सम्माननीय प्रधानमन्त्रीज्यू,
इतिहास साच्चिकै निर्मम र कठोर हुँदो रहेछ । म तपाईंहरुकै स्कुलिङबाट जन्मे हुर्केको पात्रहरूमध्ये एउटा सक्रिय पात्र हुँ । महसुस गर्नुहोस अथवा नगर्नुहोस, तपाईं आज फरक दुनियाँको दोसाँधमा हुनुहुन्छ भन्ने मैले महसुस गरेको छु र जीवनभर गरिरहने छु । त्यसैले त आज म बन्द पर्खालभित्र विगतभन्दा फरक जीवनको फरक पाटोमा फरक महसुस गरिरहेको छु । जीवन र जगतलाई फरक दर्शनको सूत्रमा उन्ने कोशिस गर्दैछु । समय सापेक्ष जीवन दर्शनको वास्तविकता नियाल्दैछु ।
हाम्रा तत्कालीन सर्वोच्च कमाण्डर प्रचण्डज्यू, तपाईंकै कारण आज जिउँदो सहिदका पङ्क्तिमा छु । हामी अज्ञान मान्छेलाई तपाईंले नै जनयुद्ध सफल भएपछि मुक्ति पाइन्छ भन्नु हुन्थ्यो ।
सायद तपाईं र तपाईंका सन्तानले मुक्ति पाए होलान् तर सारा नेपालीले के पाए ? तपाईंहरूकै कारण आज सारा नेपालीको सपना चकनाचुर भएको छ र त्यसमा मेरो पनि । तपाईं स्वीकानुर्स् या नस्वीकार्नुस् अहिले सहिद, बन्दी, बेपता, घाइते, अपाङ्गहरूको सपनामाथि खेलवाड भएको छ । सारा दुनियाँले स्वीकारी सकेको छ । म दर्जनौँ युद्ध मोर्चामा दर्जनौँ बमबारूद र गोलीको छर्राका दाग शरीरमा बोकेर बाँचेको छु । यसमा मलाई गर्व छ, पछुतो छैन । तर, तपाईंहरूले आदर्शलाई पैतालामुनि कुल्चिएर तुच्छ स्वार्थका पछाडी दौडिनुभयो । तपाईंहरूको यो तमासालाई भित्रैदेखि धिक्कार्न मन लागेको छ ।
अझैं पनि मेरो मष्तिकमा दर्जनभन्दा बढी छर्रा छन् । सुरूवाती गर्मी र जाडो मौसममा पीडाले मुर्छित हुन्छु । चेतना गुम्छ, उपचार सम्भव छैन । उपचारको दौडाहामा हारेको छु । निराशाका कारण विगतमा थुप्रै जनयोद्धाले आत्महत्या गरेका छुन् तर म जीवनदेखि त्यति धेरै हार खाएको छैन । तर सम्झन्छु यो जिउँदो सहिद हुनुभन्दा सुन्दर र महान अजरअमर सहिद हुनु राम्रो रहेछ । के गर्ने महोदय, मैले त्यो उपहार पाउन सकिन ।
प्रधानमन्त्री महोदय, आज सारा घरपरिवार र जनता त्यागेर पागल खाना जेलभित्र जीवन व्यतित गर्दैछु । ५० जना क्षमता भएको जेलमा ५०० जना कोचिएको छ । त्यसैमा एउटा मेरो जीवन पनि अटेको छ । यहाँ दिइने शारीरिक र मानसिक यातनाको सीमा नै छैन ।
परिवर्तनको यात्रामा जातपात, धर्म, लिङ्गभन्दा माथि उठ्यौं । रगत नाताभन्दा वर्र्गीय नातालाई प्राणभन्दा प्यारो ठान्यौं । सहिदको सपना र क्रान्तिको कार्यभारलाई आत्मसात गर्दै केन्द्रमा राख्यौं । तपाईंले बुर्जुवा समाज र शिक्षालाई तिलाञ्जली दिन सिकाउनुभयो । हामी साम्यवादी, समाजवादी समाज निर्माणका लागि वर्ग सङ्घर्षको बाटो अँगाल्यौं । मुक्ति र मृत्युको शपथ खायौं ।
जनवादी स्कुलिङमा विनाविभेद एउटा मधेसको छोरो पहाडको छोरीसँग जनवादी जीवन अँगाल्यौं । एउटै परिवार र समाजमा सजिन मेहनत गर्यौं । घर परिवार र समाजले पचाउन नसक्ने कार्य हामीले पचाउन साहस गर्यौं र पचायौं पनि । जीवनभर यो निरन्तरतालाई अविचलित प्रदर्शन गरिरहनेछु । तर पनि हामी रतिभर विचलित छैनौं । बरु तपाईहरु विचलित हुनुभयो । कलङ्कको टीका थाप्नुभयो, दुनियाँ हसाउनुभयो ।
जताततै हण्डर ठक्कर खाँदै कम्युनिस्ट विचार र प्रचण्डपथीय सिद्धान्तलाई बेची खानुभयो । तपाईंहरु अन्ततः उही र उस्तै वर्गमा फेरिनुभयो । हामी फेरिएका छैनौ र फेरिने पनि छैनौं । हाम्रो यात्रा जारी रहने । जहाँ भए पनि जहाँ रहे पनि हाम्रो विचार मर्ने छैन । विचार त अजर अमर भएर प्रज्ज्वलित हुनेछ । किनभने विचारको जग हामीले निर्माण गरिसकेका छौं ।
प्रधानमन्त्री महोदय, मैले विगत १० वर्षमा पार्टीको नाममा अनैतिक लाभ उठाउने कुचेष्टा गरिनँ जुन प्रवृत्ति आज पार्टी सतहमा देखिँदैछ । यो सत्यता जनताका बीचमा छ । अब तपाईंहरु जनतामा नभई दलाल र भरौटेहरुमा निर्भर हुनुहुन्छ । त्याग, तपस्या र बलिदानको मुनाफा तिनै सामन्त दलाल र जमिनदारको खल्तीमा छ । त्यसैले तपाईं आत्तिनुभएको छ । किनभने तपाईंका वरिपरि आज थुप्रै क्रान्तिकारी सर्वहाराका खोस्टाहरु जन्मेका छन् । जुन समूह १६ हजार सहिदका दुस्मनको पङ्क्तिमा अङ्कित थियो तिनै वर्गसँग आज तपाईले घाँटी जोड्नुभएको छ । सहिदका सपना चकनाचुर भएका छन् ।
प्रधानमन्त्रीज्यू, आज १० वर्षे जनयुद्ध र सहिदको सपना किन धज्जी उडाइँदैछ ? यसको जवाफ चाहियो । हामीजस्ता जिउँदो सहिद, घाइते, अपाङ्ग र बन्दी बेपत्ता परिवारलाई सहिदको सपना पूरा गर्नु पर्यो । तपाईले सङ्घर्षमा साथ दिएका सबैलाई एक ठाउँमा गोलबन्ध गर्न सक्नुभएन । आज ती सारा फरक फरक बैचारिक आस्थाहरुमा विभक्त भएर आफ्नै सपनामा भौँतारिँदैछ । आन्दोलन र क्रान्तिको कार्यभार कमजोर बन्दैछ । हामी त्यसैको सिकार भएका छौं । तपाईं सेना र पार्टी दुवैको सर्वोच्च कमान्डर भएर पनि पार्टीलाई एक ठाउँमा राख्न सक्नु भएन । न त तपाईंले लोकतान्त्रीकरण गरेर पार्टी फुटलाई जोगाउनुभयो । आज हाम्रो आदर्शमाथि विजातीय वर्गको रजाइँ छ । जिम्मेवारको हिसाबले यो सबै इतिहासको जिम्मेवारी तपाईंको हो ।
प्रधानमन्त्री महोदय, कुन शब्दले सम्बोधन गरौं ? आज तपाईं प्रधानमन्त्री हुँदा तपाईंकै निर्देशनमा म जेल परेको छु । शान्ति प्रकृयापछि पार्टी विचार विपरीत विभिन्न आरोपितहरुलाई तिम्रो संरक्षण छ । तर म राज्यसँग भएको विस्तृत शान्ति सम्झौताको मापदण्डमा पर्छु । तर किन संरक्षण र सहयोग छैन मलाई ? हिजो जेजस्तो कमिकमजोरी भए पनि तपाईं नै सारा जिम्मा लिने साहास गर्नुहुन्थ्यो । तर आज किन साहास गर्नुहुन्न ?
प्रधानमन्त्रीज्यू मलाई कानुनबारे राम्रो थाहा छैन । जसरी भए पनि हामी जस्ता जिउँदो सहिदको उद्धार हुनुपर्छ । जुन कुर्सी तपाईं बस्नुभएको छ त्यो हामीहरुकै उपज हो । दिनरात जनताको काममा पुलिस प्रशासन धाइरहँदा ममाथिको मुद्दाको सूचनासम्म मिलेन । खोजविन गर्दा कहिल्यै यस्तो कुरा भेटिनँ । कमिसनको खेलमा रहेको पुलिस प्रशासन र अदालत झुक्याएर फसाउनेमा माहिर रहेछ । आज एक्कासि पुरानै फैसला भएर आयो । यो कहाँको नियम हो ? कसले गर्यो षड्यन्त्र र अन्तरघात ? तपाईंले गरेको विस्तृत शान्ति सम्झौताको कार्यान्वयन र सत्य निरुपण तथा मेलमिलाप आयोग कहाँ छ ?
प्रधानमन्त्री महोदय १० वर्ष जति पीडाको महसुस जीवनमा बिताएँ, आज त्योभन्दा बढी पीडा बोध हुँदैछ । मलाई स्मरण छ महोदय, जुन कारण म जेल परेको छु, त्यसको प्रमुख दोषी तपार्इं पनि हुनुहुन्छ र कार्यान्वयनका हिसाबले अरु पनि छन् । तर तिनीहरु अहिले तिम्रो कार्यकर्ता भएर मुक्त छन् । त्यतिबेला पार्टी चलाउन धौधौ पर्दा दिएको निर्देशन कार्यान्वयनका सिलसिलामा भएको घटना हो यो । त्यतिबेला धुप्रै समस्याको सामाधान भएको थियो । यो घटनाका कारण प्रहरीले दिएको यातनाले मेरा आमाबुवाले मानसिक सन्तुलन गुमाएका छन् । विश्वास नभए अहिले मेरो घर परिवारमा गएर हेरे हुन्छ । हामीसँग के दुस्मनी छ आज महोदय ? के मान्छेले भनेझैँ कम्युनिस्टहरु जड, सङ्कीर्ण र निरङ्कुश साँच्चिकै हुन्छन् ? होइन भने यो पत्रको पीडा निराकरण हुनुपर्छ ।
बिग्रेडियर, पूर्व जनमुक्ति सेना नेपाल
हाल : राजविराज कारागार, सप्तरी–अरुणकुमार साह (अनिल)
Post a Comment