Websoft University

www.radiomakalu.com || 021-522512


निमोनियालाई नाग लागेको, प्रेसर बढेकोलाई पिचाश !




डा. पुष्पमणि खराल
नमस्कार आमा ! के समस्या लिएर आउनुभएको ? (हातको निलो डाम देखाउँदै) जान्नेले भनेको बोक्सीले टोकेको रे बाबु ! दुइ वटा भाले चडाइसके अझै निको भाछैन । हेर्नुस आमा बोक्सी भन्ने हुँदैन, रगतको अथवा रक्तनलीको कुनै रोग हुन सक्छ । तपाईले कुनै औषधीहरु खानु भएको छ ? छैन बाबु केही खाएको छैन ।

रगत जाँच्नु पर्छ आमा । हस् बाबु त्यसो भए जाच्नुस् मेरो रगत ।

एक घण्टापछि ः आमा रिपोर्ट आयो । तपाईलाई बधाई छ, रोग केही पनि देखिएन । सायद तपाईलाई थाहा नपाउने गरी चोट लागेको हुनुपर्छ । गाउँघर तिर मेलापात गर्दा वा सुत्ने बेलामा हात कतै ठोकिएको हुनुपर्दछ । खै बाबु, त्यस्तो त केही थाहा भएन । २÷३ हप्तापछि फेरी भेट्न आउनुहोला आमा । त्यस वेलासम्म निलो डाम नहराएमा वा बढेमा थप जाँच गर्न ठुलो अस्पताल जानुपर्छ । जानुअघि तपाईलाई केही भन्नुछ आमा ?

‘बाबु ! किन–किन मलाई त बोक्स मै शंका छ’ उनले भनिन् ।

मैले काम गर्ने अस्पताल नजिकै झारफुक गर्ने (जान्ने) एक महिला बस्छन् । विहानदेखि साँझसम्म ठुलो भिड लाग्छ । जस्तो बिरामी गएपनि निधारमा खरानी रंगको टिका र कम्मरमा बुटी लगाइदिने रैछिन । अचम्म त के भने, मेरै अस्पतालमा भर्ना भएका बिरामी पनि सुरक्षा गार्डको आँखा छलेर सुटुक्क उनी कहाँ जाँदा रैछन् । साँझ राउण्ड गर्न जाँदा धेरैको निधारमा उनै जान्नेको टिका देखिन्थ्यो । मैले भनें ‘तपाईहरु झारफुकको लागि बाहिर जानुभएको रहेछ । अस्पतालका कर्मचारी कसैलाई थाहा नै नदिई यसरी जानु हुँदैन । हेर्नुहोस्, तपाईहरुको झारफुक प्रतिको विश्वासलाई हामीले विरोध त गर्दैनौ तर अस्पतालमा भर्ना भएको अवस्थामा विना जानकारी कतै नहिँड्नुहोला ।’ मैले जिज्ञासा सहित सोधें, ‘जान्नेले के भन्नुभयो त ? निमोनिया भएको बिरामीको आमाले भनिन् “नाग लागेको छ रे”। मैले सोचें, अशिक्षा र अन्धविश्वासले गाँजिएको समाजको दोष हो यो, उहाँहरुको होइन ।’

जसले स्वास्थ्य सम्बन्धि केही अध्ययन गरेका हुँदैन, रोगको ए वि सि डी थाहा हुँदैन, उनीहरुलाई जान्ने भनिन्छ। भmारफुक गर्नेहरुको भरपर्दा धेरै बिरामीहरुको अकालमा मृत्यु भएको छ । झाडापखाला लागेका बिरामीलाई पानी र जीवनजल नखानु यसले झन् पखाला बढ्छ भन्दा रैछन् । निमोनियाका बिरामीलाई नाग लागेको भन्दा रैछन् । अनि मानसिक रोगीलाई भुतप्रेत लाग्यो देवी चढ्यो पुजा गर्नुपर्छ ठीक हुन्छ भन्दा रैछन् । प्रेशर बढेर बेहोश हुँदा पिचाशले ढालेको म पिचाश भगाउँछु भनेर ढ्याङ्गरो ठोक्दा रैछन् । आदि–आदि । धेरै ठाउँमा, खास गरी गाउँघर तिर रोगले धेरै नै चापेपछि बल्ल अस्पताल जाने चलन छ ।

एउटा पेट दुखेको बिरामीलाई झारफुक गर्नेले ३ दिनसम्म घरमा फुकेर राखेछ । जव चौथो दिनसम्म बीसको उन्नाइस भएन, बिरामीलाई अस्पताल पु¥याइयो । अस्पतालमा परीक्षण गरेपछि एपेन्डीक्स फुटेर पेटमा पिप जमेको पाइयो । तुरुन्त अप्रेशन नगरे यस्तो बिरामीको ज्यान जान सक्छ ।

ग्याष्ट्रिकलाई गाउँघरमा गानो गोला पनि भनिदो रैछ । प्हिले झारफुक गर्ने, निको नभए गानो गोला मिच्ने भनेर पेट रगड्ने गर्दा रैछन् । पेट दुखेर आएको एक दुब्लो पातलो बिरामीलाई मैले इमर्जेन्सीमा जाँच गरेको थिए । उनको पेट फुलेको र जता थिचे पनि दुख्ने थियो । उनलाई पनि गानो गोला भनेर पेट मिचि दिइएको रहेछ । मैले तुरुन्तै बुझिहाले, पेट बेस्सरी माड्दा आन्द्रा ढाडको हड्ढीमा रगडियो र आन्द्रामा प्वाल प¥यो । यस्तो अवस्थामा पनि तुरुन्तै अप्रेशन नगरिए बिरामीको ज्यान जान्छ ।

यी त भए देखिएका घटनाहरु । यस्ता घटनाहरु समाजमा कति लुकेका होलान्, कतिले अकालमा ज्यान गुमाएका होलान् । कोही बिरामीहरु झारफुकमा विश्वास गर्न वाध्य पनि छन् । आफ्नो घर देखि स्वास्थ्य केन्द्र पुग्न १–२ दिन लाग्छ । स्वास्थ्य केन्द्र तथा अस्पताल पुग्न धेरै समय र खर्च लाग्छ । खास गरी पहाडी र हिमाली भेगका जनताहरु आधुनिक स्वास्थ्य सेवाबाट धेरै टाढा छन् । विकट ठाउँमा छरिएका सबै गाउँमा स्वास्थ्य केन्द्र र डाक्टर उपलब्ध गराउन असम्भव जस्तै छ । सरकारले चाहेमा विकट ठाउँका बस्तीहरुलाई एकिकृत गरी अल्ली सुगम ठाउँमा बासस्थानको व्यवस्था गर्न सक्छ । यसबाट धेरै भन्दा धेरै जनताले नजिकको स्वास्थ्य सेवा र बाटोघाटोको प्रयोग गर्न सक्नेछन् ।

झारफुक गर्नेहरुलाई एकैचोटी विस्थापित गर्न असम्भव छ । उनीहरुलाई आधारभूत स्वास्थ्य तालिम दिन सकिएमा बिरामीमा खतराका लक्षण देख्न साथ डाक्टरलाई रिफर गर्न सक्छन् । यसो गर्दा बिरामीलाई फाइदा पनि हुन्छ अनि झारफुक गर्नेहरुले रोगको बारेमा थप बुभm्न पनि पाउछन् । जब उनीहरुले तालिम पाउँछन् । रोगको गहिराई बुझ्छन् । सायद धेरैले आफ्नो झारफुके पेशा छोड्छन् । किनकि रोगको गाम्भीर्यता नबुझी उपचार गर्दा र बुझेपछि गर्दा चेतनामा फरक आउन सक्छ । मैले त यस्ता खतरनाक रोगहरु पनि फुकेर बसेको रैछु, अब यो झारफुके पेशाा छोड्छु भन्न सक्छन् ।

एक दिन मैले अस्पताल नजिक बस्ने ति जान्ने महिलालाई भेट्ने अवसर पाएँ । घाँटी दुखेर जँचाउन आएकी थिइन् । एक हप्तादेखि घाँटी दुखेर सताएको रैछ । जाँचेपछि घाँटीको संक्रमण (फ्यारीनजाइटिस) जस्तो लागेर औषधी खाने सल्लाह दिएँ । एक हप्तापछि फेरि आउन भनं । त्यत्तिकैमा उनीसँग कुरा गर्न मन लाग्यो । तपाईं त धेरै प्रख्यात हुनुहुन्छ । मैले तपाईको बारेमा धेरै सुनेको छु । तपाई झारफुकमा धेरै ब्यस्त हुनु हुँदो रैछ । उनले भनिन् ‘हजुर डाक्टरसाव, व्यस्त हुन्छु, विश्वास गरेर आउँछन । मैले थपे, अनि निको हुन्छ त ? ‘निको हुन्छ भन्छन् डाक्टरसाव,’ उनले भनिन् ।

एक हप्तापछि फेरी उहाँसँग भेट भयो । घाँटी पुरै निको भएको रैछ । घाँटी निको भएकोमा उनले धन्यवाद दिइन् । धन्यवाद भनिरहनु पर्दैन दिदी, तपाईंलाई निको भयो म धेरै खुसी छु, मैले भनें । मैले ति झारफुक गर्ने दिदीलाई घाँटीको इन्फेक्शन कसरी हुन्छ, कुन किटाणुहरुले संक्रमण गर्छन, रोग कसरी सर्छ उपचार कसरी हुन्छ भनेर सबै सम्झाएँ । उनी अल्ली भावुक भइन् । सायद उनी रोगको गहिराई बुझेपछि झस्किन् । खुशीको कुरा आजकाल उनीले बिरामीको समस्या बढेमा तुरुन्त अस्पताल रिफर गर्न थालेकी छन् ।

डाक्टरले केही अपवाद बाहेक सबै रोगहरुका कारण पत्ता लगाएर उपचार गर्छन् । रोगको बारेमा गहिरो अध्ययन र अनुसन्धान गर्ने भएकोले डाक्टरहरु बिराम्ीको उपचारको लागि आधिकारिक व्यक्ति ठहरिन्छन् । रोगको निदान गर्न बिरामीसँग वार्तालाप गर्ने, छामेर परिक्षण गर्ने, आवश्यक ल्याव जाँच गर्ने डाक्टरहरुको नियमित विधि हो ।

तथ्यमा आधारित उपचार अर्थात् इभिडेन्स बेस्ड मेडिसिन डाक्टरहरुले अगाँलेका हुन्छन् । विभिन्न अनुसन्धानबाट प्रमाणित भएका विशिष्ट उपचार शैली चिकित्सकले अपनाएका हुन्छन् । जसले गर्दा रोगहरु अधिकतम रुपमा नियन्त्रित भएका हुन्छन् । दिनहुँ नयाँ–नयाँ उपचार शैलीको अनुसन्धान भइरहेको हुन्छ । एउटै रोगको पनि फरक फरक उपचार शैली हुन सक्छ । डाक्टरहरुले सबैभन्दा उपयुक्त विधि अपनाउने गर्छन् ।

अरु पेशा जस्तो डाक्टरलाई को राम्रो को नराम्रो भन्न गाह्रो हुन्छ । जस्तैः डिजाइन गर्ने आर्किटेक्ट इन्जीनियरले राम्रो भवन निर्माण ग¥यो भने उसलाई राम्रो भन्न सजिलै सकिन्छ । एउटा लेखकले धेरै बिक्ने किताब लेखेमा उसलाई राम्रो लेखक मानिन्छ । यदि कुनै डाक्टरले धेरै बिरामीलाई उपचार गर्छ भने उसैलाई राम्रो भनि हाल्न सकिदैन किनकि सबैको सफल उपचार हुन्छ भन्ने पनि छैन । यदि कसैसँग रोग पत्ता लगाउने कुशलता बढी छ भने त्यो डाक्टरलाई पनि राम्रो भनि हाल्न सकिदैन, किनकी पत्ता लगाएका रोगहरु सबै उपचार नहुन पनि सक्छन् । कसैले बिरामीसँग धेरै मिठो बोल्लान्, इमान्दार पनि बन्लान् तर रोगको सही उपचार गर्ने क्षमता नभए ती गुणहरुले डाक्टरलाई राम्रो भनाउन पनि सक्दैन । कामको अन्तिम नतिजालाई हेरेर अरु पेशा कर्मीहरुलाई सजिलै राम्रो नराम्रो भन्न सकिए पनि डाक्टरलाई माथि उल्लेखित सबै गुणहरुको मिश्रण नभएसम्म यो राम्रो त्यो नराम्रो भन्न गाह्रो हुन्छ ।

राम्रो डाक्टर बन्न उसमा पढाइको निखारता, इमान्दारिता, सक्षमता, गाम्भीर्यता, दया, मायाका साथै बिरामीका सबै पिडा सुन्न सक्ने धैर्यवान कान चाहिन्छ । हामीहरु यी सबै गुणहरु आफुमा निहित गर्न हर प्रयास गरिरहेका हुन्छौँ । तर कहिलेकाहिँ हामी चिप्लिन्छौँ । कहिले पढाइको निखारता छुट्छ, कहिले इमान्दारिता छुट्छ, कहिले सक्षमता टुट्छ, कहिले गाम्भीर्यता टुट्छ, कहिले दया, मायाको भाव टुट्छ भने कहिले बिरामीको केही कुरा सुनेपछि हाम्रो कान बन्द हुन्छ ।

हो, सबै मानिसहरु सर्वगुण सम्पन्न हुँदैनन् । त्यसो भन्दैमा हामी डाक्टरहरुलाई त्यो छुट हुँदैन । किनकी हाम्रो पेशा सम्वेदनशील छ । हामी मृत्युसँग दिनहुँ जुहारी खेलेका हुन्छौँ । मिडियामा बेलाबेलामा डाक्टरहरुको गाम्भीर्यता घटेको छ भन्ने कुरा आउने गर्छन् । यसमा आंशीक सत्य पनि छ । अब हामीले आफ्नो गाम्भीर्यतालाई बढाउनै पर्छ । हामीले यस्तो प्रयाश गरिरहँदा कहिले काँही हामी निराश हुन वाध्य हुन्छौँ । राम्रो उपचार को प्रयास गर्दागर्दै कसैको मृत्यु भएमा डाक्टरहरु प्रति हमला हुन्छ । ठुलो मानसिक दवावमा काम गर्नुपर्ने वातावरण बढ्दै गएको छ । डाक्टरहरु पनि मान्छे हुन्, मानवीय गल्ती हुन सक्छ तर घटनाको अनुसन्धान निचोडमा नपुगी डाक्टरलाई तुरुन्तै दोशी ठह¥याउनु राम्रो होइन । जति प्रहार भएपनि डाक्टरहरुले आफ्नो कर्तव्य इमान्दारिता पूर्वक निभाउने छन् । किनकी बिरामीको उपचार गर्नु नै डाक्टरको एक मात्र उद्देश्य हो ।

जति डाक्टर र बिरामी विचको सम्बन्ध मजबुत बन्न आवश्यक छ त्यति नै डाक्टर र डाक्टर बीचको सम्बन्ध सुमधुर बन्न आवश्यक छ । डाक्टर–डाक्टर बिच सुचनाको तालमेल नमिल्दा र व्यवसायिक धर्म घट्दा बिरामीहरुले अनाहकमा दुःख पाएका घटना धेरै छन् ।
उदाहरण १ ः

बिरामी ः डाक्साब नमस्ते ! मलाई टाउको दुखेको १ वर्ष भयो, सिटि स्क्यान, एम आर आई

सबै गरिसके, औषधी १ वर्ष देखि खाएको छु, औषधी छोड्ने बित्तिकै फेरी दुख्छ ।

डाक्टर ः ए तपाईलाई माइग्रेन हेडेक भएको हुनुपर्छ । पहिलेको डाक्टरले दिएको औषधी काम

लाग्दैन । अब यो खानुु् (औषधी लगभग एउटै)

उदाहरण २ ः

बिरामी ः डाक्साब नमस्ते ! मलाई प्रेशर भएको ६ महिना भयो । पहिलेको डाक्टरले यो

औषधी दिनु भएको छ । यो औषधी ठिक छ कि छैन ?

डाक्टर ः छैन, त्यो बन्द गर्नुस् यो खानुस् (अर्काे कम्पनीको दिँदै)

उदाहरण ३ ः

बिरामी ः पेट दुखेको छ डाक्साब हिजो देखि ।

डाक्टर ः (सबै रिर्पाेट आएपछि) तपाई लाई ऐपेन्डीसाइटिस भएको हुन सक्छ तर अहिले ठ्याक्कै भन्न गाह्रो छ । आज रातभरी अस्पतालमा बस्नुस्, दुखाई बढेमा वा दुखाइ दाहिने तर्फ सरेमा अप्रेसन गर्नुपर्छ ।

बिरामीको पेट दुखाई कम नभएर अर्काे अस्पताल जान्छ ।

उदाहरण ४ ः

डाक्टर २ ः तपाईको एपेन्डीक्स धेरै पाकि सकेछ, किन हिजो नै नआउनु भएको ?

बिरामी ः हिजो त्यो अर्काे अस्पतालको डाक्टरले रातभरी राख्नुभयो ।

डाक्टर २ ः कस्तो डाक्टर रैछ ! धन्नै तपाईको ज्यान गएको, धन्न ठाउँमा आउनु भएछ ।

यी माथिका दुखद उदाहरणहरुले के देखाएका छन् भने डाक्टर–डाक्टर विचको सम्बन्ध विग्रेको छ । राम्रै औषधी भएपनि औषधीलाई झट्ट फेरिदिने, अघिल्लो डाक्टरलाई गाली गरिहाल्ने र कहिले काही बिरामीलाई त्यहाँ किन गएको भनेर प्रतिप्रश्न गर्ने प्रबृत्ती बढेको छ । यस्तो प्रबृत्ती अहिलेको दरमा बढेमा डाक्टर–डाक्टर बीचको सम्बन्ध छिट्टै नै धरापमा पर्नेछ । औषधी फेर्न नै पर्ने रैछ भने पनि बिरामीलाई राम्रोसँग सम्झाएर फेर्दा हुन्थ्यो नि ।

हामीमा आमुल परिवर्तनको खाँचो छ । आफु र आफ्नो पेशााको मर्यादा बचाउन अब हामी डाक्टरहरुले फेरी हिप्पोक्र्याटिक ओथ सम्झिन आवश्यक छ । आफ्नो पेशालाई इमान्दारी पुर्वक निभाएका तमाम डाक्टर साथीहरु प्रति यी माथिका भनाई भने लागु हुँदैनन् ।

स्टेज चार भएको क्यान्सरको बिरामी आफ्नो दुखाई कम गर्न अस्पताल आउने गर्थे । धेरै दुख्दा कहिलेकाहिँ रातभरी पनि बस्थे । पेनकिलरको डोज जति बढाए पनि उनको दुखाई खासै कम हुँदैनथ्यो । धेरै दिनपछि उहाँलाई धेरै गाह्रो परेछ । श्वास फेर्न पनि गाह्रो हुने, दुखाई खप्न नसकिने, टाउको दुखिरहने भएछ । अक्सिजन तथा पेनकिलर दिइयो । त्यहि बेला उहाँले सोध्नु भो ! डाक्टर बाबु तपाईलाई भगवानप्रति विश्वास छ ? मैले कुरा मोडेर उहाँको रोगको बारेमा बताउन लागें । हेर्नुस बुबा, तपाईको क्यान्सर शरीरभरि फैलिसकेको छ, त्यो कुरा तपाइलाई क्यान्सरको डाक्टरले पनि भन्नुभएको रैछ । यसरी फैलिएको क्यान्सरलाई निर्मुल पार्न सकिदैन । क्यान्सरलाई दवाउन केमोथेरापी र आवश्यकता अनुसार रेडियोथेरापी दिने हो, जुन तपाईले पाइसक्नु भएको छ । अब बाँकी रह्यो तपाईको दुखाई, यो दुखाईलाई पेन किलर दिएर कम गर्ने हो । श्वास फेर्न गाह्रो हुँदा अक्सिजन दिने हो ।

बाबु यो कुरा सबै मैले बुझिसकेको छु । बाबुले उत्तर दिनुभएन । तपाईको भगवान प्रति विश्वास छ ? तुरुन्तै जवाफ फर्काउन सकिनँ । एकै छिनको मौनता पछि मैले भने “अँ छ ” उहाँ मुसुक्क हाँस्नुभयो । सायद उहाँको भगवान प्रतिको विश्वास मेरो उत्तरले झन् मजवुत बन्यो । दुई दिनपछि खवर पाए उहाँ वित्नुभएछ । मैले त्यति बेला उहाँको विश्वासलाई थप मजवुत बनाउन भगवान मा विश्वास गर्छु भनेको थिएँ । यथार्थमा मैले भगवानमा विश्वास राख्दीनँ, राख्छु केवल आस्था मात्र । किनकी विशवासमा विश्वासघात पनि हुन सक्छ, आस्थामा त्यो हुँदैन ।

भगवानलाई कसैले भेट्न सकेको छैन, किनकी भगवान खोजेर भेटिने चिज होइन । भगवान त आफु भित्र हुन्छ । आफूभित्र रहेको भगवानलाई बाहिर खोच्दा भेटाउने कुरै भएन । भगवानले मेरो रोग निको पारिदिन्छन भन्नु भनेको आफु भित्रको शक्तिले निको पार्छन् भन्नु हो । आफूभित्रको शक्ति अर्थात रोगसँग लड्ने क्षमता, धैर्यता र विश्वास । जव यी गुणहरु मान्छेमा घट्छन् र औषधीले काम गर्न छोड्छ । बिरामीको मृत्यु हुन्छ ।-स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget