Websoft University

www.radiomakalu.com || 021-522512


जनमुखीभन्दा सत्तामुखी बन्दै राजनीति

काठमाडौँ, भदौ २३ गते । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले राजनीति जनतामुखीभन्दा पनि सत्तामुखी भएकोमा गुनासो गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामी अहिले राजनीतिक शक्ति (पावर पोलिटिक्स)का लागि बढी केन्द्रित भएका छौँ । ’’ “बीपी कोइरालाले सधैँ देश र जनतालाई सर्वोपरि राखेर राजनीति गर्नुभयो तर अहिले हामी जनतामुखीभन्दा सत्तामुखी भएका छौँ”, उहाँले भन्नुभयो । स्वास्थ्यलाभ भएपछि केही दिनयता राजनीतिक भेटवार्तामा व्यस्त रहनुभएका महामन्त्री कोइरालाले गोरखापत्रसँग कुराकानी गर्दै बुधबार भन्नुभयो, ‘‘बीपीले राजनीतिलाई जनतासँग जोड्नुभयो र जनताकै हकहितका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभयो । ”
बीपी कोइरालाका पुत्रसमेत रहनुभएका महामन्त्री कोइरालाले भन्नुभयो, ‘‘बीपी कोइरालासँग राजनीति र साहित्यमा पनि स्पष्ट दृष्टिकोण थियो तर अहिलेका नेतृत्वमा त्यस्तो क्षमता देखिँदैन । पहिला राजनीति मूल्य, मान्यता, आदर्श र त्यागका लागि गरिन्थ्यो तर अहिले पद र प्रतिष्ठाका लागि गरिन्छ । ’’
यसैगरी महामन्त्री कोइरालाले संविधान कार्यान्वयन नै अहिलेको मूल मुद्दा भएको उल्लेख गर्दै राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको सङ्ख्या आठ सयको हाराहारीमा हुने गरी छलफल अगाडि बढेको जानकारी पनि दिनुभयो ।
स्थानीय तहको सङ्ख्याबारे महामन्त्री कोइरालाले भन्नुभयो, ‘‘सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंहसहितका नेताहरू बसेर छलफल भएको छ । स्थानीय तहको सङ्ख्या करिब आठ सयको हाराहारीमा हुनुपर्छ भन्ने कुरा आएको छ, अब सभापति देउवाले प्रधानमन्त्रीसँग छलफल गर्नुहुनेछ । ’’
केही दिनअघि नेपाली काँग्रेसले जिल्ला सभापतिहरूसँग गाउँपालिका र नगरपालिकाको सीमा र सङ्ख्याबारे बृहत् छलफल गरेको थियो । त्यसमा सभापतिहरूले स्थानीय तहको सङ्ख्या एक हजारको हाराहारीमा हुनुपर्ने धारणा राख्नुभएको थियो । काँग्रेसका नेताहरूको पछिल्लो छलफलबाट अब त्यो सङ्ख्या आठ सयको हाराहारीमा झरेको छ ।
पार्टीको महाधिवेशन सम्पन्न भएको लामो समय भए पनि पदाधिकारी तथा केन्द्रीय सदस्यको पदपूर्ति हुन सकेको छैन । साथै विभागीय समिति गठन र कार्य विभाजन पनि हुन सकेको छैन । यस विषयमा राखिएको जिज्ञासामा महामन्त्री कोइरालाले पार्टी नेतासँग छलफल भइरहेको बताउनुभयो ।
कुल ८५ सदस्यीय काँग्रेस केन्द्रीय कार्यसमितिमा उपसभापति, महामन्त्री, सहमहामन्त्री, पार्टी प्रवक्ता तथा १० जना केन्द्रीय सदस्यको नियुक्ति हुन बाँकी छ । पदाधिकारी हुन निर्वाचित केन्द्रीय सदस्य हुनुपर्छ । त्यसैगरी ४२ वटा विभागका विभागीय प्रमुख तथा सदस्यहरूको नियुक्त हुन पनि बाँकी छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget