हाँसो मानिसको प्राकृतिक स्वभाव हो । जनावर र पशुपक्षी हास्न सक्दैनन् । विशेषत: मानसिक स्वास्थ्यका लागि हाासो अनिवार्य छ । विदेशमा उपचार प्रक्रियामा प्रयोग भएको हास्य चिकित्सालाई नेपालमा पनि स्विकार्न थालिएको छ । जो कसैले सित्तैमा प्राप्त गर्न सक्ने हाासोले औषधिको काम गर्छ भने किन नहाास्ने ? मुख्यत: आधुनिक जीवनमा तनावपूर्ण दैनिकी बिताइरहेकाहरूलाई तनाव कम गर्न हासोले औषधिको काम गर्छ :
स्वाभाविक हाँसोले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले जति हाँस्न सक्यो उति नै स्वस्थ भइने तथ्य वैज्ञानिकहरूले सिद्ध गरिसकेका छन् । म्युनिखस्थित जर्मन लाफ्टर संघका प्रमुख मिलोच स्काफ्तरका अनुसार फुर्सदमा हाँसो लाग्ने जोक र चुट्किला सुनाएर वा सुनेर एक–अर्कामा हाँसो बाँड्नु लाभदायक हुन्छ ।
मानिसलाई विभिन्न घटनाका कुराले हँसाउने वा रुवाउने गर्छ । बर्लिनस्थित इन्स्टिच्युट अफ ह्युमन बायोलोजी एन्ड एन्थ्रोपोलोजीका निर्देशक कार्सटेन मिनित्रका अनुसार मानव मस्तिष्कलाई प्रभाव पार्ने प्राय: कुराहरूले मानिसलाई हँसाउँछ ।
त्यसैले हाँसोको सम्बन्ध सीधै मस्तिष्कसँग गाँसिएको छ । हाँस्ने क्रममा श्वासप्रश्वास तथा मांसपेशी प्रणाली बढी सक्रिय हुन्छ । विशेषगरी, अनुहारको मांसपेशी क्रियाशील हुन्छ । हाँस्दा शरीरका अंगप्रत्यंग खुम्चने र फुक्ने क्रममा विभिन्न आवश्यक हर्मोन पनि रिलिज हुने भएकाले हाँस्नु स्वास्थ्यका लागि फलदायी हुन्छ ।
प्राय: हाँसिरहने मानिसको शरीरका कोषमा सामान्यभन्दा बढी अक्सिजन प्रवाह हुन्छ । अक्सिजनको प्रवाह बढी हुनु भनेको फोक्सोमा रहेको विकार वस्तु कार्बनडाइअक्साइडको रूपमा बाहिर निस्कनु हो ।
हाँस्दा क्याटाबोलक प्रक्रिया बढी सक्रिय हुने, मुटुको धड्कन र रक्तसञ्चार उत्तेजित हुने तथा मांसपेशी बलियो हुने हुन्छ । बढी हाँस्ने व्यक्तिको मस्तिष्कले अड्रेनालिन र कोर्टिसोनजस्ता तनाव कम गर्ने हर्मोन उत्पादन गर्छ । यसैले यस्ता व्यक्ति तनावबाट पीडित हुने सम्भावना न्यून रहन्छ ।
अड्रेनालिन हर्मोनले मानसिक तनाव कम गराएर शरीरलाई तन्दुरुस्त र चंगा राख्न भूमिका खेल्छ । यस्तै, मिर्गौलामाथि रहेको एड्रेनल ग्रन्थिबाट निस्किने कोर्टिसोन हर्मोनले पनि तनाव कम गराउने भूमिका खेल्छ ।
नयाँ पत्रिकाबाट
Post a Comment