काठमाडौँ, वैशाख ५ गते । राष्ट्रिय एकता, अखण्डता तथा ऐतिहासिक जनआन्दोलनको प्रतीकका रूपमा रहेको गणतन्त्र स्मारकको निर्माण तीन महिनामा पूरा हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक राजुमान मानन्धरले राष्ट्रिय योजनाको पहिलो प्राथमिकतामा रहेको गणतन्त्र स्मारक निर्माण कार्य तीव्र रूपमा भइरहेको बताउनुभयो ।
उहाँले स्मारकको निर्माण ९० प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो । अहिले नेपालको भौगोलिक स्वरूप देखिने ‘मोड्युल’ निर्माण भइरहेको जानकारी दिँदै उहाँले स्मारकको ‘फिनिसिङ’ पनि भइरहेको जानकारी उहाँले दिनुभयो । यो स्मारकलाई आर्थिक विकास र स्मृतिको तत्कालीन कार्ययोजना २०६९ ले समेत नयाँ नेपाल निर्माण अभियान अन्तर्गतको कार्यसूचीमा समावेश गरिसकेको छ ।
सरकारले आर्थिक वर्ष २०६५÷६६ को बजेट वक्तव्यमार्फत गणतन्त्र स्मारक निर्माण गर्ने अवधारणा ल्याएको थियो भने २०६९ मङ्सिर २२ गते शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण व्यवसायीबीच निर्माणका लागि सम्झौता भएको थियो । सम्झौतापछि नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण–पश्चिम भागमा स्मारक निर्माणका लागि विस्तृत इन्जिनियरिङ डिजाइनको काम गरी ११ करोड रुपियाँको कुल लागतमा स्मारक निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो । ganatantra samrak
२०६७ असार १६ मा तत्कालीन मन्त्रिपरिषद्ले स्मारक दरबारमार्गको सट्टा तीनकुनेस्थित ३५ रोपनी खाली जग्गामा निर्माण गर्ने नयाँ योजना सार्वजनिक गरेको थियो । तीनकुनेमा ४६ करोड रुपियाँको लागतमा स्मारक निर्माणका लागि पुनः इन्जिनियरिङ डिजाइन गरिएको थियो ।
तीनकुनेको जग्गाको मुआब्जासम्बन्धी विवाद अदालतमा रहेको कारण देखाउँदै फेरि मन्त्रिपरिषद्ले २०६८ चैत ३ गते स्मारक पुनः नारायणहिटी दरबारकै पूर्वी भागमा निर्माण गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६८ चैत १४ गते स्मारकको शिलान्यास गर्नुभएको थियो ।
उपमहानिर्देशक मानन्धरले स्मारकको चारवटा स्तम्भमार्फत प्रारूप तयार गरिएको र प्रत्येक स्तम्भको उचाइ १२ मिटर रहेको जानकारी दिनुभयो । प्रत्येक स्तम्भको फरकफरक अर्थ र प्रतीक रहेको बताउँदै उहाँले पहिलो स्तम्भले गणतन्त्र स्थापनाका क्रममा बेपता पारिएकाको सम्झना गराउने बताउनुभयो ।
दोस्रो स्तम्भले मुलुकमा गणतन्त्र स्थापनाका क्रममा मृत्युवरण गरेकाको सम्झना दिलाउनेछ भने तेस्रो र चौथो स्तम्भले हराएका र अङ्गभङ्ग भएकाको सम्झना गराउनेछ ।
चारवटै स्तम्भलाई गोलो स्टिलको पाइपले एकआपसमा जोडिएको छ भने पाइपको तल्लो भागमा नेपालको नक्सा रहनेछ । ‘शहीदको बलिदान हामी कहिल्यै बिर्सनेछैनौँ’ भन्ने अवधारणाका आधारमा स्मारक निर्माण भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
जल, आकाश र प्रकाशको विशिष्ट संयोजनमार्फत स्मारकको स्वरूप तयार पारिएको छ । स्मारकको चारवटा स्तम्भले करिब आठ रोपनी जग्गा ओगटेको छ भने बाँकी जग्गामा जलाशय, बगैँचा, आँगन र ल्यान्डस्केप तयार पारिएको विभागले जानकारी दिएको छ ।
विभागका सिनियर डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले स्तम्भमुनि रहेको दुईवटा वेसमेन्टमध्ये तल्लो वेसमेन्टमा मुलुकमा लोकतन्त्र स्थापनाका लागि शहीद भएकाको तस्बिर, राष्ट्रिय विभूतिको तस्बिर तथा मुलुकका विभिन्न ऐतिहासिक कालखण्डमा भएका विभिन्न धार्मिक तथा सांस्कृतिक पक्षको प्रदर्शन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो वेसमेन्टमा तीन सय जना क्षमता बराबरको अडिटोरियम हल निर्माण गरिएको छ ।
स्मारकको सम्पूर्ण संरचना मण्डला अवधारणाबाट प्रेरित रहेको र त्यसलाई आधुनिक शैलीमा निर्माण गरिएको उहाँले बताउनुभयो । आधुनिक इन्जिनियरिङ डिजाइन (इन्टरनेसनल स्टेट अफ आर्ट) अनुसार निर्माण गरिएको यो स्मारक राष्ट्रिय भवनसंहिताको ‘क’ वर्गको संरचना अनुसार निर्माण गरिएको छ । -भउचप्रसाद यादव
Post a Comment