Websoft University

www.radiomakalu.com || 021-522512


अतिवादको चपेटा

अतिवादको चपेटा

ध्रुबहादुर प्रधान

सायद अतिवाद मानव संस्कृतिमा अन्तरनिहित छ । इतिहास चक्रको यो कालखण्डमा संसारका सबैजसो भूखण्डमा अतिवाद प्रकट भइरहेको छ । जरैदेखि उठेका अतिवाद र घटनाक्रमले सिर्जना गरेका परिस्थितिकीय अतिवाद फरक विषय हुन् । यतिबेला यी दुवैखाले अतिवाद चुलिएको देख्न पाइन्छ अतिवादलाई अथ्र्याउने आआफ्ना काइदा होलान् । विश्वका समसामयिक अतिवादी घटनाक्रम हेर्दा तिनका पृष्ठभूमिबारे विचार गर्नु जरुरी छ । जस्तो, अतिवादको ट्याग लागेका कतिपय मामिलामा मौलिक मूल्यमाथिको आक्रमणका कारण उठेका आक्रोशसमेत देख्न सकिन्छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति चुनावदेखि बे्रक्जिटसम्मका घटनाक्रम यसका उदाहरण हुन् ।
आफ्नो सभ्यता र विकासका मूल्यहरूलाई अप्ठेरो पर्ने गरी अर्को गोलाद्र्धका अतिवादी मूल्यहरूको प्रवेश भयो भन्ने धारणा पश्चिमा जगत्मा बढिरहेको छ । जसले शताब्दीयौंदेखि प्रजातन्त्र र सहिष्णुता विकासको जस खाने पश्चिमा जगत् घृणा, अविश्वासमा बहकिन थालेको छ । र, यो त्यहाँका परम्परागत विरासतप्रति गम्भीर नेताहरूका लागि ठूलो चिन्ताको विषयसमेत बनेको छ । यो नकरात्मक ऊर्जाको लहरले विश्वशान्तिमै असर पर्ने हो कि भन्ने उनीहरूलाई निकै पिर छ ।
अतिवाद हाम्रोजस्तो सानो र शान्तिप्रिय मुलुकमा पनि कम छैन । यहाँ अतिवाद र सहिष्णुताको अचम्मको लुकामारी छ । हामीले अतिवादको जगमा झन्डै एक दसक सशस्त्र द्वन्द्वको मार खेप्यौं । १५ हजार नेपालीले अनाहकमै ज्यान गुमाए । ती सबै नेपालीजनको रगतको मूल्य खोज्न कहाँ जाने भन्ने प्रश्न अबका सयौं वर्षसम्म हाम्रो मस्तिष्कसामु पसारो परिरहनेछ । त्यो रक्तपात केका लागि थियो भन्ने विषय त्यसका अभियन्ताहरूले पछिल्लो समय देखाएको व्यवहारबाट खण्डित भइसकेको छ । तर नेपालीको मन अचम्मैको छ ।
सायद कालकुट पचाउने भगवान् महादेव हिमपर्वतको शीर कैलाशमा बसेकाले होला, नेपालीहरू त्यो विडम्बनालाई समेत माफ गर्ने अवस्थामा पुगेजस्तो प्रतीत हुन्छ । त्यो पच्यो नै, त्यसपछिका भूकम्प र नाकाबन्दी पनि बिर्सिइएको अवस्था देखिन्छ । शासन व्यवस्थाले कहिँकतै जनजीविकालाई सम्बोधन गरेको छैन । तैपनि नेपालीहरू सामान्य भएरै हिँडेका छन् ।
जीवन पद्धतिमा यो हदको जठाराग्नि र सहनशीलता बोकेका नेपालीहरू छन् । तैपनि केही अतिवादले बेलाबेला अचेटिरहन्छ । सबैभन्दा बढी अतिवाद त राष्ट्रियताको विषयमा देखिन्छ । राष्ट्रियता सबैभन्दा प्यारो विषय हो, यसमा शंका छैन । तर यो कसैले उचाल्न चाहेर उचालिने, पछार्न चाहेर पछारिने विषय पनि त होइन नि । यसको गरिमाको संरक्षण हामीले राख्ने विवेक, धैर्यता, मेहनत, समर्पण र संघर्षमा छ । यसले जनता जनार्दनलाई दिने गौरवान्भूति नै सबैभन्दा ठूलो फल हो । सत्यता यो भए पनि हामीकहाँ राष्ट्रियतासँग सबैभन्दा धेरै अतिवाद जोडिएको पाइन्छ ।
कन्चनपुर जिल्लाको बेलौरीमा हालै भएको घटनापछि एक चिनारुले पंक्तिकारसँग सम्पर्क गरी अब त्यो प्रकरणलाई टेकेर राष्ट्रियताको आन्दोलन छेडौं भन्ने प्रस्ताव ल्याए । बौद्धिक कोटीका ती चिनारुलाई कसरी सम्झाउनु कि संसारमा अति मिल्ने छिमेकी मुलुकहरूबीच पनि सीमाजन्य समस्या भइरहन्छन् । हरेक समस्याबाट राष्ट्रियताको आन्दोलनको जन्म हुन सक्दैन, सुहाउने कुरै होइन । पंक्तिकारले केही समययता नेपाल-भारत सीमालाई वैज्ञानिक ढंगले नियमन गर्नुपर्छ भन्ने तर्क सञ्चारमाध्यममार्फत् उठाइरहेको सन्दर्भमा चिनारु साथीले सम्भाव्य आन्दोलनको पात्र ठानेको हुनुपर्छ । समस्या समाधानको तरिका (एप्रोच) र विरोधको प्रचार साधन (स्टन्ट) एकदम फरक मनस्थितिबाट उत्पन्न हुने विषयहरू हुन्।
जसलाई पर्छ, उसैले बेहोर्नुपर्छ । टरिसकेपछि त्यो अवस्था निम्तिन नदिनका लागि आफ्नो सामथ्र्य बढाउनेतिर मेहनत गर्नुबाहेकको विकल्प छैन । त्यसका लागि राष्ट्रिय एकता, समृद्धिको उद्देश्यमा आधारभूत सहमति र सहिष्णुता आवश्यक छ ।

पंक्तिकारले हाम्रो मुलुकको राष्ट्रिय चरित्र निर्माण गर्न सबैभन्दा पहिले आफ्नो साँधसीमा नियमित, सुरक्षित र चुस्तदुरुस्त राख्नुपर्छ भन्ने तर्क गर्दै आएको छ । यसका निम्ति नेपालको क्षमता अभिवृद्धि गर्न छिमेकी मुलुकहरूले सहयोगसमेत गर्नुपर्छ, किनकि प्रकरान्तरमा यसको लाभांश नेपालले भन्दा बढी उनीहरूले नै पाउँछन् । आजको मितिसम्म नेपाल-भारत सीमाको विषयलाई लिएर नेपाली राजनीति तथा विद्धत वर्गमा दुईथरी धारणा प्रधान देखिन्छन् : क) जस्ताको जस्तै छाड्नुपर्छ ख) पूरै बन्द गर्नुपर्छ । खासमा यी दुवै ठीक होइनन् । हुनुपर्ने सीमा नियमन हो, किनकि भोलिका दिनमा हामीले खुला सीमाको सौन्दर्यपान मात्र गर्न पाइयोस् । न कि असुरक्षा, परनिर्भरता र राष्ट्रको चरित्र नै नबन्ने अकर्मण्यता ।
अतिवादका कारण नेपालले अरुण तेस्रो जलविद्युत् परियोजना गुमायो । पन्चेश्वर, अपर कर्णालीजस्ता परियोजना अलपत्र छन् । फलतः हामीले दसक लामो अन्धकार भोग्नुपर्यो । बल्ल केही व्यवस्थापकीय सामथ्र्य र केही असल प्रशासकको इच्छाशक्तिबाट त्यो अँध्यारो हट्ने क्रममा छ । अतिवादकै कारण राज्य सञ्चालकहरूले आफ्नो सामथ्र्य बढाउन सकिरहेका छैनन् । एकातिर अर्काले सिध्याउला कि भन्ने डर, अर्कातिर अर्कैले नगर्दिए पनि नहुने अवस्था । यसले गर्दा नेपाल भित्रभित्रै जटिल भूराजनीतिक खेलको क्रिडास्थल मात्रै बन्दै गइरहेको छ ।
कुनैबेला संसारमा भोकमरीबाट चिनिएका कतिपय मुलुकहरू आज खुला अन्तर्राष्ट्रिय लगानीका कारण समृद्धितर्फ उन्मुख छन् । त्यत्तिका लागि विश्वासलाग्दो वातावरण पनि नेपालले बनाउन सकेको छैन । हालै मात्र सम्पन्न लगानी सम्मेलनका प्रतिबद्धताहरू यथार्थमा परिणत नभए पनि एउटा तथ्य के बुझ्न सकिन्छ भने वातावरण ठीक भएमा नेपालमा अथाह लगानी आउन सक्छ ।
नेपालमा एउटा अनौठो भावदशा चलेको अनुभव हुन्छ, हामी अति भावुक पनि हुन्छौं, अनि बेलाबेलामा अतिवादमा पनि झुल्कन्छौं । खासमा हामीले विश्व परिवेश नै बुझ्न नचाहेको हो कि भन्ने भान पर्छ । संसारका सक्षम मुलुकहरूबीच समृद्धिको होड छ र उनीहरू सम्बन्धलाई वाणिज्य स्वार्थको कसीमा मात्र हेर्छन् । आफ्ना उत्पादन बढीभन्दा बढी विदेशी उपभोगका लागि पुर्याउने एवं विदेशका स्रोतहरू सापेक्षिक न्यून मूल्यमा दोहन गर्ने नीतिमा ती देशहरूबीचको कूटनीति घुमिरहेको हुन्छ ।
गत वर्ष नयाँ संविधान जारी भएपछिको सन्दर्भमा नेपाल-सम्बन्ध अप्ठेरोमा पर्दा नेपालको पीडालाई लिएर अघिपछि लोकतन्त्र र मानव अधिकारको दुहाइ दिने ठूला मुलुकहरूले प्रष्ट बोलेनन् । त्यो मौनता अज्ञानता थिएन । त्योे मामिलामा उनीहरूले आफ्नो खारिएको कूटनीतिको पनि आवश्यकता देखेनन् । किनकि त्यो एउटा सानो र गरिब मुलुकको समस्या थियो । त्यसमा बढी चासो दिएर ठूलो वाणिज्य स्वार्थमा खतरा पुर्याउने काम कसैले किन गर्थे र ?

जसलाई पर्छ, उसैले बेहोर्नुपर्छ । टरिसकेपछि त्यो अवस्थालाई निम्तिन नदिनका लागि आफ्नो सामथ्र्य बढाउनेतिर मेहनत गर्नुबाहेकको विकल्प छैन । त्यसका लागि राष्ट्रिय एकता, समृद्धिको उद्देश्यमा आधारभूत सहमति र सहिष्णुता आवश्यक छ । त्यसका निम्ति आफूबाट सिक्ने, आफ्नो अनुभवलाई संस्थागत स्मृतिमा व्यवस्थित गर्ने र विकासका लक्ष्यहरू राखेर अगाडि बढ्ने संस्कृतिलाई मलजल गर्न जरुरी छ । अहिलेको परिस्थिति हेर्दा नेपालीमा भारतप्रति बढी अविश्वासको अवस्था छ । त्यसलाई कतिपय हिसाबले स्वाभाविक मान्नेहरू पनि छन् । तर भारतसँगको हाम्रो निकटतालाई वाध्यता मात्र मान्नुपर्छ भन्ने के छ र ?
हामीकहाँ भन्दा बढी समस्या भएको भारतमा यतिबेला नरेन्द्र मोदीले नयाँ उभार ल्याउन खोजिरहेका छन् । उनको एजेन्डामा भारतभर निरन्तर लोकप्रियता बढ्दो छ । हामीले पनि आफ्नो परिवेशमा सक्षम नेतृत्वको खोजी गर्न सक्दैनौं र ? हामीले आफ्नो व्यवस्थापन मिलाउन र आफूबाहेककासँगको सम्पर्क मिलाउन किन आफ्नै बुताबाट अगाडि नबढ्ने ? अरूको घर मिल्दैछ भने हामीले पहिले आफ्नै मिलाउनुपर्ने होइन र ? अरूसँग जोडिएर अतिवादको अलाप गर्नुको कुनै तुक छैन ।- अन्नपूर्ण बाट


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget