काठमाडौं, भदौ २३ गते। सरकारले महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई रोक्न सो रोगविरुद्धको खोप कार्यक्रमको दोस्रो चरण विहीबारदेखि सुरु गरेको छ ।
गत वर्षको फागुन १६ गते कास्की र चितवनमा खोप कार्यक्रम सुरु गरिएको थियो ।
छ महिनाको अन्तरमा दुई चरणसम्म दिइने खोपको दोस्रोचरण आजदेखि सुरु गरिएको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले जानकारी दिए।
प्रथम चरणमा विद्यालयमा जाने कक्षा ६ का र विद्यालय नजाने १० वर्ष उमेरका १५ हजार किशोरीलाई खोप दिइएको थियो ।
प्रमुख गौतमका अनुसार गत वर्ष लगाएकालाई दोस्रो चरणको र अहिले कक्षा ६ मा अध्ययनरत र १० वर्षका किशोरीलाई पहिलो चरणको खोप दिइन लागिएको छ ।
उनले भने, ‘हामीले परीक्षणस्वरुप दुई जिल्लामा खोप कार्यक्रम सुरु गरेका छौँ । बाँकी जिल्लामा यस कार्यक्रमको प्रभावकारिता हेरी सुरु गरिनेछ ।’
निःशुल्करुपमा दिइने यो खोपको मूल्य दुई चरणको गरी २० हजार रूपैयाँ पर्न आउने गौतमको भनाइ छ ।
विहीवारदेखि विद्यालयमा जाने किशोरीलाई विद्यालयमा पुगेर खोप दिनुपर्ने र नजाने किशोरीलाई नजिकको स्वास्थ्य केन्द्रमा पुगेर खोप दिने भएकाले कार्यक्रम सञ्चालन गर्न कठिन भएको र दुई जिल्लाको परिणाम हेरेर मात्रै बाँकी जिल्लामा कार्यक्रम लैजाने सरकारको तयारी छ ।
गौतमका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम भएका ३० देखि ६० वर्ष उमेरका महिलाका लागि पनि कार्यक्रम ल्याउने तयारी भइरहेको छ । उनले भने, ‘खोप कार्यक्रम र महिलाको कार्यक्रमलाई सँगै लैजाने तयारी गरिरहेका छौँ ।’
सरकारी तवरबाट पहिलोपटक पाठेघरको मुखको क्यान्सर रोक्न खोप कार्यक्रम सञ्चालन गर्न लागेको भएपनि निजी क्षेत्रबाट भने खोप पहिलेदेखि नै दिइँदै आएको छ ।-रासस
Post a Comment