केही दिनअघि शिक्षण अस्पताल, महाराजगञ्जमा एक महिला डा. सरोजराज वझाकहाँ पुगिन् । उमेरले ३० वर्ष हाराहारीमा देखिने उनको बानी थियो, हरेक काम दोहोर्याएर गर्ने ।
यही बानीका कारण उनको दैनिक जीवनका साथै वैवाहिक सम्बन्धमा समेत असर परेको थियो । कतिसम्म भने, कुरा डिभोर्ससम्म पुगेको थियो । उनको मनमा सधै एउटै मात्र कुरा खेल्थ्यो, ‘मर्ने’ । उनी सोच्थिन्, ‘जीवन यति नीरस भइसकेको छ, अब केही बाँकी छैन ।’
उनी सात वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी थिइन् । पछि उनका श्रीमान् पनि अस्ट्रेलिया पुगेका थिए । केही वर्ष त उनीहरुको वैवाहिक सम्बन्ध सुखमय नै रह्यो । तर, विस्तारै उनको बानीका कारण श्रीमान्सँग मनमुटाव सुरु हुन थाल्यो ।
कारण थियो, बाथरुममा एक घण्टा हराउने उनको बानी । हरेक पटक बाथरुम जाँदा उनी एक घण्टा लगाउँथिन् । बाथरुममा रहेका हरेक सामान उनलाई यथास्थानमै चाहिन्थ्यो । कुनै सामान दायाँ-बायाँ भयो कि उनी तत्काल गन्न थाल्थिन् ।
त्यति मात्र हैन, घरमा कोही पाहुना आइहालेमा उनलाई घर फोहोर होला भन्ने चिन्ताले निकै सताउँथ्यो । कतिसम्म भने, घरमा कोही पाहुुना आएमा उनी सोफाको खोल, तन्ना सबै झिकेर धुन थाल्थिन् । आफू कतै गएर घर आउनासाथ हात धुन थाल्थिन् ।
आफ्नै मनबाट उत्पन्न भएको विचार दोहोरिने समस्यालाई ‘ओसिडी’ (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर) भनिन्छ । आम जनमानसमा २ देखि ३ प्रतिशतसम्म देखिने यो समस्या मानसिक रोगमध्येको चौथो ठूलो हो
परिवारका सदस्यले यी लक्षणलाई सुरुमा त सामान्य रुपमै लिएको थियो । तर, यो क्रम दिनानुदिन बढ्न थालेपछि भने परिवारमा कलह बढ्यो । फलस्वरूप उनी श्रीमान्सँग बस्न नसकेर नेपाल फर्किइन् । उनको मुद्दा अहिले अदालतमा छ ।
उनी हाल माइती पक्षका साथ काठमाडौमा बस्दै आएकी छिन् । उनको माइतीले पनि यी लक्षणलाई सुरुमा त सामान्य रुपमै लिएको थियो । तर, समस्या देखिएपछि अन्ततः परिवारकै सदस्यको सुझावमा सामान्य उपचारका लागि शिक्षण अस्पताल पुर्याइएकी उनलाई लामो समयदेखि ‘ओसिडी’ (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर) अर्थात् विचार दोहोरिने रोग भएको पत्ता लाग्यो ।
उनी हाल अस्पतालका चिकित्सकको सल्लाहमा उपचार गरिरहेकी छिन् । चिकित्सक भन्छन्, नियमित औषधी सेवन तथा विहेवियर थेरापी मार्फत यो रोग सजिलै निको हुन्छ । त्यसको लागि रोगको पहिचान गर्न जरुरी छ ।
के हो ओसिडी ?
आफ्नै मनबाट उत्पन्न भएको विचार दोहोरिने समस्यालाई ‘ओसिडी’ (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर) भनिन्छ । आम जनमानसमा २ देखि ३ प्रतिशतसम्म देखिने यो समस्या मानसिक रोगमध्येको चौथो ठूलो हो ।
यो रोग लागेका मानिसको दिमागमा एउटै कुरा लगातार दोहोरिने गर्छ । यदि उसले दिमागमा खेले अनुसारको काम दोहोर्याउन नपाए निकै असहज महसुस गर्छ । सो काम नगरुञ्जेल अरु काम गर्नै नसक्ने अवस्थामा पुग्छ । सो काम गरेपछि उसलाई केही समयको लागि सहज महसुस त हुन्छ, तर निश्चित समयपछि उसको दिमागमा फेरि त्यही कुरा दोहोरिन थाल्छ ।
कसरी गर्ने पहिचान ?
विचार दोहोरिने समस्या जो कोहीलाई हुन सक्छ । यदाकदा त्यस्तो हुनु चिन्ताजनक विषय होइन । त्यसैले कसैमा यस्ता समस्या देखा पर्नासाथै आत्तिनु पर्दैन । तर, यस्तो समस्या बारम्बार देखिएमा भने विशेष ध्यान दिन जरुरी हुन्छ । यदि त्यसले तपाईंको दैनिक कार्यमै असर परेको छ भने मनोचिकित्सकसित परामर्श गर्नुपर्छ ।
के हो लक्षण ?
यदि कुनै व्यक्तिलाई एकै किसिमको विचार दोहोरिने गर्छ र उसले त्यो विचारलाई नियन्त्रण गर्न खोज्दाखोज्दै पनि सम्भव हुँदैन भने त्यो ओसिडीको लक्षण हो । यस्तो लक्षण २० वर्ष मुनिका मानिसमा पनि देखिन सक्छ । यो लक्षण भएका दुई तिहाई मानिसमा डिपे्रशनको सम्भावना बढी हुन्छ ।
यस्ता लक्षण भएका व्यक्तिहरु विचार अनुसारको व्यवहार देखाउँदै एउटै काम बारम्बार दोहोर्याउने गर्छन् । जस्तै, हात धुने, लुगा धुने, सामान गन्ने, प्रयोग गरिएका सामान सही ठाउँमा भए-नभएको याद गरिरहने आदि
यस्ता लक्षण देखा पर्ने प्रमुख दुई कारण हुन्छ, एउटा वंशाणुगत र अर्को मस्तिष्कबाट निस्कने रसायनिक पदार्थमध्ये सेरेटोनिनको कमीका कारण । कसैकसैमा व्यक्तिको स्वभावले पनि यस्तो लक्षण दर्शाउने गर्छ ।
यस्ता लक्षण भएका व्यक्तिहरु विचार अनुसारको व्यवहार देखाउँदै एउटै काम बारम्बार दोहोर्याउने गर्छन् । जस्तै, हात धुने, लुगा धुने, सामान गन्ने, प्रयोग गरिएका सामान सही ठाउँमा भए-नभएको याद गरिरहने आदि ।
उपचार विधि
यो रोग भएका व्यक्तिमा डिप्रेशनको खतरा बढी हुन्छ । जसले गर्दा कतिपय मानिस आत्महत्या गर्न अग्रसर हुन्छन् । यदि कोही मानिसलाई ओसिडी मात्र छ भने त्यसले खासै असर गर्दैन । तर, डिप्रेशन पनि देखिएमा भने भयावह स्थिति निम्तिन सक्छ ।
तनावका कारण ओसिडी भएमा पनि त्यसले समस्या उत्पन्न हुन सक्छ । उदाहरणका लागि, परिवारमा कसैले आत्महत्या गरेको छ र त्यसकै कारण परिवारको कुनै सदस्यमा ओसिडी देखियो भने पनि उसमा ‘मर्ने’ विचार बारम्बार उत्पन्न हुन गई आत्महत्याको सम्भावना बढ्दै जान्छ ।
हुन त एक तिहाई मानिसमा यो रोग स्वतः निको हुन्छ । त्यस्तै तीन जनामध्ये एक जनामा यो रोग लामो समयसम्म देखा पर्छ र डिप्रेशनका कारण आत्महत्याको जोखिम निम्तिन्छ । बाँकीलाई भने यो समस्या मध्यम खालको हुन्छ ।
खासगरी, पारिवारबाट सहयोग नपाएमा यो रोगले कडा स्वरुप लिन सक्छ । परिवार र समाजको साथ कम छ र व्यक्तिमा डिप्रेशनको लक्षण बढी छ भने उसलाई चिकित्सकको उपचार अनिवार्य हुन्छ ।
(यो लेख मनोचिकित्सक प्रा.डा. सरोजराज वझासितको कुराकानीमा आधारित छ । उनी हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मनोचिकित्सा विभागका प्रमुखका रुपमा कार्यरत छन् ।)-अनलाइनखबर
Post a Comment