रक्सी सेवन गर्नेको संख्या विश्वभर नै बढ्दो अवस्थामा छ । अझ चिसो बढी हुने मुलुकमा अल्कोहलका अम्मली झन् बढी हुन्छन् । नेपालमा सबैखाले अल्कोहललाई जनाउन ‘रक्सी’ शब्द प्रयोग गरिन्छ । यहाँ झन्डै ३९ प्रतिशत घरधुरीमा रक्सी पिइन्छ । यसमध्ये २८ प्रतिशत महिला रक्सी पिउँछन् । अल्कोहलले जनस्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा असर पारिरहेको हुन्छ । त्यसबाट कसरी उपचार र मुक्ति लिन सकिन्छ भन्ने सवालमा चिकित्सकीय चर्चा यसरी गरिएको छ :
दिमागमा असर
रक्सीले तत्काल दिमागको कार्यप्रणालीलाई सुस्त बनाइदिन्छ । त्यसैले चेतना, विवेक र होसलाई खल्बल्याउँछ । साथै स्मरण शक्ति र सिर्जनशीलता गुम्ने, मानिस शंकालु हुने, कसैमाथि पनि विश्वास नहुने, जिम्मेवारीको भावना लोप हुँदै जाने हुन्छ । यसरी अल्कोहलिक हुँदा बुद्धि र विवेकजन्य पक्षमा गम्भीर ह्रास आउँछ । अनेकौँ अपराधमा संलग्न हुने काममा रक्सी सेवन गर्नेहरूको संलग्नता हुने कारण पनि यही हो । रक्सी चित्तलाई उदास बनाउने (डिप्रेसेन्ट) वस्तु हो । यसले केन्द्रीय स्नायु प्रणाली र दिमागको कार्यक्षमता र प्रणालीलाई झन् मन्द बनाउँछ । रक्सीले पाचन प्रणाली, कलेजो र पेट खराब गर्नाले बान्ता हुन्छ । एक मिनेट पनि बेवकुफ तरिकाले रक्सी खायो भने भोलिपल्ट दिनभरि नै शरीर खराब गरिदिन्छ ।
ककटेल घातक
कहिलेकाहीँ जमघट र पार्टीमा मात्र पिउने मान्छेलाई ‘सोसल ड्रिंकर’ मानिन्छ । तर, अनियन्त्रित मात्रामा पिउनुलाई ‘बिन्ज ड्रिंकिङ’ भनिन्छ । ‘बिन्ज ड्रिंकर’लाई रक्सीको विषाक्तताले बढी असर गर्छ । यस्ता मानिस एकैपटकमा जुनसुकै रक्सी वा पेय लिन्छन्, जसबाट ‘ककटेल’ (रन्थनाहट) पनि हुन्छ । अघिल्लो रात पिएको रक्सीले भोलिपल्ट टाउको दुख्दा औषधिको रूपमा कसैले अलिकति रक्सी नै खाने गरेको देखिन्छ । यो एकदमै गलत तरिका हो । रक्सी एकदमै बढी जलअल्पता (डिहाइड्रेसन) उत्पन्न गर्ने वस्तु हो, जसको तत्काल असर दिमागमा परेको हुन्छ । जलअल्पता भयो भने टाउको दुख्ने, रिंगटा लाग्ने, आँखाको हेर्ने क्षमतामा असर पर्ने, डकार आउने, वाकवाकी लाग्ने, बान्ता पनि हुने, सास फेर्न गाह्रो हुने र मांसपेशी तथा शरीर शिथिल हुन जान्छ । यस्तो वेलामा शरीरको तापक्रम घटेर ‘हाइपोथर्मिया’ हुनसक्छ । कुन अंगलाई असर गर्छ रक्सीको सेवन बढ्दै जाँदा सिरोसिस (कलेजोको रोग), क्षयरोग (टिबी), अल्सरलगायत पेटका विभिन्न रोग देखापर्छ । त्यस्तै मिर्गौलाको खराबी, ग्यास्ट्रिक, पेटको अल्सर, रगतको अल्कोहलीकरण (अल्कोहलाइज), मस्तिष्कघात आदि अनेक रोग पैदा हुन्छन् । रक्सीले कलेजो, पेट, छाती, मुख, माथिल्लो घाँटी, अन्ननली, कण्ठनली आदि सात ठाउँमा त्यति नै प्रकारका क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ । त्यसमा पनि चुरोट र रक्सी एकसाथ सेवन गर्ने मानिसलाई त घा“टी र मुखको क्यान्सर हुने सम्भावना झन् बढी हुन्छ ।
क्यान्सर र मधुमेहको खतरा
रक्सी बढी खानेको शरीरमा रगतमा हुने ‘फोलेट’ नामक अत्यन्त महत्वपूर्ण भिटामिन कम उत्पादन हुन्छ । यसले क्यान्सरको सम्भावना बढाउँछ । नियमित तथा अधिक रक्सी पिउने मानिसलाई क्यान्सरको सम्भावना बढ्ने कारण यही हो । रक्सीको आदत र धेरै मद्यपान गर्ने मानिसलाई तीन कारणले मधुमेह (डाइबिटिज) लाग्नसक्छ— १. धेरै रक्सी पिइरहने मानिसमा इन्सुलिन उत्पादन गर्ने प्याङ्क्रियाज (अग्नाशय) अंगको संवेदनशीलतामा ह्रास आउँछ । २. रक्सीले प्याङ्क्रियाजमा लाग्ने बिमारले गर्दा इन्सुलिन उत्पादन घट्छ । ३. रक्सीमा धेरै क्यालोरी हुनाले मानिसको तौल बढ्छ र तौल बढेपछि मधुमेहको सम्भावना पनि स्वतः बढ्छ ।
औषधिको रूपमा
एक चिकित्सकको हैसियतले कसैलाई रक्सी पिउन सल्लाह दिन उचित हुँदैन । हप्तामा ६० मिलिग्राम (सानो एक पेग) राम्रो रक्सीले स्वास्थ्यलाई फाइदै हुन्छ । उमेर, लिंग, शरीरको कद, मोटोपन र कति मात्रा कति समयभित्र पिएको हो, रक्सीको असर यी कुरामा निर्भर रहन्छ ।
रक्सी खाएपछि के खाने ?
रक्सी डिहाइड्रेसन गराउने कारण भएकाले रक्सी पिउनुभन्दा कम्तीमा एक घन्टाअघि र रक्सी पिएको एक घन्टापछि फलफूलको रस, प्रशस्त पानी पिउनु बेस हुन्छ । साँझ रक्सी पिएको छ भने पेट बिग्रने सम्भावना घटाउन भोलिपल्ट बिहान एउटा स्याउ, स्ट्रबेरी वा ‘बेरी’ प्रजातिका फलफूल खानु उत्तम हुन्छ । नुनमा लवण र पानीको मात्राले ‘इलेक्ट्रोलाइट’ तत्वको क्षतिलाई ठीक गर्छ । जुन तत्वले शारीरिक क्रियाशीलतामा मनोवैज्ञानिक सन्तुलन मिलाउँछ । साल्मोन जातको माछामा हुने ‘भिटामिन बी–६’ र ‘ओमेगा–३’ ले टाउको वा जिउ दुःख्ने समस्या हट्छ । ओमेगा–३ ले मनस्थिति (मुड) ठीक गर्न सहयोग पु-याउँछ । साल्मोन नपाए पनि हामीकहाँ ट्राउट माछा पाइन्छ । पुदिना वा काँचो अदुवा पिसेर तिल, टिमुर आदि पनि लगाएर बनाएको चटनीले वाकवाकी, डकार, पेट तथा वायुसम्बन्धी समस्या (ग्यास्ट्रिक डिस्ट्रेस) हटाउन रक्सीपछिको खानासँग लिनु राम्रो हुन्छ । रक्सी खाएपछि कम्तीमा २४ घन्टासम्म चिया, कफीजस्ता ‘क्याफिन’युक्त पेय नलिनु उत्तम हुन्छ ।-डा. महेन्द्रबहादुर विष्ट, पूर्वमहानिर्देशक, स्वास्थ्यसेवा विभाग
नयाँ पत्रिकाबाट
Post a Comment