुझ्न अत्यावश्यक छ । बधको अर्थ काट्नु, मार्नु, हिंसा गर्नु र अबधको अर्थ नकाट्नु, नमार्नु र हिंसा नगर्नु हो । यसैगरी योद्धाको अर्थ लड्ने, भिड्ने लडाका र योध्याको अर्थ लड्ने, भिड्ने ठाउँ रणक्षेत्र अर्थात् युद्धस्थल हो । अयोध्याको अर्थ नलड्ने नभिड्ने ठाउँ शान्तिक्षेत्र हो । अतः यही अबध र अयोध्याको पृष्ठभूमिमा नेपालको कपिलवस्तु र लुम्बिनी क्षेत्रमा अहिंसा तथा शान्तिवादी बुद्धहरूको जन्म भएको हो । कालान्तरमा यही कपिलवस्तु क्षेत्रमा कुकुरिपा नामका सिद्धको पनि जन्म भएको थियो ।
प्राणी हिंसाको दृश्यबाट हृदय पग्लेर रत्नाकर वाल्मीकि बनेका छन्, सिद्धार्थ गौतम शाक्यमुनि बुद्ध बनेका छन् । नारदमुनिको उपदेशबाट सिद्धि प्राप्त गरी रत्नाकर वाल्मीकि बनेर आनन्दले वनबिहार गरिरहेका थिए । त्यसबेला उनले एउटा व्याधाले क्रौञ्चपन्छीको मैथुनरत जोडामध्ये भालेलाई मारिदिएको देखे । यसरी व्याधाले क्रौञ्चपन्छी बध गरेको दृश्य देखेपछि वाल्मीकिको दृश्य पग्ल्यो र अकस्मात् उनको मुखबाट अनुष्टुप छन्दको एउटा श्लोक प्रस्फुटित भयो-
मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतिः समाः ।
यत् क्रौञ्चमिथुनादेकमवधीः काममोहितम्
यसरी वाल्मीकीय रामायणको शुभारम्भ भएको छ । वाल्मीकिको मुखबाट अकस्मात् निस्केको यस वचनलाई सरस्वतीको वरदान मानिएको छ ।
उता सिद्धार्थ गौतम बगैंचामा ध्यानमा बसिरहेका थिए । उनको सामुन्ने वाण लागेको एउटा घाइते हाँस आएर पछारियो । अहो ! यति राम्रो हाँसलाई कसले घाइते बनाएको होला ? म यसलाई बचाउँछु भनेर सिद्धार्थ गौतम घाइते हाँसलाई मुसारिरहेका थिए, यत्तिकैमा देवदत्त त्यहाँ आइपुग्यो र देवदत्तले सिद्धार्थ गौतमलाई 'ए ! यो हाँस मैले हानेको हुँ, मैले वाण हानेको हाँस मलाई देऊ' भन्यो । सिद्धार्थ गौतमले देवदत्तलाई 'यो हाँस म तिमीलाई दिन्नँ, म यो हाँसलाई बचाउँछु' भने र घाइते हाँसको उपचार र सेवासुसार गर्न थाले । यसरी अबध क्षेत्रमा प्राणी हिंसाको दृश्यबाट हृदय पग्लेर रत्नाकर वाल्मीकि बनेका छन् र सिद्धार्थ गौतम शाक्यमुनि बुद्ध बनेका छन् ।
यति भएपछि अब बुद्धको अर्थ बुझ्नुपर्छ । बुद्ध संस्कृत भाषाको शब्द हो । बुद्धलाई पाली भाषामा बुध र तिब्बती भाषामा साङये भनिन्छ । बुद्ध शब्दको शाब्दिक अर्थ हो बुझेको तर के बुझेको भन्ने विषयमा मतभिन्नता छ । अघि वैदिककालमा तत्ववेत्ता अर्थात् तत्व बुझेको व्यक्ति बुद्ध कहलाउँथ्यो । जीव, जगत् र ब्रह्म यी तीन तत्व छन् । जीव अर्थात् म को हुँ ? यो जगत् के हो ? म र यो जगत्को बीचमा के सम्बन्ध छ ? म र यो जगत्भन्दा पर अरू कुनै परम तत्व छ कि छैन ? यो नै आत्मचिन्तन हो र आत्मचिन्तन नै ब्रह्मचिन्तन हो । यसरी कोऽहम्को चिन्तन गर्दै जाँदा सोऽहम्को अवस्थामा पुग्छ । त्यसपछि जीवलाई अहं ब्रह्मास्मिको तत्वबोध हुन्छ । ब्रह्मतत्व बोध भएपछि ब्रह्म वेद ब्रह्मैव भवति भन्ने सिद्धान्तअनुसार जीव ब्रह्ममा लीन हुन्छ । अतः वेदान्त दर्शनका अनुसार ब्रह्मतत्व बोध गरेका साधक बुद्ध हुन् ।
शाक्यमुनि बुद्धको समयमा आएपछि बुद्ध शब्दको अर्थमा परिवर्तन आयो । शाक्यमुनि बुद्धको अर्थमा जगत्को दुःखको कारण बुझेको र त्यस दुःखको कारणको निराकरणको उपाय पनि जानेका व्यक्ति बुद्ध हुन् किनभने बुद्धो भवेयं जगतो हिताव, जगत् हितका लागि बुद्ध बुद्ध बनेका हुन् । अब मुनिको अर्थ बुझ्नुपर्छ । हामी ऋषि र मुनिलाई एउटै भन्ठान्छौं तर ऋषि र मुनिको आदर्श अलगअलग छ । हुनत ऋषि र मुनि दुवै मन्त्रद्रष्टा हुन् तापनि ऋषि गृहस्थी हुन् भने मुनिचाहिँ गृहस्थी होइनन्, बैरागी हुन् । वैदिककालदेखि नै ब्राह्मण र श्रमण दुईटा परम्परा चलिआएको छ । ब्राह्मण परम्परा ऋषि परम्परा अर्थात् गार्हस्थ्य परम्परा हो । श्रमण परम्पराचाहिँ मुनि परम्परा अर्थात् बैरागी परम्परा हो । त्यसकारण मुनिहरू यस जगत्लाई निस्सार ठान्छन् र संसारमा जन्मे पनि संसारीकर्म अर्थात् विवाह गरेर गृहस्था श्रममा प्रवेश गर्दैनन् । विवाह गरेर गृहस्था श्रममा प्रवेश गरे तापनि त्यसलाई त्यागेर वैराग्यतर्फ लाग्छन् ।
यसरी मुनि परम्पराको विवेचना गर्दा वैदिक तथा औपनिषदिक् मुनि परम्पराबाट नै शाक्यमुनिको परम्परा विकास भएको देखिन्छ तर वैदिक तथा औपनिषदिक् मुनिहरू ब्रह्मवादी थिए भने शाक्यमुनि अनात्मावादी थिए । कुरा त्यति मात्र फरक हो । बौद्धधर्ममा बज्रयानको विकास भएपछि वेदान्त दर्शनसँग बौद्धमतको दार्शनिक सिद्धान्त नजिकियो । श्रीमद्भगवद्गीतामा गरिएको आत्माको परिभाषा र अद्वयवज्रसंग्रहमा गरिएको बज्रको परिभाषा समान छ । अतः यसबाट उपरोक्त कुराको पुष्टि हुन्छ, जस्तै-
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।
अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।।
- श्रीमद्भगवद्गीता ।
दृढंसारमसशीर्यमच्छेद्याभेद्यलक्षणम् ।
अदाहि अविनाशी च शून्यता वज्रमुच्यते ।।
- अद्वयवज्रसँग्रह ।
यसरी शून्यता विद्यते त्वत्र तस्यामपि स विद्यते अर्थात् शून्यतामा शून्य स्वरूपले रहेको परम तत्वलाई नै सबै दर्शनले आफ्नो चिन्तनको आधार बनाएको पाइन्छ । यसबाट वेदोऽखिल धर्ममूलम् भन्ने उक्ति चरितार्थ भई सबै धर्म र दर्शनको आलप एवं मिलनबिन्दु एउटै हो भन्ने वास्तविकता राम्ररी सिद्ध हुन्छ । वैशाखशुक्ल पूर्णिमाकै दिन सिद्ध गोरखनाथको जन्म भएको हो । अतः वैशाखशुक्ल पूर्णिमाबुद्धजयन्तीका अतिरिक्त गोरखनाथजयन्ती पनि हो । त्यसकारण शाक्यमुनि बुद्धजस्तै सिद्ध गोरखनाथ नेपालका धर्तीपुत्र हुन् । हामी नेपालीका लागि यो ठूलो गौरवको कुरा हो ।
यसरी वैशाखशुक्ल पूर्णिमा समन्वयात्मक छ । समन्वयात्मक अध्यात्मवाद उच्च मानवीय मूल्य र चरित्र हो । त्यसैले हामीले समन्वयमा रमाउनुपर्छ, सहिष्णुतामा हाँस्नुपर्छ र सहअस्तित्वमा रहनुपर्छ । वेदले पनि हामीलाई निर्देश गरेको छ, जस्तै -
सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् ।
(ए ! मनुष्य हो ! तिमीहरू सँगै मिलेर हिँड, एउटै बोली बोल, तिमीहरूको मन पनि एउटै होओस् ।)- अन्नपूर्ण बाट , डा. जगमान गुरुङ
Post a Comment