Websoft University

www.radiomakalu.com || 021-522512


मन्त्री विक्रम पाण्डेको फरक पाटो : एक सफल ठेकेदार


Bikram-Pandey

बालुवाटारस्थित प्रधानमन्त्रीनिवासबाट महाराजगन्जतर्फको बाटोछेउमा अग्लो घर छ– कालिका टावर । केही वर्षअघि बनेको यो टावर सडकछेउ हिँड्ने धेरैले विक्रम पाण्डेको भनी चिनिसकेका छन् । राजनीतिमा सक्रिय हुनुअघिसम्म पाण्डेलाई देशभरि एक व्यवसायीकै रुपमा चिनिन्थ्यो । त्यसो त अझै व्यवसायबाट अलग्गिएका छैनन् । बरु छोरालाई जिम्मा दिएर आफू राजनीतिमा सक्रिय छन् । ०० चितवनबाट व्यवसाय सुरु गरेका पाण्डेले व्यावसायिक बाटोमा धेरै संघर्ष बेहोर्नुपर्यो । त्यही संघर्षले सफलता मिलेको छ उनलाई । लमजुङको राइनासमा जन्मिएका पाण्डे जिल्लाबाटै एलएलसी सकेर काठमाडौंको सरस्वती क्याम्पस पढ्न आए । आईए पास गरेपछि चितवन फर्के । त्यतिन्जेल उनको परिवार चितवनको भरतपुर बसाइँ सरेको थियो । पढाइ त्यति नै भयो उनको । सानैदेखि सामाजिक काममा अघि बढ्ने उनको स्वभाव थियो । सहयोगी र मिलनसार थिए । ‘जागिर खाने मनै भएन,’ पाण्डे भन्छन्, ‘केही नयाँ काम गरौं भन्ने लागिरहन्थ्यो । हरेक कुरालाई चुनौतीका रुपमा लिन चाहन्थें म ।’ कम्पनी खोले, कालिका कन्ट्रक्सन प्राइभेट कम्पनी लिमिटेड । २०३० तिरको कुरा । त्यसबेला कार्यालय कहाँ, कस्तो खोल्ने निश्चित थिएन । पुँजी पनि पर्याप्त थिएन । पाण्डे भन्छन्, ‘कति समयसम्म त झोलामै कार्यालय चलाइयो । आफैं नक्सा हेर्ने, लेआउट गर्ने, कामदारको हिसाब राख्ने गर्नुपथ्र्यो,’ थप्छन्, ‘लगनशिलता र मिहिनेत कहिल्यै बिर्सिनँ । कामलाई सधैँ ‘इन्जोई’ गरें ।’ जसले कामलाई बोझका रुपमा लिन्छ, ऊ सफल नबन्ने उनको अनुभव छ । त्यसैले त बिल्डिङ कन्ट्रक्सनको काम पाण्डे आफैँले रोजेको काम थियो । त्यसो त परिवारबाट राम्रो सहयोग थियो रे । ‘डि–वान’ बाटै ठेकदारी सुरु गरेका पाण्डे विदेशमा समेत भवन निर्माण काम गर्ने पहिलो व्यक्ति बने । अहिले उनी ‘ए ग्रेड’ को ठेकदार हुन् । अमेरिका र भुटानमा उनको कम्पनीले काम गरिसकेको छ । सन् २००७ मा अमेरिकामा लगानी गरेका थिए उनले । बिल्डिङ कन्ट्रक्सनबाहेक उनको सञ्चार उद्योग र हाइड्रोपावरमा पनि लगानी छ । कम्पनीअन्तर्गत तीन हजार स्थायी कर्मचारी छन् अहिले । ०३१ मा धरान–धनकुटा सडकमार्ग ब्रिटिस कम्पनीसँग सहकार्य गरी पहिलोपटक काम थालेका पाण्डेकै ठेक्कामा पूर्वका अधिकांश सडक निर्माण भएका छन् । फिदिम–ताप्लेजुङ सडक निर्माण उनको दोस्रो काम थियो । पाण्डेले सडक निर्माणको काम थाल्दा नेपालमै औंलामा गन्न मिल्ने निर्माण कम्पनी थिए । निर्माण व्यवसायमा लगानी डुब्ने जोखिम पाण्डेले पनि बेहोर्नुपर्यो । ४० वर्षसम्मको निरन्तर व्यावसायिक अनुभवले धेरै कुरा सिकाएको बताउँछन् पाण्डे । अहिले दसौं अर्बको पुँजी पुगेको छ उनको । ठ्याक्कै कति भन्न आफैँ सक्दैनन् । ‘उमेर र पैसाको कुरा नसोध्नू । तर, नियमित समयमै कर तिर्छु म । शंका गर्नुपर्ने ठाउँ छैन ।’ आफैंले व्यवसायमा समय नदिए पनि पुराना र विश्वासिला कर्मचारीसहित एउटा निश्चित व्यवस्थामा कम्पनी चलेको बताउँछन् । व्यवसायकै क्रममा राजनीति पनि सुरु गरे उनले । पञ्चायत ढल्नुअघि कांग्रेसप्रति झुकाव राख्थे उनी । ‘जब पञ्चायत कमजोर भयो । कांग्रेस र अन्य प्रजातान्त्रिक शक्ति मिलेर पन्चेलाई खेद्ने, घरमा आगो लगाइदिने काम भयो । त्यस्तो देखेर उनीहरुप्रति सहानुभूति र सद्भाव जाग्यो ।’ ०४६ आसपासको कुरा थियो यो । त्यसैबेला देखि राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) सँग आबद्ध भए । राजनीतिमा पनि संघर्षकै कारण यो ठाउँमा आएको बताउँछन् । भन्छन्, ‘म टीकेप्रथाबाट चाकडी गरिआएको नेता होइन । आफ्नो क्षमताबाटै यहाँसम्म आएको हुँ ।’ व्यवसायकै क्रममा राजनीति त गरे उनले तर कहिल्यै राजनीति र व्यवसायलाई कहिल्यै नमिसाएको बताउँछन् पाण्डे । थप्छन्, ‘व्यवसाय एउटा सिष्टममा चलिरहन्छ । नयाँ छोरालाई हस्तान्तरण गरेको छु । म चाहिँ अबको समय राजनीति/समाजसेवा लगाउनेछु । अरु झैं बुढेसकालमा पनि मन्त्री बन्न पाइएला कि भनेर ढुकेर बस्दिनँ ।’-रमन पौडेल, रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget