काठमाडौँ, चैत १ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले संसद्को आजको बैठक प्रारम्भ भएको घोषणा गर्नुभए पछि मोर्चासँग आवद्ध राजनीतिक दलका सांसद्ले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका तर्फबाट सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई बोल्न समय प्रदान गर्नुभयो ।
सांसद कर्णले मन्त्रिमण्डलमा नयाँ÷नयाँ मन्त्रीको प्रवेश भए पनि सरकार देश र जनताको हितप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो– “सप्तरीमा मधेसी जनतामाथि भएको गोली प्रहारको घटनाले सरकार संवेदनशील नभएको देखाएको छ । मोर्चाले देशमा उत्पन्न समस्या समाधान गर्न प्रस्ताव गरेको संविधान संशोधनको मागलाई सरकार र प्रमुख दलबाट बेवास्ता गरिएको छ ।”
नेकपा एमालेबाट मधेसी समुदायको अपमानित गर्ने काम भएकामा उहाँको आपत्ति थियो ।
भैरहवामा पक्राउ परेका मोर्चाका कार्यकर्तालाई कुटेर यातना दिने काम भएको पनि उहाँले बताउनुभयो । स्थानीय तहको पुनःसंरचना आयोगले मधेसीको प्रतिनिधित्व घटाउने काम गरेको आरोप लगाउँदै सांसद कर्णले भन्नुभयो – “संविधान संशोधनको मागलाई सम्बोधन नगरिएसम्म आयोगको प्रतिवेदन र निर्वाचनलाई मधेस र मधेसी जनताले स्वीकार गर्ने छैनन् ।”
उहाँले भन्नुभयो– “देश यस्तो जटिल अवस्थामा रहेको बेला सभामुखको महत्वपूर्ण भूमिका रहन्छ । अहिलेको सङ्क्रमणको हल निकाल्न सरकार र राजनीतिक दलबीच थप छलफल आरम्भ गराउन माग गर्दछौं ”। मोर्चाको तर्फबाट आजको बैठक बहिष्कार गर्ने घोषणासँगसँगै उहाँ सदनबाट बाहिरिनुभयो । रासस
Post a Comment