Websoft University

www.radiomakalu.com || 021-522512


संसद्ले आज संविधान दिवस मनाउँदै

काठमाडौँ, असोज २ गते । संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको तयारीअनुरूप व्यवस्थापिका संसद्ले आइतबार पहिलो संविधान दिवस मनाउँदैछ । संविधान दिवसको मूल कार्यक्रम सोमबार हुनेछ । तर, तीन दिनसम्म दिवस विशेष रूपमा मनाउने सरकारको निर्णय अनुसार संसद्ले आइतबार नै दिवस मनाउने तयारी गरेको हो ।
संसद्ले आयोजना गरेको आइतबारको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारी तथा अन्य व्यक्तित्वको उपस्थिति रहनेछ ।
उपराष्ट्रपति नन्दबहादुर पुन हाल असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन भेनेजुयला जानुभएकाले संसद्ले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहुनेछैन भने सरकारले आयोजना गर्ने असोज ३ गतेको विशेष समारोहमा सभामुख ओनसरी घर्तीको उपस्थिति हुनेछैन । असोज २ गतेको कार्यक्रम सम्पन्न गरेर सभामुख ओनसरी घर्ती सोही दिन नै उत्तरको छिमेकी चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री भारत भ्रमण सकेर आउन ढिला हुने भएका कारण संसद्ले विशेष समारोह अपराह्न ४ बजे तय गरेको हो । प्रधानमन्त्री प्रचण्ड भने सोमबार बिहान ८ बजे सैनिक मञ्चमा आयोजना गरिएको विशेष कार्यक्रममा सहभागी हुनुहुनेछ र साँझ न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ ।
संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले समारोहको तयारी पूरा भएको जानकारी दिनुभयो । कुइँकेलले भन्नुभयो, “विशेष समारोहको तयारी लगभग पूरा भएको छ । निमन्त्रणा, सजावटलगायतको काम सकिएको छ । ”
संसद्को समारोहमा सभामुख ओनसरी घर्तीले सम्बोधन गर्नुहुनेछ । अन्य उपस्थित कसैको पनि सम्बोधन रहनेछैन । सभामुखको सम्बोधनपछि विशिष्ट पाहुनाका लागि सचिवालयले जलपान कार्यक्रम पनि राखेको छ ।
सरकारले संविधान दिवसको मूल समारोह भव्य रूपमा मनाउन यसअघि नै प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन गरेको छ । मूल समारोह समितिमा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, उपप्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, राज्यमन्त्रीहरू सदस्य हुनुहुन्छ । यस्तै मूल समारोह समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति, सर्वाेच्च अदालतका न्यायाधीश, सांसद, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, संसद् सचिवालयका महासचिव, राजनीतिक दलका प्रमुख, संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरू, नेपाल सरकारका सचिवलगायतको प्रतिनिधित्व रहनेछ ।
सरकारको कार्यतालिका अनुसार असोज ३ गते बिहान ८ बजे सैनिक मञ्चमा संविधान दिवस मूल समारोह समितिको कार्यक्रम हुनेछ । राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोग प्रमुख, राजनीतिक दलका प्रमुख, नेपाल सरकार तथा विभिन्न सङ्घसंस्थाका कर्मचारी, नागरिक समाजका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता हुनेछ ।
कार्यक्रम अनुसार संविधान दिवसको पूर्वसन्ध्यामा असोज २ गते (आइतबार) बिहान मुलुकभर महानगरपालिका, उपमहानगरपालिका र गाविसले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाउनेछन् ।
सोमबार हुने संविधान दिवस मूल समारोहको कार्यक्रमका दिन बिहान नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने कार्यक्रम छ । उपत्यकाबाहिर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget