२०७३ साल हामीबाट औपचारिक रूपमा आजदेखि बिदा भएको छ । २०७३ सालले नेपाली खेलकुद क्षेत्रमा केही आशाका किरण देखायो भने केही निशारा र विकृतिलाई पनि छाडेर बिदा भयो । बितेको वर्ष नेपाली खेलकुद क्षेत्रले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि सातौं राष्ट्रिय खेलकुद आयोजना रह्यो ।
विभिन्न बहानामा विगत पाँच वर्षदेखि पटकपटक स्थगित हुँदै आएको नेपाली खेलकुदको कुम्भमेला गत पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न सहरमा आयोजना भएका थिए । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सातौं राष्ट्रिय खेलकुदमा विभिन्न ३० खेल समावेश गरिएको थियो । प्रतियोगिताका खेलहरू पूर्वाञ्चलका १४ सहर धरान, दुहबी, इटहरी, चन्द्रगढी, विराटनगर, राजविराज, सिरहा बजार, काँकडभित्ता, धनकुटा, धुलाबारी, टंकीसिनवारी, दकम, इनरुवा, गाईघाटका साथै पोखरा, ललितपुर र काठमाडौंमा सञ्चालन भएका थिए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोलीको दबदबा कायमै रह्यो । कुल दुई सय ६३ स्वर्ण पदकमध्ये तीन विभागीय टोलीले दुई सय तीन पदकमाथि कब्जा जमाए । त्रिभुवन आर्मी क्लबले एक सय १३, सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५० र नेपाल पुलिस क्लबले ४० वटा स्वर्ण पदक जिते । प्रतियोगितामा सबैभन्दा कम सुदूरपश्चिमाञ्चल विकास क्षेत्रले चार स्वर्णमात्र जित्न सक्यो । व्यक्तिगत हिसाबले एथलेटिक्सकी चन्द्रकला लामगादेले दुई राष्ट्रिय कीर्तिमान कायम गरिन् ।
बितेको वर्ष फुटबल र क्रिकेटले भने नेपाली खेलकुद क्षेत्रलाई तरंगित बनाउन सकेनन् । विगत केही वर्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)मा चल्दै आएको विवाद समाधान भए पनि फुटबलले उल्लेख्य उपलब्धि हासिल गर्न सकेन । वर्षको अन्त्यतिर फिलिपिन्समा खेलेको एसियन कप छनोट प्रतियोगितामा नेपाल ४-१ गोलले पराजित हुन पुग्यो । एन्फा विवादका कारण राष्ट्रिय लिग सञ्चालन हुन नसक्दा वर्षभरि नै राजधानीमा फुटबल गतिविधि शून्यझैं देखियो । तर, मोफसलका विभिन्न जिल्लामा भएका गोल्डकप प्रतियोगिताले भने केही आशा जगाउने काम गर्यो ।
यसैगरी नेपाली क्रिकेटले पनि आमनेपाली खेलकुदप्रेमीलाई उत्साह दिन सकेन । घरेलु मैदानमै भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको केन्याविरुद्धको खेलमा नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेन । पहिलो खेलमा पराजय बेहोरेको नेपालले दोस्रो खेलमा भने सात विकेटको जित हासिल गर्दै आफ्ना समर्थकलाई केही राहत दियो । समग्रमा भन्नु पर्दा नेपालले घरेलु मैदानको सदुपयोग गर्दै अंक तालिकामा सुधार ल्याउने अवसर गुमाउन पुग्यो ।
यसैगरी बंगलादेशमा भएको एसीसी इमर्जिङ नेसन्स कप क्रिकेटमा पनि खराब प्रदर्शनले निरन्तरता पायो । टेस्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यू-२३ टोलीसँग पराजित भएको नेपालले आफ्नो अन्तिम खेलमा भने हङकङलाई सात विकेटले पराजित गरेको थियो । यसैगरी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोटमा नेपाली महिला क्रिकेट टोलीले दोस्रो स्थान हासिल गर्यो । हङकङमा भएको प्रतियोगितामा दोस्रो भएको नेपाली टोली एसियन कपमा भने सबै टोलीसँग पराजित हुन पुग्यो ।
बितेको वर्ष नेपालले अन्य केही खेलमा महत्ववपूर्ण अन्तर्राष्ट्रिय पदक भने भित्वयायो । नेपाली भलिबलले ४० वर्षको खडेरी चिर्दै अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को आधिकारिक पदक भित्रायो । माल्दिभ्समा आयोजना भएको एसियन भलिबल संघ (एभीसी) सेन्ट्रल जोन प्रतियोगितामा नेपालले घरेलु टोली माल्दिभ्सलाई पराजित गर्दै ऐतिहासिक पद हात पारेको हो ।
Yamaha
यसैगरी मार्सल आर्टस्का विभिन्न प्रतियोगितामा पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय पदक भित्र्याए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको भनाइ मान्ने हो भने २०७३ साल नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पदक भित्रिएको वर्ष हो । यसै वर्ष नेपालले ब्राजिलको राजधानी रियो दी जेनेरियोमा आयोजना भएको ३१औं गृष्मकालीन खेलकुदमा पनि सहभागिता जनायो । नेपालले एथलेटिक्स, जुडो, तेक्वान्दो, पौडी र आर्चरीमा भाग लिएको थियो ।
रियो ओलम्पिकमा सहभागी सात खेलाडीमध्ये जलपरी गौरिका सिंहले पदक नजिते पनि अन्तर्राष्ट्रिय एरिनामा नेपालको नामलाई फैलाउन सफल भइन् । उनी रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीका रूपमा संसारभर छाउन पुगिन् । गौरिकाबाहेक जुडोकी फुपूल्हामु खत्री, तेक्वान्दोकी निशा रावल, पौडीका शिरीष गुरुङ, आर्चरीका जितबहादुर मोक्तान र एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराईले पनि रियो ओलम्पिकमा सहभागिता जनाएका थिए ।
२०७३ सालमा नेपाली खेलकुदले जति सफलता र उपलब्धि हासिल गर्यो त्योभन्दा बढी विवादमा रुमल्लिन पुग्यो । नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद उत्कर्षमा पुग्यो । सर्वोच्च अदालतको निर्देशन र स्थानीय प्रशासनको सहयोगमा रुक्मशमशेर राणा नेतृत्वको कमिटीले सातदोबाटोस्थित भवनमा प्रवेश गरेर कामकाज थाल्यो भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता पाएको जीवनराम श्रेष्ठ नेतृत्वको कमिटी बाहिरै बसेको छ । विगत लामो समयदेखिको विवाद नयाँ उचाइमा पुगे पनि समस्या समाधानको विकल्प भने २०७३ सालले बिट मार्दासम्म पनि देखिएको छैन ।
यसैगरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)माथि प्रतिबन्ध लगायो । क्यानमा चरम विवाद भएपछि आईसीसीले क्यानलाई निलम्बन गर्यो । आईसीसीले सल्लाहकार समिति निर्माण गरी विधान निर्माण गरिरहे पनि क्यानमाथि लागेको निलम्बन फुकुवा हुन भने अझै केही समय कुर्नेपर्ने देखिएको छ ।
यसैगरी राष्ट्रिय खेलकुद परिषद्को असक्षमता र व्यक्तिगत महत्ववाकांक्षाका कारण २०७३ सालमा टेबुलटेनिस, कबड्डी, उसु, बक्सिङलगायतका संघमा विवादको बीउ रोपियो । वैधानिक रूपमा एउटा संघ अस्तित्वमा रहँदारहँदै त्यो संघमाथि सौता हाल्ने प्रवृत्तिले खेलकुद विवादकै भुमरीमा रुमल्लिइरह्यो । २०७२ सालमा गएको विनाशकारी भूकम्पले नेपाली खेलकुदका थुप्रै संरचना ध्वस्त बनायो । राजधानीमा दशरथ रंगशालालगायत थुप्रै पूर्वाधार काम नलाग्ने अवस्थामा पुगे । यसबाहेक विभिन्न जिल्लामा पनि भूकम्पले खेलकुद पूर्वाधार तहसनहस गर्यो । भूकम्पले विनाश गरेका पूर्वाधार निर्माणको काम २०७३ सालले बिदा लिइसक्दा पनि सुरु हुन सकेको छैन ।
राष्ट्रिय खेलकुद परिषद्ले कागजी रूपमा प्रक्रिया पुर्याएको जनाए पनि निर्माणको थालनी हुन सकेको छैन । क्षतिग्रस्त पूर्वाधारको मर्मतसम्भार र पुनर्निर्माणको कामले गति लिन नसक्दा सन् २०१९ मा नेपालले आयोजनाको जिम्मा लिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि अन्योलमा परेको छ ।-विष्णु थापा
Post a Comment