बडा दशैं नेपाली मात्रकै महान् चाड हो । हरेक वर्ष शरद ऋतुमा पर्ने यस पर्वलाई देश–विदेश जहाँसुकै रहेबसेका भए पनि सारा नेपालीहरूले रमाइलोसित मनाउने गर्दछन् ।लेखक रिजाल
विशेषगरी आश्विनशुक्ल प्रतिपदाको दिन घटस्थापना गरी जमरा राखेर मनाउन शुरू गरिने यो पर्व दशमीको दिन विसर्जन गरी मान्यजनहरूको हातबाट शुभाशिषसहित टीका र जमरा लगाएपछि समाप्त गरिन्छ । तर कतैकतै त्यसपछि लगत्तै आउने पूर्णिमाको दिनसम्म पनि टीका र जमरा लगाई आशीर्वाद लिने चलन छ ।
शास्त्रीय परम्परा अनुसार यस पर्वमा नौ दिन नौ रातसम्म एकएक गरी नवदुर्गाको पूजा–उपासना हुने भएकाले यस पर्वलाई नवरात्र पर्व भन्ने गरिएको छ । यसो त ‘देवीभागवत’ महापुराणमा उल्लेख भए अनुसार माघ, चैत र असारमा गरी अन्य तीनवटा नवरात्रको पनि अस्तित्व भेटिन्छ । तर यतिबेलाको नवरात्रलाई नै प्रमुख नवरात्र भन्ने गरिएको पाइन्छ ।
नौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन अर्थात् दशौं दिन समाप्त हुने भएकोले यस पर्वलाई सामूहिक रूपले व्यावहारिक भाषामा दशैं भन्ने गरिएको तथ्य पनि स्मरणीय नै छ । असत्यमाथि सत्यको विजय हुन्छ भन्ने मान्यताले मनाइने यस पर्वको शास्त्रीय महत्व जति छ धार्मिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक महत्व पनि आफ्नो स्थानमा त्यति नै छन् ।
शास्त्रीय पक्ष
दुर्गा उपासना सम्बन्धी विभिन्न ग्रन्थहरूमा उल्लेख भए अनुसार यस पर्वको पहिलो दिन अर्थात् आश्विनशुक्ल प्रतिपदाको दिन बिहान दियो, कलश, गणेश पूजा गरी घटस्थापना गरिन्छ र विधिपूर्वक दुर्गा स्थापना गरी पूजा गरेर जमरा राख्ने शास्त्रीय विधान छ ।
नवरात्रमा पूजा गरिने माता दुर्गाको नौ रूपमध्ये पहिलो दिन पूजा गरिने शक्तिको नाम शैलपुत्री हो । पूजाको कृत्य सकिएपछि दुर्गाकवच, चण्डी सप्तशती आदिको पाठ, हवन र बलिदान गर्ने परम्परा छ । बलिदानमा कुभिण्डो, नरिवल, उखु, काँक्रो, मूला, बेल आदिको प्रयोग हुने गर्दछ । त्यसपछि साँझमा आरती गरेपछि त्यस दिनको कृत्य समाप्त हुने गर्दछ ।
यसपछि अन्य दिनको पनि पूजाको विधान यही बमोजिम नै तोकिएको छ । तर त्यसपछिका दिनहरूमा पूजा गरिने दुर्गाको स्वरूपमा भने क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्घिदात्री आदि रहेका छन् ।
यस अवधिका थप कृत्यमा छैटौं दिन साँझ भोलिपल्ट फूलपाती ल्याउँदा सँगै ल्याउनुपर्ने बेललाई निमन्त्रण गर्नुपर्ने हुन्छ भने सप्तमीको दिन बिहान सरस्वतीको पूजा गरी दिउँसो ल्याइएको फूलपातीलाई साँझपख भित्र्याइने र माता भद्रकालीको छुट्टै पूजा गर्ने शास्त्रीय परम्परा छ ।
त्यस्तै अष्टमीको दिन कालरात्रिको विधान, नवमीको दिन त्रिशूलिनीदेवीको पूजा र दशमीको दिन जया विजयाको साथमा अपराजिता देवीको पूजा गर्नुपर्ने परम्परा पनि यस अवधिका अन्य थप कृत्यमा पर्दछन् ।
धार्मिक पक्ष
यसरी नौ दिनसम्म शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी दशमीको दिन मान्यजन एवं गुरुजनहरूको हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउनाले वर्षदिनसम्म दुःख, दुर्भिक्ष, दुर्भाग्य निवारण भई प्रेम, सद्भाव र आयु, आरोग्य वृद्घि हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
जहाँसम्म दुर्गापूजाबाट के कति धर्म हुन्छ त भन्ने प्रश्न छ, त्यसको भने ठोस मापन नभएकोले यसै भन्न त सकिन्न । तर देवी, देवताको पूजा र त्यतिबेला अपनाउनुपर्ने नियम तथा खानपान र आहारविहार आदिको सन्तुलित व्यवस्थाले मन, वचन र कर्म शुद्घ हुने भएकाले यस्तो अवस्थामा पापकर्मबाट बच्न सकिने कुरोलाई भने बिर्सन सकिन्न ।
संसारमा जति पनि पाप हुन्छन् मन, वचन र कर्म बिग्रिएर नै हुन्छन् । अनि मन, वचन र कर्म बिगार्नलाई खानपान र आहारविहारले निकै सघाएको हुन्छ । यतिबेला आहारविहारको सम्बन्धमा धर्मशास्त्रले नै अनुशासित बनाउने प्रयास गरेकोले त्यस्तो अवस्थामा आहारविहारको कारण मन, वचन र कर्म बिग्रने त प्रश्नै आउन्न ।
जब मन, वचन र कर्म बिग्रेर पापकर्म हुन पाउँदैन त्यस्तो अवस्थामा धर्म हुन्छ भन्नु पनि अस्वाभाविक होइन ।
सांस्कृतिक पक्ष
दशैं पर्वको सांस्कृतिक पक्षको कुरो गर्दा यसलाई नेपालीपन र परम्पराको जीवन्त धरोहरकै रूपमा लिनुपर्ने हुन्छ । हुनत दशैं पर्वलाई हिन्दु संस्कृतिको उपज भएकोले यो हिन्दुहरूको मात्र पर्व हो भन्ने भनाई पनि हिजोआज यदाकदा उठ्ने गरेको पाइन्छ । तर यथार्थ भने योभन्दा नितान्त भिन्न छ । हिन्दुहरू त विश्वका अन्य मुलुकमा पनि पाउन सकिन्छ । तर नेपालमा जसरी दशैं पर्व मनाइन्छ, त्यो परम्परा निस्सन्देह नेपालीहरूमा मात्र सीमित छ र जुनसुकै वर्ण सम्प्रदायका भए पनि सारा नेपाली मात्रले नै यस पर्वलाई उत्तिकै श्रद्घापूर्वक मनाउँदै आएका छन् ।
त्यसैले समग्रमा नेपाली मात्रकै राष्ट्रिय पर्व हुन पुगेको छ दशैं । स्वभाविक रूपमा जहाँसुकै रहेबसेका भएपनि निधारमा रातो टीका र कानमा पहेंलो जमरा देख्नेबित्तिकै त्यहाँ नेपाल र नेपालीपनको सुवास आउने गर्दछ । यस अर्थमा भन्नुपर्दा यस पर्वले समग्र राष्ट्रकै पहिचान बोकेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।
हुन त सबै नै संस्कृतिले धेरथोर राष्ट्रिय पहिचान बोकेकै हुन्छन् । तथापि दशैं पर्वको कुरो गर्दा यसको विशेषता भिन्दै छ भन्न कदाचित् हिचकिचाउनुपर्दैन । मानिस काम विशेषले जहाँ सुकै पुगेका नै किन नहोस्, रातो टीका र पहेंलो जमरा देख्नेबित्तिकै आफन्तको साथमा बसेर दशैं मानी पिङमा चचहुई गरेको सम्झना सम्भवतः सबैलाई भएकै हुनुपर्छ । यिनै विविध वास्तविकताले गर्दा यस पर्वको सांस्कृतिक महत्व निकै उचाइमा रहेको प्रस्ट हुन्छ ।
सामाजिक पक्ष
दशैं पर्वको सामाजिक महत्व पनि त्यति नै शिखरमा देखिन्छ । काम विशेषले जहाँसुकै पुगेका भएपनि सारा नेपालीहरू आफूभन्दा सानालाई आशीर्वाद दिन र ठूलाबाट आशीर्वाद लिन सकेसम्म घर जानेआउने प्रयास गर्दछन् । यस अर्थमा भन्नुपर्दा यस पर्वलाई जहाँसुकै रहेबसेका भए पनि सारा नेपालीलाई वर्षको एकपटक आफन्तसँग भेटघाट गराउन सहयोग पु¥याउने महत्वपूर्ण कडीको रूपमा त यसै पनि लिन सकिन्छ ।
सानालाई शुभाशिष दिने र ठूलाबाट लिने परम्पराले यदि कोही कसैमा वर्षदिनभरिको अवधिमा टोल, छिमेक, एवं आफन्तहरू र परिवारजनबीच कुनै रिस, राग वा द्वेष पलाउन गएको रहेछ भने त्यसलाई मेटाएर प्रेम र सद्भाव वृद्घि गर्ने पर्वको रूपमा समेत लिन सकिन्छ । आज विविध कारणवश (कारण जे पनि हुन सक्छ । अहिलेको परिवेशमा त्यतातिर नजान नै वेश होला) आपसमा के कति द्वेष, कलह र भाइभाइबीच पाएसम्म एकले अर्कोलाई सिध्याउने प्रवृत्ति हावी हुँदै आएको छ भनिरहन पर्दैन । यस्तो परिप्रेक्ष्यमा दशैं पर्वको महत्व हिजो जति थियो, आज त्योभन्दा पनि बढी रहेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।
दशैं मान्ने हाम्रो आफ्नै किसिमको मौलिक र आर्ष परम्परा छ । यसैको कारण विदेशिएको छोरो घर आउँछ । वर्षदिन अघिदेखि परदेश गएको श्रीमानको घर फर्किने बाटो हेरेर बसेकी श्रीमतीले न्यानो भेट पाउँछिन् । पितृघर छोडी पतिघरलाई नै आफ्नो घर मानी बसेकी त्यागकी प्रतिमूर्ति तथा माया र ममताकी खानी चेलीले माइतीको दर्शन पाउँछिन् ।
दशैंले घर, परिवार, टोल, छिमेक र आफन्तजनहरूबीच द्वेष र कलहको तुष फाली प्रेम र सद्भाव जगाउँछ । सम्भवतः संसारमा यति बढी विविध पक्षको धनी पर्व खोजिपसे अन्त कतै पनि पाउन सकिन्न । यसबाहेक यसबाट धेरथोर आन्तरिक र बाह्य पर्यटनमा सहयोग पुगिरहेको तथ्यलाई पनि बिर्सन मिल्दैन ।
आध्यात्मिक पक्ष
दशैं पर्वको आध्यात्मिक पक्षको उठान गर्दा वा यसलाई केलाउँदा मौसम विज्ञान, शरीर विज्ञान र व्यवहार विज्ञान आदि क्षेत्रलाई सँगै जोडेर हेर्नुपर्ने हुन्छ । जस्तो, यतिबेलाको समय भनेको ऋतुपरिवर्तनको समय हो । बडा दशैं पर्व शरद ऋतुमा पर्दछ । शरद ऋतुको समय भनेको प्रकृतिको त्यस्तो सन्धि समय हो जसले गर्मी (तातो) समय र शीत (चिसो) समयलाई जोड्ने पुलको काम गरिरहेको हुन्छ । यतिबेलादेखि नै प्रकृतिमा बिस्तारै गर्मी सकिएर जाडो आउन शुरू गरेको हुन्छ ।
यस्तो अवस्थामा जसरी मौसममा परिवर्तन आइरहेको हुन्छ, त्यसैगरी शरीरले पनि त्यसलाई पचाउन सोही अनुसार तयारी अवस्थामा रहनुपर्ने हुन्छ । अन्यथा मौसममा आएको परिवर्तनलाई शरीरले पचाउन नसकी रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले यस पर्वले यतिबेला अपनाउनुपर्ने खानपान र व्रतोपवासको माध्यमबाट शरीरलाई सोही अनुसार परिवर्तनको अवस्थामा ल्याउन खोजेको देखिन्छ ।
विशेषतः यतिबेला नौ दिनसम्म शक्ति उपासना गर्न राखिएको प्रावधानले पनि यही तथ्य उजागर गर्दछ । अर्थात् यतिबेला शक्ति उपासना गर्नुपर्ने प्रावधान राखिनुको आशय सोही मौसममा आएको परिवर्तनलाई पचाउन आवश्यक शक्तिको खोज गर्न लगाउनु नै रहेको बुझिन्छ र यतिबेला जुन किसिमको आहारविहार र खानपानको नियम तोकिएको छ, यसलाई मनन गर्दा पनि यही नै तथ्य उजागर हुन आउँछ ।
विशेष गरी नवरात्रको नौ दिनमा नवदुर्गा अर्थात् माता भगवतीको नौ रूपको पूजा गरिन्छ । यसमध्ये पहिलो दिन शैलपुत्री नामक दुर्गाको पूजा गर्ने परम्परा छ । शैलपुत्री भनेको पहाडकी छोरी हो । पहाडकी छोरी भन्नाले यस शक्तिलाई पृथिवीतत्वको प्रतीकको रूपमा लिन सकिन्छ । हाम्रो स्थूल शरीरको निर्माणमा पृथिवी तत्वको विशेष स्थान रहेको छ । शैलपुत्रीको उपासना गर्नु भनेको प्रतीकात्मक रूपले सोही स्थूल शरीरको संरक्षणको प्रयास हो भनेर बुझ्नुपर्ने हुन्छ ।
दोस्रो दिन ब्रह्मचारिणी शक्तिको उपासना हुन्छ । ब्रह्मचारिणी भनेको ब्रह्मचर्य अर्थात् मेधा शक्तिको प्रतिनिधि स्वरूप हो । शरीरलाई मौसम अनुसार स्वस्थ रहन सदैव ब्रह्मचर्यको कति आवश्यकता पर्दछ भनिरहन पर्दैन । ब्रह्मचारिणी शक्तिको उपासनालाई सोही मेधाशक्ति संरक्षणको प्रयासको रूपमा लिनु समीचिन हुनेछ ।
तेस्रो दिन चन्द्रघण्टा शक्तिको उपासना हुने कुरो माथि प्रस्ट भइसकेको छ । चन्द्रघण्टालाई शब्दशक्ति अर्थात् आकाश तत्वको प्रतीकको रूपमा लिन सकिने प्रशस्त आधार भेटिन्छ । शरीरलाई व्यावहारिक बनाउन शब्दशक्तिको पनि त्यति नै आवश्यकता पर्दछ । चन्द्रघण्टाको उपासनाले पनि यथार्थमा यही नै वकालत गरिरहेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।
चौथो दिन कुष्माण्डा शक्तिको उपासना हुन्छ । कुष्माण्डा भनेको कुभिण्डो अर्थात् वनस्पति जगतको प्रतिनिधि स्वरूप हो । यसको उपासनाबाट मानिसको खाद्य आहार समग्र वनस्पति जगतलाई नै रसिलो, स्वादिलो र पोसिलो बनाउन खोजेको देखिन्छ ।
त्यस्तै पाँचौ दिन स्कन्दमाता शक्तिको उपासना गरिने प्रावधान छ । स्कन्दमाता भन्नाले वनस्पति जगतको पनि अधिष्ठात्री शक्ति भन्ने बुझिन्छ । यस्तो परिप्रेक्ष्यमा स्कन्दमाता शक्तिको उपासना भनेको सोही वनस्पति जगतको अधिष्ठात्री शक्तिलाई नै मजबुत बनाउने प्रयास नभएर के नै होला र ।
छैठांै दिन पूजा हुने कात्यायनी शक्तिलाई विद्या तत्व र सातौं दिन पूजा गरिने कालरात्री शक्तिलाई अज्ञान, अन्धकार र मोहनाशक शक्तिको रूपमा लिन सकिन्छ । जीवनलाई स्वस्थ र फुर्तिलो पारी सदैव अग्रगति प्रदान गर्न यी तत्वको आवश्यकता कति पर्दछ त्यो आफैंमा नै प्रस्ट छ ।
आठांै दिन पूजा गरिने महागौरीलाई बुद्घि तत्व र नवौं दिन पूजा गरिने सिद्घिदात्री शक्तिलाई गरिएको कामलाई सफल बनाउने शक्ति वा कार्य सफल भएको अवस्थाको प्रतीकको रूपमा लिन सकिन्छ । आखिर विद्या र बुद्घिले समन्वित भई अज्ञानको अँध्यारोबाट माथि उठ्न सकिएको अवस्थामा नै काममा सफलता अर्थात् सिद्घि पाउनसकिने व्यावहारिक यथार्थकै कुरो पनि हो ।
यसरी यस पर्वले शरीरलाई स्वस्थ र निरोगी राख्ने प्रयास गर्दै उसका समग्र आवश्यकता पूरा गर्नेसम्मको उदात्त परम्परा बसाएको देखिएकोले आध्यात्मिक दृष्टिकोणबाट भन्नुपर्दा यो पर्व सबैको लागि र सधैंको लागि परम आवश्यक छ भन्नैपर्ने हुन्छ । - कमल रिजाल , लोकान्तरबाट
Post a Comment