जति हेरे पनि नअघाइने प्रकृतिको खजाना के होला ? नेपालको हकमा धेरैलाई मुगुको रारा तालले त्यही तिर्सना मेटाउँछ, जुन तिर्सना मेटिएर पनि फेरि उग्र भएर आउँछ ।
उही दिन मुगु पुग्ने सोच राखेर म काठमाडौंबाट हिँडेको थियो । तर, नेपालगञ्ज झरेपछि थाहा भयो, मुगु जाने प्लेनको उडान रद्द भएछ । अब कति दिन कुर्नुपर्ने हो भन्ने निराश भावमा विमानस्थल नजिकैको होटलमा छिरेँ ।
त्यहाँ तीन दिन अघिदेखि मुगु जाने प्लेन कुरिरहेका निकै जना रहेछन् । जसमध्ये रारा जान झापाको दमकदेखि अफिसमा एक हप्ता छुट्टी लिएर आएका तीन युवा पनि थिए । तर, तीन दिन प्लेन कुर्नमै बितेपछि आक्रोशित हुँदै घर र्फकने तर्खरमा थिए । एकछिन हामीले एयरलाइन्स कम्पनीहरुको मनोमानी र राराको बारेमा चर्चा गर्यौं ।
त्यतिखेर मुगु जाने जम्मा एउटा मात्र प्लेन थियो, जुन भिजिट कर्णालीले सञ्चालन गरेको थियो । त्यो पनि कहिले मौसम त कहिले विमानमा समस्या आएको कारण तीन दिनदेखि रद्द भएको भयै थियो । सिजनमा चल्ने अरु धेरै एयरलाइन्सहरु अफसिजन भएकाले उडानमा रहेनछन् ।
‘सिजनमा उडाउने अफसिजनमा नउडाउने यी एयरलाइन्स कम्पनीहरुको कस्तो बदमासी ! यिनीहरुको काम पैसा कमाउने मात्र हो कि दुर्गमका मानिहरुलाई सुविधा दिनु पनि हो ?’ तिनैमध्येका एक युवाले भने ।
‘मध्यपश्चिमतिरमा मान्छे सोझा हुन्छन् भनेको त सुनेको हो, तर यति धेरै सोझा हुन्छन् भन्ने चाहिँ थाहा थिएन’, दोस्रो युवाले थपे ।
‘हो नि, पूर्वतिर भए यस्तो मनोमानी गर्ने एयरलाइन्सहरु टिक्नै पाउँदैन थिए’, तेस्रो युवाले भने ।
एकछिन यस्तो असन्तुष्टि पोखेपछि ती युवा रारा जान्ने इच्छा मनमै मारेर खिन्न भावमा नेपालगञ्जबाटै फर्किए ।
संयोगशव म गएको भोलिपल्ट भिजिट कर्णालीको प्लेन उड्योे र म मुगु पुगेँ ।
करिब ५ वर्षअघि पनि म मुगु गएको थिएँ । त्यतिखेर ताल्चा एयरपोर्टमा पिच गरिएको थिएन । मुगुमा मोटरबाटो धमाधम खनिँदै थियो । यो पटक जाँदा एयरपोर्ट पिच भएकाले डरको मात्रा अलि कम भयो । ताल्चाबाट गमगढी जान गाडी पनि पाइने रहेछ । यसअघि त ताल्चाबाट गमगढी पुग्न करिब तीन घण्टा कस्सिएर हिँड्नुपरेको थियो ।
पाँच वर्षअघिको मुगु र अहिलेको मुगुमा केही परिवर्तन आएछ । पहिले चरम खाद्यान्न अभाव हुने गाउँहरुमा चामल पुगेछ । खाद्य संस्थानले वितरण गर्ने चामल पहिले हारालुछ हुन्थ्यो भने अहिले नबिकेर गोदाममा थन्केको छ ।
अर्कोतिर दुःखद अवस्था पनि देखियो । तराईको चामल गाउँ-गाउँमा त पुग्यो, तर स्थानीय उत्पादन कोदो, गहुँ, जौ, सिमी जस्ता पौष्टिक आहार उत्पादनमा भने मुगुवासीको ध्यान कम जान थालेछ । स्थानीय उत्पादनमा ह्रास आउँदा यस क्षेत्रका बालबालिका र महिला कुपोषणको सिकार भइरहेका छन् ।
मुगुमा गाडी पुगेपछि जुम्ला, सुर्खेत, नेपालगञ्ज र काठमाडौं जान पहिले जस्तो हप्तौं प्लेन कुर्नुपर्ने अवस्था अहिले छैन । बिरामीले उपचारै नपाएर मर्नुपर्ने अवस्था पनि रहेन । पैसा हुनेले चामलको भातदेखि हरेक कुरा खान सक्छन् ।
तर, दुर्गम गाउँहरुमा भने अझै पनि चरम गरिबी, अभाव र अशिक्षा कायमै छ । महिलाहरु वर्षौंदेखि आङ खस्ने समस्या लुकाउँदै पीडा सहेर बसेकै छन् । आफ्नो खेतीपातीले मात्र वर्षभरि खान नपुग्ने भएपछि अधिकांश पुरुषहरु भारत वा खाडी मुलुकतिर छन् । छोराको आसमा बर्सेनी बच्चा पाउनुपर्ने अवस्था उस्तै छ । महिनावारी र सुत्केरी हुँदा सरसफाइमा ध्यान नदिँदा धेरै महिला विभिन्न खाले रोगको सिकार भइरहेका छन् ।
दुर्गम बस्तीका मानिसले खेपिरहेको चरम दुःखको कुरा सुन्दै उकालो-ओरालो हिँड्दा म मानसिक र शारीरिक रुपमा थाकिसकेको थिएँ । मुगु पुगेको सातौं दिनमा म रारा पुगेँ ।
करिब ३ हजार मिटरको उँचाइमा रहेको ताल पुगेपछि त्यसको सौन्दर्यले सबै थकान बिर्सायो । छिनमै नीलो आकास झैं देखिन्छ रारा, छिनमै मोती झैं चम्किन्छ । सफा मौसम भएको दिनमा राराले सात पटक रङ फेर्ने मुगुवासीहरुको कथन छ ।
यसअघि पनि रारा आइसके पनि मलाई दोस्रो पटक आएको हुँ भन्ने भान नै भएन । पाँचौं पटक रारा पुगेका काठमाडौंका चित्रबहादुर दर्लामी भन्दै थिए, ‘रारालाई जति हेर्दा पनि मन अघाउँदैन । जति हेर्यो त्यति हेरिरहूँ झैं लाग्ने ।’
केही वर्ष अघिसम्म रारा पुग्ने एउटै माध्यम हवाई मार्ग थियो वा जुम्लाबाट हिँडेर जानुपथ्र्यो । तर, अहिले काठमाडौबाट गाडीमा बुटवल, सुर्खेत, कालिकोट हुँदै चौथो दिनमै रारा पुग्न सकिन्छ ।
गाडी चल्न थालेपछि रारामा आन्तरिक पर्यटक निकै बढेको भिलेज हेरिटेज रिसोर्टका म्यानेजर दीपक रावत बताउँछन् । बाटो अझै सहज हुने हो भने स्वदेशी पर्यटक धान्नै नसकिने गरी आउने उनले बताए ।
रारा पुग्ने धोको धेरै नेपालीमा भए पनि त्यहाँ पुग्न सहज अवस्था भने छैन । प्लेनको भर छैन । मोटरबाटो साधारण ग्राभेलसम्म पनि नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।
मुगु जस्तो दुर्गम ठाउँमा रारा जस्तोसुन्दर ताल हुनु खानी भन्दा कम हैन । सरकारले रारामा पर्यटक सजिलै आउजाउ गर्न सक्ने पूर्वाधार बनाइदिने हो भने मुगुको विकास आफैं हुने कतिपय स्थानीयको बुझाइ छ ।
यति सुन्दर तालमा उचित योजनासहित अझै बढी पर्यटक भित्र्याउन सके राराको अँध्यारो छाया अर्थात् दुर्गम मुगुको मुहार फेर्न सम्भव हुनेथ्यो ।
अनलाइनखबर , रोजिता अधिकारी
Post a Comment