सामान्यतय मस्तिष्कघात वृद्ध उमेरका मानिसको रोग हो । तर, अहिले यो रोग युवामा पनि देखिन थालेको छ । नर्भिकमा मात्र एक महिनाको अवधिमा ७० देखि ९० जना मस्तिष्कघातका बिरामी आइपुग्छन् । उपचारका लागि आएका बिरामीमध्ये नशा बन्द भएर हुने मस्तिष्कघातका बिरामी ८५ प्रतिशत र नशा फुटेर हुने ब्रेन हेमरेजको समस्या लिएर आउने १५ प्रतिशत छन् ।
मस्तिष्कघात भएका बिरामीलाई सबैभन्दा पहिला सिटी स्क्यान गरेर उपचार प्रक्रिया सुरु गरिन्छ । रगतको नशा फुटेर हुने स्ट्रोक र नशा थुनिएर भएको स्ट्रोकको उपचार पद्धतिमा पूरै फरक छ । मस्तिष्कघातले कुन भागमा कति असर गरेको छ भन्ने सिटी स्क्यानमा देखिएको आधारमा उपचार गरिन्छ । बिरामीलाई पूर्ण रुपमा ठीक हुन्छ कि हँुदैन भन्न सकिन्न । यसकोे प्रकार, उपचार प्रविधि, उपचार सुरु गरेको समय, बिरामीको उमेर र उसको अन्य शारीरिक समस्या आदिमा भर पर्छ ।
मस्तिष्कघातले दिमागको मुख्य र ठूलो भागमा असर गरेको छ भने बिरामीमा अपेक्षाकृत सुधार नआउन पनि सक्छ । तर, दिमागको छेउमा र सामान्य मात्र क्षति भएको छ भने पुरानै अवस्थामै फर्कन सक्छन् । केहीमा क्रमिक रुपमा सुधार आउँदै जाने हुन्छ । तर, अधिकांश बिरामीमा मस्तिष्कघात भएपछि शरीरको कुनै भाग नचल्ने तथा प्यारालाइसिस हुने सम्भावना बढी छ । प्रायः यस्ता बिरामी जीवनभर लौरोको सहारामा वा ह्वीलचेयरमै बसी राख्ने वा हिँड्डुल गर्नसक्ने अवस्थामा पुग्छन् । कतिपय बिरामीचाहिँ उठबस गर्न सक्ने नभई ओछ्यानमै परिराख्ने अवस्थामा पनि हुनसक्छ ।
स्ट्रोक भइसकेपछि सकेसम्म चाँडै उपचार सुरु गर्नुपर्छ । स्ट्रोकको उपचार जति छिटो गर्न सक्यो, त्यति धेरै बिरामीलाई पर्न सक्ने अन्य असर कम गर्न सकिन्छ । नशा बन्द भएर हुने स्ट्रोकमा केही घण्टाभित्रै उपचार थाल्न सकियो भने बन्द भएका नशा खुली मस्तिष्कमा स्थायी असर पर्नबाट जोगाउन सकिन्छ । यसको मूलभूत उपचार भनेकै औषधिको प्रयोग हो । औषधि प्रयोग गरी पर्याप्त मात्रमा मस्तिष्कमा रक्तसञ्चार र अक्सिजन सञ्चार गराई मस्तिष्कको थप क्षति हुन कम गर्न सकिन्छ ।
इसका लागि टिस्यु प्लाज्मोपमनेजम एक्टिभर (टिपिए) नामको औषधि दिने गरिन्छ । तर, यसलाई औषधि व्यवस्था विभागले स्वीकृति दिएर सहजै उपलब्ध हुने वातावरण बनाउन सकेको छैन । सरकारले यो औषधिलाई सहज उपलब्ध हुने वातावरण बनाउन आवश्यक छ । यो थेरापीबाट थुनिएको नशा खोलेर बिरामीलाई बचाउन सकिन्छ । तर, ब्रेनमा रगत बगेको अवस्थामा यो थेरापीले काम गर्दैन ।
कहिलेकाहीँ मस्तिष्कको पे्रसर अत्यधिक बढ्न गएमा शल्यक्रिया आवश्यक हुन सक्छ । यी सबै उपचार गर्दागर्दै पनि कहिलेकाहीँ समस्या नियन्त्रण गर्न नसकी बिरामीको अवस्था झनै नाजुक हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटर (कृत्रिम श्वासप्रश्वास) मा राख्नुपर्ने हुनसक्छ । त्यसको बाबजुत बिरामीको अवस्थामा सुधार नआई मृत्यु पनि हुनसक्छ । मस्तिष्कमा रगत प्रवाह गर्ने नशाका भित्री भागमा जमेको क्लर्टलाई निकाल्न अहिले नयाँ प्रविधिसमेत आइसकेको छ । मर्सी, सलिटोरजस्ता प्रविधिको प्रयोगबाट त्यस्ता क्लर्टलाई तान्न सकिन्छ । यस्तो क्लर्टलाई तान्न समस्या पर्ने अवस्था भएमा नशा पूर्ण रुपमा थुनिएको छ भने बाइपास सर्जरी समेत गरिन्छ ।
नशा फुटेर ह्यामरेज भएको बिरामीको दिमागमा जमेको रगतलाई चिकिस्तकहरुले निकाल्ने काम गर्छन् । बिरामीको दिमागमा जमेको रगतलाई टाउकोमा सानो प्वालबाट निकाल्ने गरिन्छ । यदि दिमागमा ३० एमएलभन्दा बढी रगत जमेको छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । अस्पतालमा आएर उपचार भइसकेका बिरामीलाई त्यसपछि फिजियोथेरापीको आवश्यकता पर्छ ।
मस्तिष्कघातका कारण बिरामी लामो समयसम्म ओछ्यानमा परिराख्ने, हलचल गर्न नसक्ने अवस्थामा हुने भएकाले शरीरमा थप नयाँ समस्या आउने गर्छ । यस्तो अवस्थामा धेरैलाई छातीको संक्रमणकोसंभावना अधिक हुन्छ । निमोनिया तथा फोक्सोको संक्रमणसमेत हुने खतरा रहन्छ । त्यसकारण बिरामीहरुलाई चिकित्सकको निगरानीमा राखेर नै अन्य उपचार पनि गर्नुपर्छ । बिरामीको हातगोडामा रक्तनली जाम हुने, हात÷गोडा आदिमा खाटे घाउको पनि जोखिम रहन्छ । बिस्तारै मिर्गौला र कलेजोको काम गर्ने शक्ति कम हुँदै जान सक्छ । यस्ता समस्या सकेसम्म हुन नदिन सुरुदेखि नै ध्यान पु¥याउनु पर्छ । शल्यक्रिया र अस्पतालको उपचारपश्चात पनि परिवारले बिरामीको शरीरको उचित हेरचाह गर्नुपर्ने हुन्छ ।
डा जलान नर्भिक अस्पतालका न्युरो फिजिसियन हुन् ।-
Post a Comment