Websoft University

www.radiomakalu.com || 021-522512


सहमतिमा पुग्न राष्ट्रपतिको आग्रह

काठमाडौँ, पुस २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग संविधान कार्यान्वयनको वातावरण निर्माण गर्न र छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन घोषणा गर्न आग्रह गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति भण्डारीसँग प्रमुख राजनीतिक दलका प्रमुखहरूको भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । राष्ट्रपतिले आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेशसभा र सङ्घ गरी तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्छ भन्नुहुँदै त्यसका लागि सबै दललाई सहमतिको वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो ।
राष्ट्रपतिसँगको भेटपछि गोरखापत्रसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पुशपतिशमशेर जबराले दलका शीर्ष नेताहरूसँग राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन गर्ने क्रममा छिटोभन्दा छिटो स्थानीय निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्नुभएको जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले सत्तारूढ दल एकातिर र विपक्षी दल अर्कोतिर लागेर संविधान कार्यान्वयनको वातावरण निर्माण हुन सक्दैन, त्यसैले राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्न जोड दिनुभएको जानकारी मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का उपाध्यक्ष रामजनम चौधरीले गोरखापत्रलाई दिनुभयो ।
भेटमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मानित सर्वोच्च अदालतबाट संविधान संशोधनका विषयमा फैसलासमेत आइसकेकाले सदनको अवरोध खुला गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले पुस २४ मा बस्ने संसद् बैठकमा अवरोध खुला गर्नुहोस्, संविधान संशोधनको प्रस्ताव टेबल गरौँ, यसमा छलफल पनि गरौँ भन्दै माघ १० भित्रै स्थानीय निकायसँग सम्बन्धित सबै विधेयक पारित गरी निर्वाचन आयोगलाई दिऔँ भनी प्रस्ताव गर्नुभयो ।
प्रधानमन्त्रीले माघ १० भित्र निर्वाचन कानुन दिएमा आयोगले आगामी जेठ १० भित्र स्थानीय निकायको निर्वाचन गर्न सक्नेछ, त्योभन्दा ढिला भएमा वर्षा लाग्ने हुँदा स्थानीय निर्वाचन गर्न नै कठिन हुने भएकाले निर्वाचनका लागि सदनको अवरोध खोल्न एमालेसँग पुनः आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले पनि आफ्नो अडान दोहो¥याउँदै संविधान संशोधनको प्रस्ताव फिर्ता लिएमा तत्काल सदनको अवरोध खुल्ने जानकारी दिँदै सो प्रस्ताव फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।
भेटमा पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन नगरी संविधान कार्यान्वयन गर्न कठिन हुने भएकाले सदनको अवरोध खुला गरेर संविधान संशोधनको प्रस्ताव अगाडि बढाउनुपर्ने बताउनुभएको थियो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब नयाँ शिराबाट सहमतिको वातावरण निर्माण गर्न अन्य दलहरूसँग अनुरोध गर्नुभएको थियो । यस्तै मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी र थारूहरूका मागलाई सम्बोधन नगरी संविधान कार्यान्वयन र निर्वाचनको वातावरण बन्न नसक्ने भनी अन्य दलका नेताहरूको ध्यानाकर्षण गराउनुभएको थियो ।
उक्त भेटमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका उपाध्यक्ष भीम रावल लगायतका नेताको उपस्थिति थियो । -नारद गौतम

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget