डा. युवराज संग्रौला
बिगत केही समयमा नेपालमा 'अन्तर्राष्ट्रिय सम्बन्ध' र नेपालको समृद्धिका विषयमा निकै छलफल भएका छन् । यी छलफलका कार्यक्रम विचार गर्दा कताकता सेमिनारको थकान सकिएजस्तो लाग्छ । गैरसरकारी संस्थाले 'औपचारिक प्रतिवेदन' तयार पार्न आयोजना गर्ने गोष्ठीभन्दा फरक यी छलफलमा केही गम्भीर, समालोचनात्मक एवं विश्लेषणात्मक विचार सम्प्रेषण हुने गरेका छन्, जो वर्तमान नेपालको अवस्थामा आवश्यक छन् ।
विगत दुई हप्तामा पंक्तिकार सातवटा यस्ता छलफलमा पेनलिस्ट, प्रस्तुतकर्ता वा टिप्पणीकर्ताको रूपमा सरिक भएको थियो । तीनवटा कार्यक्रम 'चीनको बेल्ट र रोड' सम्बन्धी दुई देशका विज्ञहरूका बीचमा दुईपक्षीय छलफल थिए । एउटा चीन र दक्षिण एसियाको आवद्धतासम्बन्धी कार्यक्रम थियो । एउटा नेपालको समृद्धिको ढाँचाका बारेमा थियो । दुइटा कार्यक्रम नेपालको आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा थिए । यी सबै कार्यक्रममा नेपालका राजनीतिक दलमाथि तिखा आलोचना अगाडि सारिएका थिए । नेपाललई सहज ढंगबाट आर्थिक विकासको बाटोमा हिँडाउन सकिन्छ भन्ने विश्वास पनि व्यक्त भएका थिए ।
नेपालका थुप्रै नेता र बुद्धिजीवीहरू विदेशीको अगाडि लम्पसार परेकाले, देश राजनीतिक अस्थिरता र गरिबीको सामना गर्न बाध्य भएको छ भन्ने विचारहरू सशक्त ढंगबाट व्यक्त भए । यी सबै कुराका अतिरिक्त निम्न विश्लेषणहरू सटिक र महत्वपूर्ण थिए । (१) नेपालीहरू जो देश छोडी विदेशीएका छन् उनीहरू देशको निर्माणप्रति सहयोगी त हुन सकेका छैनन, बरु सधैं देशभित्र बसकेलाई गाली गरिरहन्छन् र निरुत्साही पारिरहन्छन् । (२) राजनीतिक दलका नेतामा 'राष्ट्रको विकास' उनीहरूको एजेन्डाको रूपमा रहेको छैन । केवल सत्ता मात्र उनीहरूको एजेन्डाको रूपमा रहेको छ । (३) नागरिक समाजका केही सदस्य भनाउँदा र राजनीतिक दलका केही नेता भनाउँदा राष्ट्रको विघटन भए होस् भनी चलखेल गर्ने विदेशी शक्तिको नांग्गै भएर समर्थन गरिरहेका छन् ।
(४) कर्मचारीतन्त्र राष्ट्रलाई ससुरालीले दिलाएको भैंसीलाई गरिने व्यवहार गरिरहेको छ । न त्यसलाई माया गर्छ न त अरूलाई पाल्न नै दिन्छ । (५) देशका निजीक्षेत्रका स्कुलहरू नेपाली बोल्दा विद्यार्थीलाई भाटा हान्छन् र निरन्तर विदेशी संस्कृतिको सम्मानमा नेपाली संस्कृतिलाई भत्काइरहेका छन् । (६) देशका बौद्धिकहरू विदेशी दूदातावसमा गएर 'नेपालमा अब के हुन्छ' भनी प्रश्न गर्छन् र लम्पसारवादी संस्कारका डण्डीले राष्ट्रियतामाथि प्रहार गरिरहेका छन् । (७) कतिपय राजनीतिक दलका नेता विदेशी दूतावासमै आफ्ना दलका बैठक गर्छन् ।
यी राष्ट्रका बारेका अभिमतबाहेक, अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा पनि थुप्रै मत जाहेर भएका छन् । (१) विकसित देश एवं शक्तिशाली देश खासगरी अमेरिका, बेलायत, अन्य युरोपेली देशहरू एवं भारतले कुनै न कुनै रूपमा राष्ट्रियताको वकालत गर्न थालेका छन्, तर साना देशहरूमा राष्ट्रियताको कुरा उठाउँदा उनीहरू मानव अधिकार तथा भूमण्डलीकरणको विरोधी अवधारणा हो भनी मनोवैज्ञानिक दमन गर्न तत्पर भइरहेका छन् ।
(२) एसिया आर्थिक विकासको केन्द्र बनिसकेको छ । चीनले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रखर रूपमा अभिव्यक्त गरिरहेको छ । उसले अगाडि बढाएको सिल्क रोड, बेल्ट एन्ड रोड, ब्रिक्स र 'एआईआईबी' द्वारा विश्वको शास्त्रीय अर्थ व्यवस्थालाई चुनौती दिएको छ र नयाँ अर्थव्यवस्थाको उदय हुँदैछ । यसका विरुद्ध पश्चिमी शक्तिहरू चीनका विरुद्ध सक्रिय भएका छन् । र नेपाललाई 'एक बेल्ट एक रोड' को अवधारणाबाहिर राख्न ठूलाठूला षड्यन्त्रहरू भइरहेका छन् । वर्तमान सरकार पनि यसै षड्यन्त्रमा सरिक छ । (३) चीन र भारतको आर्थिक शक्तिको रूपमा भएको उदयले नेपालको अस्तित्व खतरामा परेको छ । तसर्थ नेपालले अब केही गर्न सक्तैन भन्ने चरम निराशावादी सोच पनि व्यक्त भएका छन् ।
यी सबै सरोकारहरूले के स्पष्ट देखाउँछन् भने, नेपाल भित्र र बाहिर दुवैतर्फ तीव्र राजनीतिक एवं मनोवैज्ञानिक संक्रमणको अवस्थाबाट गुज्रिएको छ र यसलाई प्रभावित पार्न अन्तर्राष्ट्रिय संस्थाहरू एवं विदेशी शक्तिहरू सक्रिय रूपमा संलग्न रहेका छन् । यस सन्दर्भमा देशभित्र नागरिकहरू तीन खालका मानिसमा विभक्त भएका देखिन्छन् । (१) नेपालका राजकीय संस्थाहरू र राजनीतिमा विदेशीहरूलाई निर्वाध पहुँच दिएर देशलाई उपनिवेश बनाउन मद्दत गर्ने र त्यसबापत आफूलाई सत्ताप्राप्तिको सहयोग जुटाउने एक खालको निकै ठूलो जमात तयार भएको छ । यस्ता व्यक्तिहरू कोही नयाँ पार्टी खोलेर वा विभिन्न नामको 'शक्तिको नामकरण' गरेर सक्रिय रहेका छन् । तर यस्ता व्यक्तिहरू सबै राजनीतिक पार्टीमा छन् । यस्ता व्यक्ति नागरिक समाजमा पनि सक्रिय छन् । प्राध्यापक, वकिल र पत्रकारमा त झन् धेरै । (२) अर्का एकथरी नागरिक देशलाई टुक्र्याएर नयाँ राज्य बनाउन उद्दत छन् । यिनीहरू मध्येका केही नेपाललाई उपनिवेशको नामकरण गर्छन् । कोही 'यो देश खारेज गर' भन्ने नारा लगाउँछन्।
नेपाल हिजो पनि अस्तित्वमा थियो, आज पनि छ र भोलि पनि रहनैपर्छ । हिजो अहिले चीन र भारत शक्तिशाली हुँदा पनि नेपाल रहनेछ । त्यसैले शक्तिशाली चीन र भारत हाम्रा लागि खतरा होइनन्, बरु विकासका सहयोगी हुन्छन् । हामीले क्षमता भने हामीले प्रदर्शन गर्न सक्नुपर्छ ।
कोही खसका नाममा गाली गर्छन् । यिनीहरू पूर्णरूपमा विदेशी शक्तिको आर्थिक नैतिक÷सहयोगमा सञ्चालित छन् । (३) अर्का एकथरी राष्ट्रवादी छन् । तर राष्ट्रवादीभित्र पनि तीनखालका मानिस छन् । एकथरी हिन्दु धर्मको वकालत गर्दै राजनीतिलाई आफ्नो पक्षमा ल्याउने खेलाडीहरू छन् । अर्का एकथरी राजतन्त्रको नाममा सत्ता प्राप्त गर्ने दाउमा लागेका छन् । अर्काथरी देशको समृद्धि र आर्थिक विकासको कुरा गर्ने मानिसहरू छन् जो राष्ट्रवादलाई विकाससँग जोड्नुपर्ने तर्क पेस गर्छन् । तर यसभित्र पनि तीन खालका मानिस छन् । एकथरी फेसबुकमा बिहानदेखि बेलुकासम्म क्रियाशील मानिस छन् । उनीहरूको सुरु र अन्त फेसबुकमै हुन्छ ।
उनीहरू फेसबुकमा ठूलाठूला कुरा गर्छन् तर अधिकांश समय तर्कहीन अर्थहीन गफमा बिताउँछन् । अर्काथरी सेमिनार र गोष्ठी एवं वक्तव्यमा सीमित छन् । यिनीहरू होटेलभित्रै क्रान्तिको सपना देख्छन्, तर त्यो सपना त्यहीं समाप्त हुन्छ । अर्काथरी थोरैलाई मात्र जनतासँग अन्तरसंवाद गर्ने फुर्सद छ । जनता पनि राजनीतिक दलमा विभाजित छन् । उनीहरू आफ्नो शक्ति निर्माण गर्न सक्तैनन् । अर्थात, परिस्थितिस्वरूप इमान्दार, राष्ट्रवादी एवं विज्ञहरू भन्दा, देशको विरुद्ध लागेकाहरू शक्तिशाली देखिन्छन् र त्यसले आम सर्वसाधारणलाई निरास पार्छ । किनभने राष्ट्रपक्षधरहरू निस्क्रिय छन् भने राष्ट्रविरोधी सक्रिय।
यस परिस्थितिमा नेपालले आफ्नो भविष्यको बाटो कसरी तय गर्नुपर्छ ? यस प्रश्नमा गहिरो अध्ययन र विश्लेषण हुनुपर्ने आवश्यकता तड्कारो छ । युरोप र अमेरिकामा राष्ट्रवाद मौलाइरहेको छ । उनीहरू राष्ट्रवादको नाराद्वारा फेरि शक्तिशाली बन्ने प्रयास गरिरहेका छन् । तर उनीहरू एसियालाई कमजोर पार्न (१) एसियाली देशहरूका बीचमा विवाद सिर्जना गरी लडाइरहेका छन् । उनीहरू चीन र भारतलाई लडाउने प्रयास गर्दैछन् । भियतनाम र चीनलाई लडाउने प्रयास गरिरहेका छन् । उनीहरू उत्तर कोरिया र दक्षिण कोरियालाई लडाउने प्रयास गरिरहेका छन् । उनीहरू चीन र जापान भिडुन् भन्ने चाहान्छन् । उनीहरू ताइवानलाई उक्साइरहेका छन् । (२) यता एसियायी समाजमा उनीहरू तीव्ररूपमा जातीयताको विष पनि छरिरहेका छन् । समाजलाई विभाजित गरी द्वेष फैलाउँदै, अराजकताको भीडभित्र इशाइकरणको अभियान सञ्चालन गरिएका छन् । (३) यस्ता देशमा पश्चिमी शिक्षाद्वारा प्रशिक्षित भएका र आफ्नै देशमा बसेका ग्रिनकार्डवालाबाट उनीहरूका देशवासीहरूको आलोचना पनि गराइरहेका छन् । यी घटनाहरूले नेपालको भविष्यप्रति केही चुनौती रहेको इंगित गर्छन् । यदि हामीले चनाखो हुन सकेनौं भने नेपाललाई असफल राज्यको पगरी भिराई पश्चिमी शक्तिहरूले आफ्नो अधीनमा राख्ने र चीनलाई घेर्ने उनीहरूको रणनीतिको सिकार हुनुपर्ने छ ।
नेपालको सबैभन्दा ठूलो चुनौती यही नै हो । निरन्तर चलिरहेको संक्रमण, आर्थिक विकासका लागि आवश्यक पूर्वाधारको दयनीय अवस्था र नागरिकहरू बीचको जातीय विभाजन नै देशको सबैभन्दा ठूलो चुनौती हो । यसलाई सम्बोधन गर्ने एकमात्र उपाय आर्थिक विकासको अभियान निर्माण गर्नु र जनतालाई आफ्नो उन्नतीमा मुखरित गर्नु हो ।
नेपालले 'बेल्ट र रोड' को चिनियाँ आयोजनाबाट केही आधारभूत लाभहरू लिन सक्छ । यसलाई असफल पार्न नेपालभित्रै यसबाट नेपाल चीनको ऋणको भारीले थिचिन्छ र चीनको उपनिवेश बन्छ भन्ने हल्ला निर्माण गरिँदैछन् । तर यथार्थ त्यस्तो होइन । यस परियोजनाबाट नेपालले चीनको तिब्बतलाई जोड्ने सडक र रेल पूर्वाधारसँग आवद्धता प्राप्त गर्ने छ र तिब्बतको सहज यातायात प्रणालीलाई प्रयोग गरी आफ्नो व्यापार मध्यएसियामा विस्तार गर्न सक्नेछ । यस परियोजनामा भारतलाई संलग्न गर्नैपर्छ । त्यसो गर्न सकिएमा नेपालले आफूलाई चीन र भारतको पुल बनाउन सक्छ । त्यसो भएमा नेपालले अकल्पनीय ढंगबाट पर्यटनको विस्तार गर्न सक्छ ।
तिब्बतको आली सहर र एयरपोर्ट हवाईजहाजबाट जोडिएमा नेपालका काठमाडौं, भैरहवा र पोखराबाट वर्षमा एक करोड भारतीयहरूलाई कैलास र मानसरोवर पुर्याउन सकिन्छ भने त्यति नै संख्याका चिनियाँ बुद्धधर्मीलाई लुम्बिनी पुर्याउन सकिन्छ । चिनियाँ एवं भारतीय व्यापार नेपालको बाटो भएर हुनसक्यो भने नेपालमा भन्सार क्लियरेन्स, इन्सुरेन्स, अन्तर्राष्ट्रिय बैंक, यातायात जस्ता सेवामूलक व्यवसायको व्यापक विकास हुनेछ र नेपाल दक्षिण एसियाको आर्थिक केन्द्र बन्नेछ । नेपालको अवस्था अकल्पनीय ढंगले परिवर्तन हुनेछ ।
यसरी नेपाल एसियाकै एक सम्पर्क केन्द्रको रूपमा विकास हुन सक्छ । तर सामरिक महत्वको कारणले नेपालमा पश्चिमी देशहरूको बाक्लो स्वार्थ छ । उनीहरू चीन र भारतलाई यहाँबाट अनुगमन गर्न चाहन्छन् । तर यस यथार्थलाई भारतले अहिलेसम्म बुझ्न सकेको छैन । उनीहरू 'फुटाउ र शासन गर' भन्ने सिद्धान्तअनुसार चीन र भारतलाई विभाजित गर्न चाहन्छन् । त्यसका लागि उनीहरूलाई नेपाल चाहिन्छ, त्यो पनि कमजोर नेपाल । पश्चिमी देशका अन्तर्राष्ट्रिय संस्थाहरू दलाई लामाको लागि स्वतन्त्र तिब्बतको कुरा गर्छन् । उनीहरूलाई पनि नपाल चाहिन्छ । उनीहरू त्यसकै लागि नेपालमा जातीयताको खेती गरिरहेका छन् ।
यिनै कारणले नेपालमा तीव्र खेल हुन्छन् । हामी आर्थिक विकासका कुरा होइन सधैं राजनीतिमा संलग्न रहन्छौं । अब नेपालले गम्भीर निर्णयका साथ अगाडि बढ्नुपर्छ । (१) नेपालले भारतलाई चीनको 'बेल्ट र रोड' आयोजनामा सरिक हुन 'लबिङ' गर्नुपर्छ । प्रत्येक नेपालीले यसमा प्रयास गर्नुपर्छ । नेपाल भारतविरोधी होइन र नेपालले भारतका विरुद्ध चीनलाई प्रयोग गर्ने छैन भनी सम्झाउनुपर्छ । यसका लागि हरेक प्रयास गर्नुपर्छ र 'चीन र दक्षिण' एसियाकै बीचमा 'आवद्धता' निर्माण गर्न नेपालले आफ्नो क्षमताको प्रयोग गर्नुपर्छ । (२) यदि भारत तब पनि नेपालप्रति अनुदार रहन्छ भने नेपालले चीनसँग सहकार्य गर्नुपर्छ । नेपालले आफ्नो विकासका लागि संरचनाको निर्माण गर्नुपर्छ । अब दस वर्षमा नेपाल विकसित राष्ट्र बन्ने बाटोमा हिँड्नुपर्छ । यसको विकल्प छैन । त्यसो नहुँदा नेपालको स्वतन्त्र अस्तित्व धाराशायी हुनेछ ।
नेपाल हिजो पनि अस्तित्वमा थियो, आज पनि छ र भोलि पनि रहनैपर्छ । हिजो मौर्य, गुप्ता, मुगल साम्राज्य हुँदा पनि नेपाल अस्तित्वमा थियो । अहिले चीन र भारत शक्तिशाली हुँदा पनि नेपाल रहनेछ । त्यसैले शक्तिशाली चीन र भारत हाम्रा लागि खतरा होइनन्, बरु विकासका सहयोगी हुन्छन् । तर हामीले क्षमता प्रदर्शन गर्न सक्नुपर्छ । देशलाई आर्थिक सम्पन्नताको जगमा खडा गर्न सक्नुपर्छ । नेपालको आफ्नो विकास भारतका लागि चुनौती हुँदैन । सम्पन्न नेपाल मात्र भारतका लागि सहयोगी हुन सक्छ । यस तथ्यलाई बुझाउन सक्ने मानिस नै अब नेपालको नेता बन्न लायक हुन्छ ।अन्नपूर्ण बाट
Post a Comment