एसीसी इमर्जिङ नेशन्स कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान यू-२३ टोलीसँग ६ विकेटले पराजित भएको छ ।
बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६अाैं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नियमित कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीको अभाव पाकिस्तानबिरुद्धको खेलमा नेपालका लागि खड्कियो ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट झारे भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले औषत प्रदर्शन गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो ।
सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए ।
ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।
त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १८ रन बनाए ।
बलिङतर्फ बंगलादेशका गुलाम मुदासारले ५ र उसामा मिरले २ विकेट लिएका थिए ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।-अनलाइनखबरबाट
Post a Comment