![Gopal-Bahadur-Khadka-and-Akhil Krantikari 1](http://www.onlinekhabar.com/wp-content/uploads/2016/09/Gopal-Bahadur-Khadka-and-Akhil-Krantikari-1.jpg)
काठमाडौं,भदौ २३ गते । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ज्ञापनपत्र कार्यकक्षभित्र बुझ्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अस्वीकार गरेका छन् । खड्काले कार्यालयभित्र प्रवेशमा रोक लगाएपछि विद्यार्थी नेता कार्यकर्ताहरु बाहिरै ज्ञापनपत्र बुझाएर फर्किएका छन् ।
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाउनुपर्ने लगायतका पाँच बुँदे ज्ञापनपत्र बुझाउन अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा क्रान्तिकारीको टोली विहीबार आयल निगम गएको थियो ।
तर, उनीहरुलाई सुरक्षागार्डले मुख्य गेटमै रोके । एक सुरक्षा गार्डले भने, ‘तपाईंहरुलाई भित्र आउन नदिनू भन्ने माथिबाट आदेश छ ।’
क्रान्तिकारीका अध्यक्ष न्यौपानेले कार्यकारी निर्देशक खड्कासँग समय लिएरै ज्ञापन पत्र बुझाउन आफूहरु आएकाले भित्र जान दिन माग गरे । भित्र जान दिन रोक्ने र भित्र जान खोज्नेबीच केहीबेर विवाद भयो । अन्ततः क्रान्तिकारीका नेताहरु गेटभित्र छिर्न सफल भए ।
त्यसपछि पनि क्रान्तिकारीको टोलीलाई माथि उक्लन दिइएन । बरु कार्यकारी निर्देशक खड्का आफ्नो कार्यकक्षबाट बाहिर आए । लगत्तै क्रान्तिकारीको टोलीले खड्कालाई घेरा हाल्यो । जब क्रान्तिकारीको टोलीले घेरा हाल्यो तब, कडा स्वभावमा प्रस्तुत भइरहेका खड्का नरम भए र कार्यालय परिसरमा रहेको रुखको छायाँमा उँभिएर उनले ज्ञापनपत्र बुझे ।
क्रान्तिकारीको पाँचबुँदे ज्ञापनपत्रमा खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थहरुको मूल्य घटाउन, चाडपर्वका बेला अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज तुल्याउन लगायतका माग गरिएको छ ।
निगमले चाडपर्वलाई लक्षित गरेर खाना पकाउने ग्यासको मूल्य केही दिन पहिले प्रतिसिलिण्डर ५० रुपैयाँ घटाएको थियो । ग्यासमा अझै एक सय रुपैयाँ जति घटाउनु पर्छ भन्ने क्रान्तिकारीको माग छ ।
तर, ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अब ५५ दिनसम्म मूल्य घटबढ नहुने बताए ।
हालै आपूर्तिमन्त्री दीपक बोहोराले दशैं-तिहारसम्म पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न आयल निगमलाई निर्देशन दिएका थिए ।
नेपालमा स्वचालित मूल्य प्रणाली लागू भए पनि अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको अनुपातमा आयल निगमले मूल्य घटाएको छैन ।-अनलाइनखबर
Post a Comment