Websoft University

www.radiomakalu.com || 021-522512


पर्यटनको नयाँ ‘प्रोडक्ट’ स्कीको व्यावसायिक प्रवद्र्धन

स्नोबोर्डिङको लागि तस्बिर परिणाम


काठमाडौं, असोज २० । सर्वोच्च शिखर सगरमाथासहित अग्ला हिमाल र चुलीको पहिचान बोकेको नेपालमा पर्यटनको नयाँ आकर्षणका रुपमा स्की खेलको व्यावसायिक अभ्यास शुरु भएको छ ।

साहसिक पर्यटनको आधार रहेको स्की हिउँमा चिप्लिएर खेलिने साहसिक एवम् रोमाञ्चक खेल हो । यसको व्यावसायिक प्रवद्र्धनका लागि सरकारी तथा निजी क्षेत्र लागिपरेका छन् । हिमालको आधारशिविर, चुली एवम् हिमाली क्षेत्रमा हिउँ पाइने भएकाले स्की तथा स्नोबोर्डिङ खेलको विकास गरेर पर्यटक आकर्षित गर्न नेपाल माउण्टेन एकेडेमी र स्की तथा स्नोबोर्डिङ प्रतिष्ठान नेपालमा आबद्ध युवा लागिपरेका हुन् । उनीहरुले विदेशीको सहयोगमा तालिम चलाउँदै स्की स्कुल स्थापनाको काम पनि अघि बढाएका छन् ।

यो प्रयासलाई साथ दिएका छन् जर्मनीका जुलियस सेइडेन्डर र ज्याकोव थाउले । क्यानडाबाट अन्तरराष्ट्रिय मान्यता प्राप्त जुलियस स्की र स्नोबोर्डिङ तथा ज्याकोव स्नोबोर्डिङका प्रशिक्षक हुन् । नेपालमा स्की तथा स्नोबोर्डिङसम्बन्धी प्रशिक्षण दिँदै आएका जुलियसले स्कीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताए । ‘स्की तथा स्नोबोर्डिङका लागि नेपाल सम्भावनायुक्त गन्तव्य हो । नेपालमा पर्यटक आकर्षित र प्रवद्र्धन गर्ने साहसिक खेलका रुपमा विकास गर्न सकिन्छ, यसका लागि दक्ष जनशक्ति उत्पादन गर्न जरुरी छ’ जुलियस भन्छन् ।

अष्ट्रियासहितका देशमा स्की सिकाउने गरेका जुलियसले नेपालको हिमाली क्षेत्रमा प्राकृतिक रुपमै मूख्य हिउँ पाइने भएकाले साहसिक खेलका रुपमा यसको विकास गर्न सकिने धारणा राखे । उनीसहितको टोलीले हालै सोलुको मेरा पिक (६ हजार ४ सय ६५ मिटर) मा छ जना पदयात्रा पथप्रदर्शकलाई २० दिने स्की तालिम दिएको छ । पहिलो स्की एक्सपिडिसनमा नेपाल माउण्टेन एकेडेमीले सहयोग गरेको थियो । मेराला भञ्ज्याङबाट चुलीतर्फ भएको प्रशिक्षणमा हिउँ पहिरोमा गरिने उद्धारसहित खेलको व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको प्रतिष्ठानका कोषाध्यक्ष सुरज काफ्लेले बताए ।

‘एक प्रकारको यन्त्र (डिभाइस) समेत हुने भएकाले आरोही हिउँमा पुरिँदा पत्ता लगाउन सकिनेखालको उद्धार विधि र स्की एवम् स्नोबोर्डिङका नयाँ र पुराना तरिकासहितको प्रशिक्षण दिइन्छ ।’ काफ्लेले भने । यसका लागि झन्डै रू. आठ लाख खर्च भएको छ । प्रतिष्ठानको अगुवाईमा गत फेबु्रअरीमा ३५ जना पथप्रदर्शक तथा होटल व्यवस्थापनका विद्यार्थीलाई स्कीसम्बन्धी तालिम दिइएको थियो । आगामी मङ्सिरमा ‘लाङ्टाङ हिमालय स्की ट्रेल’ र माघमा दोलखाको रोलवालिङ वा अन्नपूर्ण वेस क्याम्पमा आयोजना गरिने कोषाध्यक्ष काफ्लेले बताए ।

स्कीको व्यावसायिक सम्भावना रहे तापनि त्यहाँसम्म पुग्ने सडक सुविधा नहुनु, स्कीबारे जनचेतना अभिवृद्धि र जनशक्ति अभावजस्ता चुनौती छन् । स्कीको व्यावसायिक सम्भावनालाई मध्यनजर गरी माउण्टेन एकेडेमीले पूर्वाधार निर्माणका काम अघि बढाएको छ ।

एकेडेमीकीका कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पाले नेपालमा दुई वर्षदेखि स्कीको सम्भाव्यता अध्ययन गरी १७ जनालाई तालिम दिइएको बताए । ‘नेपालमा हिमाल छन् तर यहाँ के कस्ता गतिविधि हुन्छन् भन्ने संसारलाई थाहा छैन, त्यसैले भविष्यमा स्की पर्यटनको ठूलो सम्भावना छ, यो पर्यटक बढाउने आधार हो ।’ उनले भने ।

के हो स्की तथा स्नोबोर्डिङ ?

स्की धेरैथरिका छन् यो हिउँमा चिप्लेटी खेल्ने साहसिक तर रोमाञ्चक खेल हो । यो खेलका लागि कुनै उमेर समूह पेसाले छेक्दैन । हिउँपर्ने स्थान जहाँ पनि खेल्न सकिन्छ । खेलका लागि स्की स्किन, स्की स्टिक, स्की बुट, स्नोबोर्डजस्ता सामग्री आवश्यक पर्छ । हिमाली देश नेपालमा स्कीको प्रचुर सम्भावना रहेकाले वर्षको छ÷सात महीना हिउँ पर्ने ठाउँमा स्कुल नै खोल्ने प्रयास भएको प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले बताए । सन् २०११ मा जुलियस र ज्याकोवले पहिलोपटक नेपालमा स्कीको सम्भावनाबारे अध्ययन गरेका थिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget