प्रेमलाई मुख्य विषय बनाएर लेख्ने युवा कथाकार मिलन संग्रौलाको दोस्रो कृति एवं पहिलो उपन्यास 'पर्पला' बुधबारदेखि बजारमा छ। सोही उपन्यासमा केन्द्रित रहेर उनीसँग विनीता मरहट्टाले गरेको कुराकानी :
१. पर्पला के हो?
पर्पला प्रेमको धागोमा बुनिएको किशोरकिशोरीको कथा हो। यो प्रेमकथा मात्र होइन। समकालीन टिनएजर्सले भोगिरहेको सामाजिक परिस्थिति, उनीहरूको मनोविज्ञान, प्रेम र सम्बन्धबारेका उनीहरूको बुझाइको आख्यानीकरण हो। त्यसैले पर्पला टिनएजर्सको आफ्नो कथा हो।
२. यो उपन्यास लेख्ने विचार कसरी आयो?
यसभन्दा पहिला मेरो कथासंग्रह आइसकेको थियो। त्यसपछि म एउटा उपन्यासमा काम गरिरहेको थिएँ। तर, पर्पलाको कथा एकाएक आइदियो। साथीहरूसँग कुराकानीको क्रममा पर्पलाका पात्रहरू भेट भए। उनीहरूको कथाले मलाई छोयो। त्यसपछि मैले पर्पला लेख्न सुरु गरेँ।
३. भनेपछि यो यथार्थ कथा हो ?
यथार्थ घटनामा आधारित कथा हो। यसमा मैले टिनएजर्सले प्रेमलाई कसरी बुझ्छन्। उनीहरूको सम्बन्धबारेको बुझाइ कस्तो छ। सामाजिक संरचना र मनोविज्ञानले कस्तो प्रभाव पार्छ। यस्तै विषयमा जोड दिएको छु।
४. तपाईंले के पाउनुभयो कसरी बुझ्दारैछन् टिनएजर्सले प्रेम र सम्बन्धलाई ?
प्रविधिले समकालीन पुस्ताको बुझाइमा ठूलो प्रभाव पारेको छ। प्रविधिले छिटो नजिकिन, कुराकानी र भावना सेयर गर्न सजिलो बनाइदिएको छ। यसले प्रेम र सम्बन्धमा उल्लेखनीय प्रभाव पारेको छ।
विशेषगरी प्लस टु जेनेरेसनमा यसको प्रभाव बढी देखिन्छ। तुरुन्तै प्रेममा परिहाल्ने, डेटिङ जाने, शारीरिक सम्बन्ध पनि राखिहाल्ने अनि छुट्टिन पनि बेरै नगर्ने। यो प्रेम र सम्बन्धबारेको कमजोर बुझाइ हो। प्रेमको गहिराइ र सम्बन्धका गाढापनबारे किशोरकिशोरीले बुझ्नै पाएका छैनन्, बुझाइएकै छैन।
५. दोष कसको हो ?
केटाकेटी बिग्रिए भनेर कोही पनि पन्छिन मिल्दैन। टिनएजर्समा यदि केही समस्या छ भने त्यो परिवार, समाज र शिक्षण संस्थाको उत्पादन हो। सामाजिक संरचनाले उनीहरूलाई बन्देज लगाउँछ, शिक्षकले अनुशासनको नाममा उनीहरूको प्रेमिल स्वभावलाई बन्दी बनाइदिन्छन्, परिवारले आफ्नै स्वार्थ र चाहनाहरू थोपर्छ।
बाबुआमाको इज्जत र प्रतिष्ठा, शिक्षण संस्थाको आफ्नै खाले स्वार्थ र समाजको बन्देजको बीचमा बदलिएको समयको यो नयाँ पुस्ता अल्मलमा छ। यसका आफ्नै इच्छा र रहरहरू छन् तर त्यो कसैले सुनिदिँदैन। जे उसमाथि थोपरिन्छ त्यो चित्त बुझ्दैन। त्यसको परिणाम सहज हुँदैन।
६. त्यसो भए पर्पला नयाँ पुस्ता र पुरानो पुस्ताको मतान्तरको कथा हो?
होइन, यो केवल नयाँ पुस्ताको कथा हो। यसमा तपाईं प्लस टु पढ्ने एक किशोरीको मनोविज्ञान पाउनुहुनेछ। उसले प्रेमलाई कसरी लिन्छे, सम्बन्धलाई कसरी बुझ्छे भन्नेबारे पाउनुहुन्छ।
अर्कोतर्फ एकतर्फी आकर्षण वा प्रेमका समस्याहरू देखाइएको छ। र, सामाजिक र पारिवारिक परिबन्धले सम्बन्ध सञ्चालनमा अप्ठेरोमा परेको पात्रको कथा छ। एउटै सम्बन्धमा जेलिएका तीन पात्रको कथा हो यो।
७. त्रिकोणात्मक प्रेमकथा ?
त्यस्तो भन्न मिल्छ। तर, यो प्रेमकथाभन्दा बढी केही हो। प्रेमकथासँगसँगै यो अरू पनि केही हो। यो त्रिकोणात्मक सम्बन्धमा तपाईंले आशक्ति, उपेक्षा, प्रेम, विरक्ति, निरासा र उन्मुक्तताबीचको संघर्ष भेट्नुहुनेछ।
८. पुस्तकलाई लिएर तपाईंको अपेक्षा के छ ?
करिब दुई वर्ष लगाएर यो सानो आकारको उपन्यास तयार पारेको छु। कति रात ननिदाई लेखेँ। कतिपटक लेख्नकै लागि बिरामी भएको बहाना बनाएर अफिस गइनँ।
कतिपटक पात्र र कथाहरूमा जेलिएर जाने ठाउँ बिर्सिएर सडकमा रुमल्लिरहेँ। कुनै पनि गणना गरेको छैन। अब पुस्तक बजारमा छ, पाठकहरूको हातमा छ। मूलतः युवा पुस्ताले यो कथा पढ्नेछ र आफैंलाई भेट्नेछ। मेरो अपेक्षा यत्ति छ।
९. यो कथा संयोगान्त हो कि वियोगान्त ?
दुवै होइन। के सबै प्रेमकथा संयोग वा वियोगको आँखाले मात्र हेरिनु जरुरी छ र ? के संयोग वा वियोगभन्दा फरक आयामको अर्को निष्कर्ष हुँदैन ? प्रेमलाई केवल पाउनु र गुमाउनुको कोणबाट हेर्नु प्रेमको गहिराइ नबुझ्नु हो। ‘पर्पला’ले संयोग वा वियोगभन्दा परको अर्को निष्कर्ष दिन्छ।
१०. अन्तिममा, पर्पल नै किन ?
यसको अर्थ छ। यो संयोगमात्र होइन। पर्पल रङ आफैंमा नीलो र रातो रङको मि श्रण हो। नीलो शान्तिको प्रतीक हो। रातो उत्तेजना र आवेगको।
प्रेमको उत्कर्षमा उत्तेजना हुन्छ, आवेग हुन्छ र यसले मानिसको मनलाई शान्ति दिन्छ। अर्कोतर्फ, पर्पल रङ नारीत्वको संकेत पनि हो। यो उपन्यासको मूलपात्र पर्पला यी सबैको योग हो।- अन्नपूर्णबाट
Post a Comment