अल्मा सिल्लर कन्ट्रेरास ५९ वर्षीया मेक्सिकेली महिला हुन् जो दक्षिणी अमेरिकी सीमामा रहेको हर्मोसिलोमा बस्छिन् ।
उत्तरी भेगमा रहेका आफन्तलाई भेट्नका लागि मेक्सीकोका नागरिकलाई दिइने पर्यटक भिसा उनीसँग पनि भएको उनी बताउँछिन् । उनले आफ्नो उक्त भिसा सपिङ गर्न र विकेन्डमा धुम्न जानका लागि पटक पटक प्रयोग गर्ने गर्दथिन् । एरिजोना, लस भेगस र न्यूयोर्कमा रहेका आफ्नो आफन्तलाई भेट्न पनि उक्त भिसाको प्रयोग गर्ने उनले बताइन् ।
यद्यपी, गत सोमबार उनी अमेरिकी कन्सुलेटमा आफूसँग भएको अमेरिकी भिसा फर्काउन पुगिन् । ‘म यहाँ मेरो अमेरिकी भिसा फिर्ता दिन आएकी हुँ,’ उनले कन्सुलरका कर्मचारीलाई भनिन् ।
तत्कालीन अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनल्ड ट्रम्पले मेक्सीकोका नागरिकलाई बलात्कारी र अपराधीको संज्ञा दिएपछि आफूले यस्तो निर्णय लिएको बताएकी छिन् ।
‘त्यतिबेला नै मैले मेरा श्रीमानलाई भनेकी थिएँ । यदि यी व्यक्तिले जित्छन् भने म मेरो अमेरिकी भिसालाई फिर्ता गरिदिन्छ,’ उनले विगत सम्झिइन् ।
हस्त लिखित पत्रसहित अमेरिकी भिसा फर्काउन कन्सुलेट पुगेकी उनले यसपछाडिको कारण स्पष्ट पारिन् । उनले लेखिन्, ‘म मेरो अमेरिकी भिसा फिर्ता गर्न चाहन्छु किनभने तिम्रो नयाँ राष्ट्रपति डोनल्ड ट्रम्पको मेक्सीको प्रतिको अवधारण, मेरो देशका नागरिकलाई उनले जे सोच्छन् त्यसले मलाई आहत पुर्यायो । ’
‘यसो गरेर मैले ट्रम्पको विरोध गरिरहेको छु र आफ्ना देशको नागरिकप्रति सम्मान र सद्भाव व्यक्त गरिरहेकी छु,’ उनले थपिन् ।-बीबीसी
Post a Comment