Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीको भारत भ्रमण : सहमति कार्यान्वयनमा केन्द्रित हुने


prachand 2
काठमाडौँ, भदौ ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि सुरु हुने आफ्नो भारत भ्रमणका एजेन्डाका विषयमा व्यवस्थापिका संसद्मा जानकारी दिनुभएको छ । प्रतिपक्षी दलले भ्रमणका विषयमा माग गरिरहेको बेला प्रधानमन्त्री प्रचण्डले भ्रमण कार्यतालिका र एजेन्डाबारे सदनलाई जानकारी दिनुभएको हो ।
भारत भ्रमणका क्रममा कुनै पनि नयाँ एजेन्डा नभई पुरानै सहमति कार्यान्वयनमा छलफल हुने प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुभयो । उहाँले द्विपक्षीय हित र विश्वासको वातावरण निर्माण नै मुख्य प्राथमिकतामा पर्ने बताउनुभयो ।
संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्रीले यसपटकको भ्रमणमा हाम्रो प्राथमिकता धेरै विषयको उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतबीच विश्वासको वातावरण निर्माण गर्ने हुनेछ भन्नुभयो । उहाँले नेपालको हित हुनेगरी यसअघि सहमतिमा पुगेका परियोजनाको प्रभावकारी र शीघ्र कार्यान्वयन गर्नमा भ्रमणमा जोड दिनेछौँ भन्नुभयो ।
विषय वस्तुका दृष्टिले हुलाकी मार्गका बारेमा नेपाल र भारतबीच भएको समझदारीपत्र अनुसार पहिलो चरणको निर्माण कार्यको शीघ्र थालनी एक प्रमुख प्राथमिकता हुनेछ । साथै हुलाकी मार्गको दोस्रो चरणका लागिसमेत भारतीय सहयोगको सम्भावनाका बारेमा कुराकानी हुनेछ ।
राजकीय भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा सहयोग, ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन लगायत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको अनुमोदन गर्ने उहाँले बताउनुभयो । यस्तै भूकम्पपछिको पुनर्निर्माण र भारतीय सहयोग सम्बन्धमा छलफल हुने प्रधानमन्त्रीले जानकारी दिनुभयो । भारतका तर्फबाट घोषणा भएको सहुलियतपूर्ण ऋणको पूर्वाधारका क्षेत्रमा उपयोग गर्नेमा पनि छलफल हुने प्रधानमन्त्रीले जानकारी दिनुभयो । भ्रमणका क्रममा नेपाल भारत सीमाको वीरगञ्जमा एकीकृत चेकपोस्टको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्ने र विराटनगर, भैरहवा र नेपालगञ्जमा समेत चेकपोस्ट निर्माणको काम अगाडि बढाउने विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी दिनुभयो ।
व्यापार घाटा, गौरीफन्टा तथा दोधारा चाँदनीबाट व्यापार तथा पारवहन सञ्चालन, सीमापार रेल्वे स्थापना, सीमाक्षेत्रको डुबानका विषयमा पनि उहाँले जानकारी दिनुभयो । आन्तरिक निर्णय प्रक्रिया पूरा भएमा नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्युरोबीच सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने उहाँको भनाइ छ ।
विशाखापट्टनम बन्दरगाहबाट नेपालका नाकासम्म रेल सेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेल सेवा सम्झौतालाई संशोधन गर्ने पत्र आदानप्रदान हुने पनि प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुभयो । भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास बढाउने उहाँले बताउनुभयो ।

भ्रमणमा ११६ जनाको टोली

भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । दोस्रोपटक प्रधानमन्त्री बन्नुभएपछि पहिलो विदेश भ्रमणमा निस्कन लाग्नुभएका प्रधानमन्त्रीको टोली ११६ जनाको हुनेछ ।
भ्रमण दलमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखकसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत, व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।
भ्रमण दलको सङ्ख्या ठूलो देखिए पनि सरकारले भने ४२ जनाको मात्र खर्च व्यहोर्ने बताइएको छ । बाँकी सदस्य निजी खर्चमा भारत जान लागेका हुन् । नेपाल वायुसेवा निगमको जहाजबाट प्रधानमन्त्रीको टोली बिहान ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रीका पे्रस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो ।
नयाँदिल्ली उत्रिएलगत्तै प्रधानमन्त्रीको टोली नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा प्रधानमन्त्री नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा रहेको ‘गेस्ट हाउस’मा बस्नुहुनेछ ।
दोस्रो दिन भारतको राष्ट्रपति भवनमा उहाँको सम्मानमा आयोजना हुने ‘सलामी’ समारोहमा सहभागी भएपछि राजघाटमा रहेको महात्मा गान्धीकोे सालिकमा पुगेर सम्मान अर्पण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसै दिन उहाँले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी तथा केही उच्च तहका मन्त्रिपरिषद् सदस्यसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको अन्तिम दिन उहाँले हिमाञ्चल प्रदेशको नाथपाझाक्री जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै हरिद्वारमा रहेको पतञ्जलि योगपीठको औद्योगिक क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । उहाँले दिल्लीमा रहँदा त्यहाँका उच्च तहका भारतीय तथा नेपाली व्यापारीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको टोली असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget