बोआओ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका उपप्रधानमन्त्री झाङ गाओलीबीच भेट भएको छ। शुक्रबार दिउँसो २ बजेदेखि भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यो भ्रमण नेपाल र चीनबीच सम्बन्ध विकासमा धेरै महत्वपूर्ण हुने विश्वास आफूले राखेको बताउँदै चीन सरकारबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले नेपाल र चीनबीच बिगत लामो समयदेखि आत्मीय र समस्यारहित सम्बन्ध रहँदै आएको स्मरण गर्दै नेपालले वान चीन नीतिप्रति सधै समर्थन गर्दै आएको र नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने दृढता दोहोर्याएका छन्। प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको वान बेल्ट वान रोडमा नेपालले साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गर्दै भूकम्पपछि चीनले गरेको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ।
चीनको विकास र आर्थिक उन्नतिबाट नेपालले पनि फाइदा लिन सक्ने बताउँदै प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई संविधान निर्माणमार्फत् संस्थागत गरिएको र अहिले स्थानीय तहको चुनाव हुँदै संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायीत्व हासिल गर्ने बाटोमा नेपाल अघि बढेको बताए।
प्रधानमन्त्रीले रसुवा, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेलवे निर्माण, इनर्जी कनेक्टीभिटी, टान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोल भण्डारण, टान्समिसन लाइन, इकोनोमिक जोनसहितका विभिन्न विषयमा दुई पक्षीय सहमति जरुरी रहेको बताए। प्रधानमन्त्रीले नेपाल र चीनबीच सम्बन्धको ऐतिहासिक मार्ग अरनीको मार्ग भएर आउने तातोपानी नाका तत्काल खोल्न आग्रह गर्दै पूर्व पश्चिमका विभिन्न चीनसँग जोडिएका स्थानमा नाकाहरु खोल्न पनि आग्रहसमेत गरेका छन्।
प्रधानमन्त्रीले नेपाल सरकारको तर्फबाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिवद्धता व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी हितका विभिन्न विषयमा खुलला र स्पष्ट रुपमा नेपालको धारणा प्रस्तुत गरेका छन्।
भेटमा चीनका उपप्रधानमन्त्री झाङ गाओलीले कुटनीतिक सम्बन्ध स्थापना भएको ६२ बर्षदेखि नेपाल र चीनबीच धेरै नजिकबाट सहकार्य हुँदै आएको वताउँदै प्रधानमन्त्री प्रचण्डको यो भ्रमण सम्बन्धलाई अझै नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री प्रचण्डको केही समय पहिले भारतको गोवामा भएको चिनियाँ राष्ट्रपतिसँगको भेट एवम् चीन भ्रमणका क्रममा हुने भेट धेरै महत्वका रहेको बताउदै उनले चीनले सधै नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्दै आएको बताए।
उनले चीनका राष्ट्रपतिले उपर्युक्त समयमा चीनको भ्रमण गर्ने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अघि सारेको रेलवे, ट्रेड, कनेक्टिीभिटी, पूर्वाधार विकास लगायत सबै विषयमा चीन सकारात्मक रहेको बताउँदै यी विषयमा छिट्टै सहमति गरेर सहकार्य गर्ने प्रतिवद्धता जनाए। उनले अरनीको राजमार्ग खोल्नेवारे सकारात्मक रहेको बताउँदै नेपाललाई विभिन्न स्तरमा सहयोग बढाउँदै लगिने जानकारी दिए।
नेपालले संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुशी व्यक्त गर्दै उनले नेपालका राजनीतिक दलहरु एकताबद्ध भएर जुनसुकै आन्तरिक समस्या समाधान गर्न सक्छन् भन्ने विश्वास व्यक्त गरे। उनले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पुरानो चिनजान रहेको स्मरण गर्दै उनलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए।- अन्नपूर्णपोस्ट बाट
Post a Comment