यस वर्ष गत साता मार्च १२ देखि १८ सम्म जलबिन्दु रोग सम्बन्धी चेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व जलबिन्दु सप्ताह मनाइयो। विश्व जलबिन्दु महासंघ र विश्व जलबिन्दु बिरामी महासंघको संयुक्त पहलमा यो सातदिने अभियान चलेको हो।
यी दुई संस्थाले सन् २००८ देखि विश्व जलबिन्दु दिवसको सुरुवात गरे र २०१० देखि हरेक वर्ष विश्व जलबिन्दु सप्ताह (वल्र्ड ग्लौकोमा विक) मनाउँदै आएका छन्। सन् २०२० को अन्तसम्ममा जलबिन्दु रोगीहरुको संख्या करिब सात करोड ६० लाख पुग्ने आँंकलन गरिएको छ। यो रोगको विश्वव्यापी चापलाई नियन्त्रण गर्न यी दुई संस्थाले मात्र काम गरेर सम्भव छैन। समाजका हरेक तह र तप्काको जलबिन्दु रोगबारे जनचेतना फैल्याउन सहभागिता आवश्यक पर्छ।
आफैँ सुरु हुने जलबिन्दुलाई प्राथमिक जलबिन्दु भनिन्छ भने अन्य रोग वा अवस्थाले गर्दा सिर्जना हुने जलबिन्दुलाई द्वीतीय जलबिन्दु भनिन्छ। द्वीतीय जलबिन्दु कारक रोगको उपचारपछि स्वतः नियन्त्रण हुन्छ। आँखाको समग्रतालाई कायम राख्न आँखाभित्र पैदा भइरहने पानी (एक्वाइस ह्युमर) को चाप स्थिर हुनु पर्छ। यस्तो पानी रगत छानिएर निरन्तर आँखाको दानाभित्र लेन्सभन्दा अगाडिपट्टिको भागमा प्रसार भइरहन्छ।
पछि फेरि ‘आइरिस’ (आँखाको रङ निर्धारणा गर्ने पुतली) र पारदर्शक ‘कर्निया’बीचमा रहने शूक्ष्म छिद्रहरुबाट छानिएर पुनः रगतमै मिसिन्छ। ती छिद्रहरु भएको चेपलाई कोण वा एंगल भनिन्छ। एंगल साँघुरो वा बन्द भयो भने पानीको निकास नभएर अकस्मात् आँखाको चाप बढ्छ। सामान्यतया १० देखि २० एमएमएचजी हुनुपर्ने चाप धेरै भएमा आँखा जोडजोडले दुख्ने, रातो हुने, बिझाउनेदेखि लिएर टाउको दुख्ने र बान्ता हुने लक्षणहरु देखा पछन्। यो, आँखाको आपतकालीन अवस्था हो। समयमै उपचार भएन भने यसले छोटै समयमा दृष्टि पूर्णरुपले नष्ट गरिदिन्छ।
समयमै अस्पताल पुगेमा आँखाको चापलाई तुरुन्त कम गर्ने औषधि वा सुइहरुको प्रयोगद्वारा दृष्टिलाई जोगाउन सकिन्छ। जलबिन्दु रोगबाट दीर्घकालीन वचाउका लागि भने आइरिस (पुतली) लाई प्वाल पार्ने विधि ‘पेरिफेरल आइरिडेक्टोमी’ र ती छिद्रहरुलाई ठूलो पार्ने वा खोल्ने शल्यक्रिया तथा ‘लेजर’ पद्धति उपलब्ध छ।
एंगल खुला भएर पनि हुने जलबिन्दुलाई प्राथमिक जलबिन्दु भनिन्छ। यसमा क्रमिक रुपले पुनः नफर्किने गरी दृष्टि नशा बिग्रँदै जान्छ। यो रोगमा आँखाको चाप सामान्य वा बढी पनि हुन सक्छ तर दृष्टि क्षेत्रमा क्रमशः ह्रास आउँछ। द्वीतीयभन्दा प्राथमिक जलबिन्दुको प्रकार किन घातक मानिन्छ भने यसमा कुनै लक्षण हुँदैन। कुनै लक्षणबिना भित्र–भित्रै यो रोगले दृष्टि नशा नष्ट गरिरहेको हुन्छ र बिरामीलाई यो कुरा थाहा पनि हुँदैन।
प्रायःजसो बिरामी अन्य समस्या बोकेर अस्पताल जाँदा चिकित्सकद्वारा दृष्टि नशा परक्षीण गर्दा अकस्मात यो रोग पत्ता लाग्छ। अथवा जलबिन्दुले दृष्टि नशामा निकै असर गरिसकेपछि मात्र बिरामी अस्पताल पुग्छन्।
त्यसैले कुनै समस्या नआए पनि समय–समयमा आँखा परीक्षण गर्नु राम्रो हो। जलबिन्दुको पूर्ण परीक्षणमा आँखाको दृष्टिपर्दा र दृष्टिनशाको जाँच, आँखाको चापको मापन, दृष्टि क्षेत्रको जाँच, बाहिरी पारदर्शक कर्नियाको मोटाइको मापन र दृष्टिनशाको तहगत फोटोग्राफी (अकुलर कोहरेन्स टोमोग्राफी) जस्ता जाँचहरु पर्छन्।
जलबिन्दुको जोखिमः
– परिवारको सदस्यमा जलबिन्दुको रोग भएमा।
– कुनै कारणवश लामो समयसम्म ‘कोर्टिकोस्टेरोइड’ भन्ने औषधि प्रयोग गरेको भएमा।
– आँखामा चोटपटक लागेमा वा शल्यक्रिया गरेको भएमा।
– ४० वर्षभन्दा माथिको उमेर समूहमा।
– उच्च रक्तचाप वा मधुमेहको रोग लागेका बिरामीहरुमा।
– दृष्टि दोष (टाढा नदेख्ने, ठूलो पावरको चश्मा लगाउने) व्यक्तिमा।
एंगल खुला हुने जलबिन्दु रोगको पूर्णतया उपचार नभए पनि यसलाई रोकथाम गरेर अन्धोपन हुने समयलाई पछि धकेल्न सकिन्छ। यो रोगको अन्तिम अवस्थामा दृष्टिक्षेत्र साँघुरिएर ‘टनेल भिजन’ मात्र बाँकी रहन्छ र अन्नतः दृष्टि पूर्णतया नाश हुन्छ। तसर्थ, नियमित आँखाको जाँच गराएर जलबिन्दुबाट हुने क्षति कम गर्न आफू पनि लागिपरौँ र अरुलाई पनि सम्झाऊँ।
(अधिकारी रेयुकाई आँखा अस्पताल बनेपाका दृष्टि विशेषज्ञ हुन्।)
- रविन्द्र अधिकारी , स्वास्थ्य खबर पत्रिकाबाट
Post a Comment