Websoft University

www.radiomakalu.com || 021-522512


नारायणगढ–मुग्लिन सडकखण्ड सहज




चितवन, असोज १७ गते । यस वर्षको वर्षात्को समयमा निकै दुःख दिएको नारायणगढ–मुग्लिन सडकखण्डमा दसैँको यात्रा भने सहज हुने भएको छ ।

देशको मुख्य जीवनरेखाका रुपमा परिचित यो सडकखण्ड विस्तार कार्य थालेसँगै डेढवर्षयता यात्रुले हैरानी व्यहोर्दै आएका छन् । मुख्यरुपमा राजधानीबाट बाहिरिने लाखौँ सर्वसाधारणलाई लक्षित गर्दै दसैँको यात्रा सहज बनाउन दुई हप्तायता सरकारी र निजी क्षेत्र संयुक्त रुपमा जुटेका थिए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सडकमा भएका खाल्टाखुल्टी पुरिएका छन् भने खाल्टो परेका कालोपत्रे सडकमा पनि गिट्टी भरेर कालोपत्रे गरिँदैछ । आँपटारीचोक, जुगेडी, गाईघाट र मुग्लिन नजिक सो कार्य भइरहेको उहाँले बताउनुभयो । धुलो कम गर्न तीनवटा ट्याङ्करले पानी छर्किने कार्य गरिरहेको छ ।

यातायात आवागमन नरोकिने गरी मात्रै काम गरिएको छ । सो सडकको दासढुङ्गा मोडको पहाड काट्नका लागि छोडिएको ढिस्को पनि सफा गरेर दुईतर्फी सवारी सञ्चालन हुने गरी काम गरिएको छ ।

पहिरो खसेमा तत्काल पन्छाउनका लागि तीन लोडर, तीन ग्रेडर, तीन ट्रिपर, तीनवटा पानीट्याङ्क र १८ जना जनशक्ति तयारी अवस्थामा राखिएको खनालले बताउनुभयो । सडकमा गाडी बिग्रिएमा तत्काल किनारा लगाउने काम गरिने उहाँले बताउनुभयो ।

सो सडकको अत्यधिक पहिरो खस्ने ११ ठाउँमध्ये १० वटा ठाउँमा ४० दिनयता पहिरो नखसेको खनालले बताउनुभयो । सडकका ४८ ठाउँमा पहिरो खस्न सक्ने जोखिम भए पनि ११ ठाउँमा भने अत्यधिक पहिरो खस्ने गरेको थियो । मुग्लिनबाट चार किमी नारायणगढतर्फ चोर खोलाबाहेकका ठाउँमा पहिरो खस्न रोकिएको उहाँले बताउनुभयो ।

पहिरोका कारण यसवर्षको वर्षात्मा सो सडकखण्ड १४ घन्टासम्म अवरुद्ध भएपछि यात्रु तर्सिएका थिए । इञ्जिनियर खनालका अनुसार सो सडकखण्डमा हिजो र अस्ति दुई दिन लगाएर २५ वटा विभिन्न गाडीको यात्रा दूरी सर्वेक्षण गरिएको थियो । सो क्रममा पाँच बस, पाँच माइक्रोबस, नौ ट्रक र छवटा साना सवारीको सर्वे गरिएकामा औसत समय एक घन्टा ४० मिनेट लागेको थियो ।

साना सवारीले एक घन्टा हाराहारीमा सडकखण्ड पार गरेका थिए भने मालबाहक ट्रक र बसले दुई घन्टा हराहारीको समय लगाएको उहाँले बताउनुभयो । ती सवारीलाई बिहान, दिउँसो र बेलुकाको समय मिलाएर औसत समय मापन गरिएको उहाँले बताउनुभयो ।

सवारी साधनको सहज आवागमन गर्न स्थानीय प्रशासनले पनि सहकार्य गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले सडकमा प्रहरी निरीक्षकको नेतृत्वमा २४सै घन्टा सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।

जुगेडी र अस्थायी प्रहरी पोस्ट सिमलताललाई अधिक परिचालन गरिने उहाँले बताउनुभयो । रात्रिकालीन समयमा हतियारसहित प्रहरी सवारी साधनमा राखी भरतपुर–मुग्लिन र मुग्लिन–भरतपुरसम्म स्कर्टिङ गराउने व्यवस्थासमेत गरिएको उहाँले बताउनुभयो ।

दुर्घटना नहोस् भन्नका लागि सो सडकका ३२ ठाउँमा प्यारापिट बनाउन थालिएकामा ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । पुलको रेलिङ र फलामको पाता राख्ने काम भने दसैँपछि गरिनेछ । ट्राफिक सङ्केत राख्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

सो सडक हुँदै औसतमा दैनिक नौ हजार सवारी साधन आवागमन गर्ने गर्दछन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget