काठमाडौं , पुष ११ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूले अध्ययन गराएका ७५ प्रतिशत विद्यार्थीले रोजगार पाएको दाबी गरेको छ । व्यवसायमूलक शिक्षा प्रदान गर्ने भएकाले करिब ७५ प्रतिशत विद्यार्थीले रोजगारी पाउने गरेको सीटीईभीटीका उपकुलपति कुलबहादुर बस्नेतको भनाइ छ ।
बाँकी २५ प्रतिशत भने केही अध्ययन तथा रोजगारीका लागि विदेश जाने र केहीले पेशा परिवर्तन गर्ने गरेको बस्नेतले जानकारी दिए ।
सीटीईभीटीले करिब ५ सय वटा स्कुलमार्फत वार्षिक २५ हजारलाई शिक्षा तथा सिपमुलक तालिम प्रदान गर्दै आएको उपकुलपति बस्नेतको दाबी छ । सीटीईभीटीअन्तर्गत आंगिक २४ वटा कलेज सञ्चालनमा छन् भने १३ वटा निर्माणाधिन अवस्थामा छन् । १३ वटा कलेजका लागि करिब ४० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
प्रयोगात्मक शिक्षामा सबैभन्दा धेरै आकर्षण स्वास्थ्यमा देखिएको छ । “करिब ९० प्रतिशत संस्था स्वास्थ्यसँग सम्बन्धित काम गरिरहेका छन् । यसको प्रभाव सीटीईभीटीमा पनि देखिएको छ । डोनर एजेन्सी पनि यसतर्फ नै लगाव राख्छन्,” बस्नेत भन्छन्, “आईटी, टुरिजम, ट्रान्सपोर्टेसन, मेनिफेक्चरिङ, अटो मेकानिकमा लगानी हुनुपर्ने थियो । तर यसतर्फ कसैको ध्यान गएन ।”
अटो मेकानिक्सको कलेज नेपालमा सञ्चालन गर्न सके उक्त कलेजका एक जना विद्यार्थी पनि बेरोजगार बस्नु नपर्ने उनको भनाइ छ । अटो मेकानिक्स कलेजका लागि पटक पटक राजयसँग बजेट माग गरे पनि सरकारले वास्ता नगरेको उनको आरोप छ ।
स्वास्थ्यपछि सिभिल इन्जिनियरिङमा विद्यार्थीको चाप बढी रहेको पाइएको छ । मनाङ बाहेक सबै जिल्लामा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा आफ्नो पहुँच पुर्याएको सीटीईभीटीमा २ अर्ब १८ करोड वार्षिक बजेट छ । ९३२ कर्मचारी छन् ।
बस्नेतका अनुसार शिक्षा क्षेत्रमा खर्च गर्ने बजेटको कुल २ प्रतिशत सीटीईभीटीका लागि छुट्याइएको छ । “यो बजेट निकै न्यून हो । पाठ्यक्रम, दक्ष जनशक्ति, पूर्वाधार नभएका संस्थालाई सरकारले बजेट दिँदै आएको छ,” उपकुलपति बस्नेत भन्छन्, “हामीलाई बजेट बढाए अझै धेरै नागरिकलाई सिपमुलक शिक्षा तथा तालिम दिन सकिन्छ ।”
शैद्धान्तिक शिक्षामा मोटो रकम खर्च गर्ने सरकारले प्राविधिक शिक्षामा भने कम बजेट विनियोजन गर्नु नै नेपालमा सिपमुलक जनशक्ति तयार नहुनुको मुख्य कारण रहेको उनको भनाइ छ ।
जिरी प्राविधिक शिक्षालय, कर्णाली प्राविधिक शिक्षालय, धनकुटा प्राविधिक शिक्षालय, लहान प्राविधिक शिक्षालय जस्ता कलेज ७५ जिल्लामा खोल्न सके राज्यले दक्ष प्राविधिक जनशक्तिको अभाव झेल्नु नपर्ने बस्नेत बताउँछन् ।
उपकुलपति बस्नेत राज्यले सैद्धान्तिक शिक्षामा लगानी गरेका कारण प्राविधिक शिक्षा अध्यापनका लागि दक्ष प्राविधिक प्राध्यापक समेत अभाव रहेको बताउँछन् । - बाह्रखरीबाट
Post a Comment