Websoft University

www.radiomakalu.com || 021-522512


बदल्ने होइन, बदलिन जरूरी कमरेड


प्रदीप भाट
कुनै कुरा लेखेरमात्र नेताले सुनिहाल्छन् भन्ने त मलाई लाग्दैन । तर पनि मेरो विगत र वर्तमानले सिकाएको पाठले लेख्न प्रेरित गरिरहेको छ । मनमा भन्न नसकिने व्यथाले च्यापेर जिउ दुखेको दुख्यै गर्छ । भाइरलले च्याप्दा बरू यस्तो गाह्रो पर्दैन होला, जति दुःख गणतन्त्रका ६०१ नेताले दिएका छन् ।
जतिबेला नेपालमा माओवादी युद्ध चलिरहेको थियो, त्यतिबेला लाग्थ्यो– माओवादी नेतृत्व विश्वकै सबैभन्दा महान् र शक्तिशाली नेतृत्व हो । जसरी डाँडामा पीपलको वृक्षले तल खोल्सासम्म जरा गाडेर बसेको हुन्छ, त्यसैगरी आफ्नो ओज र छवि बनाएर बसेको पार्टी, विशाल लाग्थ्यो । अहिले आएर पानीका फोकाजस्तै बिलाउन लाग्दा नेतृत्वसँग आस्था राख्ने कमरेडहरुलाई त परै जाओस् अन्य विचारधारा समर्थन गर्नेलाई पनि अस्ताउन लागेको सूर्यझैं लाग्नु स्वाभाविक थियो । तर, विडम्बना माओवादी पार्टीमै काम गर्ने कमरेडहरुलाई नै सपना हो कि विपना छुट्याउनै गाह्रो हुन थाल्यो । यो विषयमा म र मेरा कमरेडले भोगेको सत्य कुरा हो । सत्यलाई कसैले पनि काट्न सक्दैन् ।
कक्षा आठको बोर्ड परीक्षा उत्तीर्ण भई कक्षा नौमा अध्ययन गर्दै थिएँ । माओवादी युद्ध चरम रुपले अगाडि बढिरहेको थियो । गाउँ, सहर, भीरपाखा, खोल्साखोल्सी नभनी एउटा रफ्तारको गतिमा जनयुद्ध अगाडि बढिरहेको थियो । मेरो गाउँ पनि माओवादी आधार किल्ला बन्न पुगेको थियो । सरकारी संरचना सबै ध्वंसात्मक नीतिबाट परिवर्तन गरी जनसत्तामा रुपान्तरण गरिएका थिए । म सानै उमेरको भएकाले सरकारी संरचना र जनसत्ताबीचको अन्तर के हो भनी छुट्याउन सक्ने मानसिकता विकास भइसकेको थिएन । माओवादी आधार किल्ला भइसकेपछि माओवादीले आफ्ना रणनीतिक क्रियाकलाप अगाडि बढाउँदै गयो । स्कुलमा माओ स्कुलिङ पाठ सिकाउन थालियो । संस्कृत गुरूपाठशाला बन्द गरिन थाले । जुवातास खेल्नेहरु जनकारबाहीमा पर्न थाले, गाउँमा अराजक स्थिति निम्त्याउनेलाई कारबाही गरिन थालियो, जनताका निम्ति कुनै कसुर नराखी युद्धमा आफ्नो ज्यानको बलिदान दिन्थे । माओवादी कार्यकर्ता, त्यसकै परिणाम होला । म पनि एक कम्युनिस्ट योद्धा भई माओवादी युद्धमा होमिएको, विद्यार्थी जीवनलाई थाती राखी जनताको मुक्तिका लागि अग्रसर भएर युद्धमा लागें ।
घरपरिवारको मायामोह, स्नेह सबै त्यागियो । छापामार युद्धमा लालसिपाही भएर काम गरियो । अनवरत रुपमा पार्टी सिद्धान्तमा हिँडियो । विद्यार्थी मोर्चामा काम गरियो तर आज कमरेडहरुले चिन्नै छाडे । ममात्रै होइन सबै कार्यकर्ताको कथा–व्यथा यस्तै छ । आफ्नो स्वार्थ परिपूर्तिमै रूमलिएर बसिराखे । कर्मलाई बिर्से । नीति, नियम, पार्टी सिष्टम पद्धति सबै तोडेर आफ्नो तरिकाले चल्न थाले । जसको परिणाम आज संगठनको यो हालत हुन पुग्यो । योगदानको कुनै मूल्य रहेन । निराशामा बाँच्नुपर्ने स्थिति पैदा गर्यो ।


सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ । व्यवहारविनाको सिद्धान्त लंगडो हुन्छ । हामी कतै लंगडो पो भयौं कि विचार गरौं । बदल्ने होइन बदलिन जरूरी छ । बदल्यो भने फेरि पहिलेकै जस्तो हुन सक्छ तर तपाईं र म बदलियौं भने हामी फेरि बदलिनुपर्ने छैन । प्रश्न रह्यो बदलिने अथवा नबदलिने त्यो तपाईंको हातमा छ ।

कमरेडहरु, आफू मरेर अरुलाई बचाउने कसम खाएर युद्धमा होमिएका होइनन् र ? पछिल्लोपटक ओलीवादले देखाएका सपनाको खुबै खण्डन गर्यौं । के हामीले देखाएका सपना कम्तीका थिए । विकट गाउँहरुलाई स्वीट्जरल्यान्ड बनाउने, आलु फल्ने ठाउँहरुमा हीरा, मोती फलाउने, स्वदेशमै रोजगारी ग्यारेन्टी हुने, बिदेसिनुपर्ने स्थिति अन्त्य हुने सपना थिए । तपाईं र मेरो आमाजस्ता हजारौं, लाखौं आमाहरु हँसाउने भनी युद्धमा होमिएका होइनौं र ? देशमा सामन्ती फटाहा राजको अन्त्य हुने समुन्नत राष्ट्र नेपालको सपना देखाएका होइनौं र ?
ओलीवादले त हामीबाट सिकेर उखान–टुक्का शैलीलाई सरकारमा गइसकेपछि कलात्मक तरिकाले प्रस्तुत गर्दा ती कुरा बाहिरिएका हुन् । जो कुरा हावा भए पनि नेपालको विकासको मोडलका लागि आवश्यक थिए । जसलाई पृष्ठपोषणका रुपमा लिनुपर्छ । के आमकार्यकर्ता वा आममानिसको जीवनमा परिवर्तन आएको छ ? जसले नेपालको राष्ट्रिय झन्डालाई पर राखेर पार्टी झन्डालाई राष्ट्रिय झन्डा बनाई आफ्नो जीवन समर्पित गरे । आज उनीहरुको जीवन हेरौं कस्तो छ । भौंतारिरहेको भँगेराजस्ता जनयुद्धकालमा सँगैै लडेका कमान्डरहरु आज पार्टीको उच्च ओहोदामा पुग्दा कार्यकर्तालाई बिर्सने परम्पराले गर्दा सिंगो पार्टी अभियानको हालत यो बेहोर्नुपरेको हो । कमरेडले साइनो भुले । नातावाद, कृपावादको साइनो जोडन् थाले । हिजोका कमरेड, दाजुभाइ, अंकल–आन्टीका साइनोमा जोडिए । त्यो त छँदै थियो, अर्काे साइनो पनि भित्र्याए सर । खै माक्र्सवादको अनुुुशरण गरेका साथीहरु आफ्नो मूल्यांकन आफैं गर्नुहोला ।
कमरेडहरु, हामीले १० वर्ष लड्यौं । हामीलाई लडाउने कमरेडको १० वर्षे जनयुद्धयताको जीवनशैली हाम्रै आँखाअगाडि कहाँ पुग्यो । के यही हो त परिवर्तन भएको ? हामीलाई त केही नचाहिने । न पद, न दाम, न काम, न त प्रतिष्ठा नै । उहाँ कतिका इमानदार कमरेडहरु ।
सगरमाथा चढ्नका लागि सहयोग माग्ने कमरेडले सहिदका परिवारलाई कतिको सहयोग गरे ? पार्टी सरकारमा हुँदा सहिद, बेपत्ता परिवार, अपांग, घाइतेको माग सम्बोधन गर्न नसक्ने । प्रतिपक्षमा बस्दा ठुल्ठूला भाषण खोक्ने ? आफू सत्तामा हुँदा काम नगर्ने । काँग्रेस, एमालेले सरकारमा बस्दा कत्तिको आस बोक्दा होलान् हाम्रा नेता कमरेडहरुले । म त भन्छु– यिनीहरुको कामै छैन । काम छ त भाषण गर्ने । अरुको कुरा काट्नु । गुट, उपगुट निर्माण गर्नु । के यो नै होइन त यथार्थ ?
अहिले पार्टी सरकारमा छ । विगतका काम गराइ हेर्दा त आस छैन । अहिले भूत, वर्तमान र भविष्य पनि बदलिएको छ । यिनीहरु पनि बदलिए होलान् भन्ने झिनो आशा पलाएको छ । खै, पार्टीलाई एक नम्बर बनाउँछु भन्ने कमरेड वर्तमान सरकारका प्रधानमन्त्री छन् । पार्टीलाई एक नम्बर बनाउँछन् कि उत्तानो फर्काउँछन् हेर्न बाँकी छ । देशको मुहार फेर्न ज्यान दिने कमरेडहरुले त जीवनको बलिदानी गरेर सहिद बनेका थिए । तर, ती हामीमाझ मात्रै सहिद बने राष्ट्रका लागि बनेनन् । बरू पार्टीका सहिद बने होलान्, सबैका होइनन् । अलि पहुँच हुनेका लागि होइन र ?
सहिद भइन्छ भनेर छाती फुलाउन बेकार छ कमरेड । तिमीहरुले देखेको सपना त पाँचतारे होटलको बन्द कोठाको बन्द बोतलभित्र बन्द हुने अवस्थामा छ । विश्वका धेरै देश उन्नति गरेर ग्रह–उपग्रहमा पुगिसके अनि हामी पार्टीको झन्डा बोकेर गल्ली–गल्ली हल्लेर देशलाई ठप्प पार्न तयार हुने ? यसरी हुन्छ त देशको विकास ?
विकास त भाषणले हुँदैन, कामले हुन्छ कमरेड । जो कर्म गरिरहेका छन् उनीहरुको देश प्रगतिमा दौडिरहेको छ । यो कुरा सत्य हो भन्ने थाहा हँुदाहुँदै पनि तिनीहरुको भाषणमा मख्ख पर्नु मुर्खता हो । पाखुरी बल हुँदा देशलाई ठप्प पार्ने, भएभरिका संरचना ध्वस्त पार्ने, विकासका नाममा कथित राजनीति गरेर देशलाई डुबाउने अनि सुन्दर राष्ट्र नेपालको परिकल्पना गर्नु पागलपना हो । कुनै बेला युद्ध आवश्यक थियो, जो गरिसकियो । फेरि युद्धमा होमिनुपर्छ भन्नु त अल्पबुद्धि भएकाले मात्र विश्वास गर्ने कुरा हो ।
कमरेडहरु देशको मुहार फेर्नु छ भने हामीले बदलिन जरूरी छ । अरुलाई बदल्छु भनेर लाग्यौं भने भूलमात्र हुनेछ । सम्भव पनि छैन । देश बदल्न सम्भव छ । त्यसका लागि सर्वप्रथम तपाईं स्वयम् बदलिनुपर्छ । प्रश्न यो रह्यो तपार्इं बदलिन हुन्छ या हुन्न ? देशको माया गर्छु भनेर प्रमाणित गर्ने हो भने नेताको ढोका पुग्न छाडेर आ–आफ्नो काम इमानदारीसाथ गर्नुपर्छ । भाषण होइन काम गरौं । हामीले सिद्धान्त धेरै सिकेका छौं । धेरै नेताहरुका नाडीसमेत छामेका छौं । देश विकासका लागि पार्टीको झन्डा हल्लाएर सम्भव छैन । काम गर्नुपर्छ । हामीलाई राम्रोसँग थाहा छ– सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ । व्यवहारविनाको सिद्धान्त लंगडो हुन्छ । हामी कतै लंगडो पो भयौं कि विचार गरौं । बदल्ने होइन बदलिन जरूरी छ । बदल्यो भने फेरि पहिलेकै जस्तो हुन सक्छ तर तपाईं र म बदलियौं भने हामी फेरि बदलिनुपर्ने छैन । प्रश्न रह्यो बदलिने अथवा नबदलिने त्यो तपाईंको हातमा छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget