लागू औषध कारोवारमा पक्राउ परेका ललितपुरका ३२ वर्षीय प्रमोद खत्री (नाम परिवर्तन) का आमा, बुवा र श्रीमती थिए उनीहरु ।
छोरा/श्रीमान लागुऔषध कारोवारको अभियोगमा पक्राउ परेकोमा उनीहरुलाई पीर परेको होइन । उनीहरुलाई पिरलो छ लागुऔषधको दुव्र्यसनमा फसेका प्रमोदले प्रहरी हिरासतमै ज्यान फाल्ने हुन् कि भन्ने । हातमा हत्कडी लगाएर डीआइजी जयबहादुर चन्द सामु उभिएका प्रमोद आफ्नो ज्यान थाम्न सक्ने अवस्थामा थिएनन् ।
लागुऔषध बिक्री गर्ने गरेको आरोपमा पक्राउ परेका उनी आफैं त्यस्ता दुव्र्यसनी हुन् जो अहिले लागुऔषधविना बाँच्नै सक्तैनन् ।
प्रमोद १७ वर्षदेखि लागुऔषध दुव्र्यसनमा यसरी फँसे कि परिवारको सम्पत्ति मात्रै सकिएन, सुधारगृहमा राखिएका उनको ज्यान जोगाउनै मुस्किल भयो ।
सुधार गृहमा धाराको टुटी नै खाइदिए लागुऔषध दुर्व्यसनमा फसेको छोरालाई सुधार्न बाबुआमाले ८ पटक सुधारगृहमा लगिसकेका छन् । तर कुनै सुधार आएन ।
करिब ६ वर्षअघि बाबुआमाले एक्लो सन्तान सुधि्रन्छ कि भनेर बुढानिलकण्ठ स्थित नार्कोनन नेपाल नामको सुधार गृहमा पुर्याएका थिए । छोरालाई नार्कोननको जिम्मा लगाएर खत्री दम्पती फर्किए । सुधार गृहले आफनो शैलीमा उपचार पनि सुरु गर्यो । तर प्रमोद लागूऔषधका लागि चिच्याउन कराउन थाले । लागुऔषध विना वाँच्नै नसक्ने अवस्थामा पुगेका उनले नार्कोननको बाथरुमा गएर धाराको टुटी फुटाइदिए । त्यति मात्र होइन, फुटाएर निकालेको टुटी नै निलिदिए । धाराको टुटीसँग निस्किएको किला समेत निलिदए ।
‘मलाई लागुऔषध चाहिएको थियो, नपाएपछि धारो फुटाएर खाइदिएँ । त्यसले मेरो घाँटीदेखि पेटसम्म छिया-छिया बनाएछ । समयमा उपचार पाएर बाँचे,’ प्रमोद आफैंले सुनाए ।
निलेको टुटी र किला निकाल्न आफ्नो शरिरको पाँच ठाउँमा चिरिएको र घाँटीमा निल्नको लागि प्लाष्टिकको नलि हालिएको उनले बताए । लागुऔषधकै लागि आफ्ना सम्पूर्ण गहनाहरु बिक्री गरिसकेको उनले सुनाए । ‘मसँग बिक्री गर्न बाँकी केही कुरा छैन । टिचिङ अस्पतालमा जागिरे श्रीमतीको तलब पनि मैले लागुऔषध खाएर सिध्याएँ,’ उनले भने ।
यसरी फसे कुलतमा
करिब १७ वर्ष अघि पाँच कक्षामा अध्ययन गर्दा खत्रीले चुरोट खान सिकेका थिए । उनले भने ‘अरुले चुरोट खाएको देख्दा स्मार्ट जस्तो लाग्ने, त्यसैले मैले पनि चुरोट खान सिकेँ ।’
उनले ६ कक्षा पुग्दा गाँजा खान थाले । गाँजा खाने क्रम १० कक्षासम्म चल्यो । बाबुले चलाएको रक्सिको डिलरबाट रक्सि चोरेर लैजाने र बिक्री गरेर गाँजा खाने पैसाको जोहो गर्थे ।
दस कक्षामा पुगेपछि केही समय गाँजा खान छोडे । तर कलेज जीवन सुरु हुन नपाउँदै प्रमोदको शरीरले फेरी लागुऔषध माग्न थाल्यो । उनले नाइट्रोजन ट्याब्लेट खान सुरु गरे । त्यसपछि उनी लागुऔषध दुव्र्यसनी मात्रै भएनन्, लागुऔषध खाने पैसा जोहो गर्न कारोवारी नै भए ।

ब्युरोका एसएसपी गणेश केसीका अनुसार उनले १० ग्राम, १२ ग्राम खैरो हेराइन ल्याउने र सानो पुरिया बनाएर एक डोजका दरले बिक्री गर्ने गरेका थिए । ‘एक पुरियामा एक डोज हुँदो रहेछ, त्यसको पाँच सयका दरले बिक्री गर्ने गरेको भेटियो । यसरी लागुऔषध खरिद गर्ने उनका १५ जना नियमित ग्राहकहरु रहेछन्,’ एसएसपी केसीले भने ।
प्रमोदसँग लागुऔषध खरिद गर्न आउनेले पैसाको अभावमा मोबाइल, घडीदेखि महंगा सामानसमेत धरौटी राख्ने गरेको भेटिएको छ । ब्युरोले त्यसरी एक डोज खैरो हेरोइनका लागि धरौटी राखिएका १७ वटा मोबाइल समेत उनको साथबाट बरामद गरेको छ । अधिकांश कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले बाबु आमाको मोबाइल चोरेर ल्याउने र धरौटी राखेर खैरो हेराइन लैजाने गरेको एसएसपी केसीले बताए ।
प्रमोदले ग्राहक बनाएका १० जनालाई ब्युरोले पक्राउ गरिसकेको छ । जसमा अवकाश प्राप्त सैनिक जवानदेखि विद्यार्थीसम्म छन् ।
लागुऔषध कारोवारीभन्दा प्रयोगकर्ताको अवस्था निकै डरलाग्दो देखिएको ब्युरोका डीआइजी जयबहादुर चन्द बताउँछन । ‘एउटा दुव्र्यसनीले १० जनालाई फसाएको तथ्य यहि घटनाले उजागर गरेको छ, यसले हाम्रो एउटा पुस्तालाई नै सखाप बनाउने अवस्था निम्तिन सक्छ,’ डीआइजी चन्दले भने ।
छोराछोरी दुर्व्यसनी भएको कसरी थाहा पाउने ?
आफ्ना छोराछोरी लागुऔषध दुव्र्यसनमा फँसेको कसरी थाहा पाउने ? एसपएसपी गणेश केसीका अनुसार छोराछोरी एक्लै बस्छन्, समयमा खाँदैनन्, टोलाइरहने गर्छन् र अरु अस्वभाविक व्यवहार गर्छन् भने उनीहरु लागुऔषध दुर्व्यसनमा फसेको हुन सक्छन् ।
त्यस्तै आवश्यकभन्दा बढी पैसा माग्ने, लामो समय शौचालयमा बिताउने, एकान्तमा बस्न खोज्ने अथवा आफनो कोठामा अभिभावकलाई जान नदिने जस्ता व्यवहार देखाए भने पनि सचेत हुनु पर्ने एसएसपी कसीको सुझाव छ । - अनलाइन खबरबाट
Post a Comment