कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी मनोनयन, विभागहरु गठन तथा संविधान संशोधनमा पार्टीको धारणा बनाउने लगायतका विषयमा बरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गर्नुभएको छ । बिधानतः सभापति निर्वाचित भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्नुपर्ने नेपाली कांग्रेसको प्रावधान छ ।
विधानअनुसार निर्वाचित सभापतिले एक उपसभापति, महामन्त्री र एक सहमहामन्त्री मनोनयन गर्न पाउँछ । तर, ती नाम केन्द्रीय कार्य समितिमा निर्वाचित सदस्यहरुको बहुमतले अनुमोदन गर्नुपर्छ । पदाधिकारी मनोनयनमा पौडेलले तीनमध्ये एक आफ्नो भाग माग्नु भएको छ । सभापति देउवाले पौडेल पक्षलाई भाग दिने सम्भावना कम रहेको छ । देउवाले पौडेल पक्षलाई एक पदाधिकारी दिएको खण्डमा पौडेल पक्षका पदाधिकारी बहुमत हुन्छन् । सभापतिलाई काम गर्न सुविधाजनक बहुमत सबै निकायमा चाहिने भएकाले देउवाले पौडेल पक्षलाई एक भाग दिने संभावना कम भएको हो ।
कांग्रेसका निर्वाचित तीन पदाधिकारीमध्ये सभापति देउवा बाहेक महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव पौडेल पक्षका हुन् । बरिष्ठ नेता पनि पदाधिकारीसरह हुने भएकाले पौडेलसमेत गर्दा अहिले पदाधिकारीमा पौडेल पक्ष बहुमतमा छ । अब तीन पदाधिकारी मनोनित गर्दा तीनैजना देउवा पक्षका भएमात्र पदाधिकारीमा देउवालाई बहुमत हुनेछ । त्यही कारण देखाउँदै देउवाले पदाधिकारी मनोनयनमा पौडेल पक्षलाई भाग नखोज्न आग्रह गर्नुभएको हो ।
Post a Comment