काठमाडौं, मंसिर १३ गते । हिन्दु धर्मावलम्बीहरुले आज बालाचतुर्दशी पर्व मनाएका छन् । बाला चतुर्दशीलाई शतबीज छर्ने दिनको रुपमा चिनिन्छ ।
मंसिर कृष्णपक्ष त्रयोदशीको दिन शिवालयहरुमा परिवारका मृतक सदस्यको सदगतिको संकल्पसहित दीपदान र शतबीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ ।
यसरी दीपदान गर्नाले पितृले सदगति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा आइतबार रातभर जाग्राम बसेर भजनकीर्तन गरेकाहरुले सोमबार प्रातःकालमा शतबीज छरे । शतबीज छर्नेहरुको पशुपति क्षेत्रमा घुइँचो थियो ।
शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ हुन्छन् । त्यसमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फल र विभिन्न किसिमका फूल पनि मिसाएर छर्ने गरिन्छ ।
काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा शतबीज छर्नेहरुको आज घुइँचो लागेको थियो ।
पशुपति क्षेत्रको बाला चतुर्दशीलाई तस्वीरमा हेर्नुहोस्
अनलाइनखबर
Post a Comment