Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रिय खेलले पूर्वमा उत्साह

खेल विवाद समाधान गर्न आग्रह, पूर्वाधारको काम भने सुस्त



पूर्वाञ्चलमा गर्न लागिएको सातौँ राष्ट्रिय खेलकुदको तयारीलाई तीव्रता दिइएको छ ।

खेलकुदको तयारीका लागि राष्ट्रिय खेलदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट आफै पूर्वका विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन्। उनले पूर्वका विभिन्न जिल्लाका खेलाडी तथा खेलप्रेमीहरुसँग भेटघाट गर्नुका साथै त्यहाँको भौतिक पूवार्धारको निरिक्षणसमेत गरेका छन् । दुई पटक मिति तय गरेर पनि स्थगित गरिएको खेलकुदलाई यो पटक भने मंसिर ८ देखि १५ गतेसम्मको निर्धारित मितिमा सम्पन्न गरीछाड्ने विष्टले बताएका छन्।

भर्खरै पूर्व आएका विष्टले धनकुटामा सामुदायिक भवन तथा ब्याडमिन्टन खेल उद्घाटन गर्नुका साथै भद्रपुरमा खेल पूर्वाधारको निरीक्षण गरेका थिए । सो क्रममा झापाका ११० वटा सामुदायिक विद्यालयहरुलाई खेल सामाग्री वितरण गरेका थिए । सोही समयमा काठमाडौबाट आएका अरुण उपाध्याय, राजु श्रेष्ठलगायत इन्जिनियरहरुले इटहरी, धरान, भद्रपुरलगायतका स्थानका खेल पूर्वाधारहरुको निरीक्षण गरेका थिए ।

खेल हुने मिति नजिकिँदै गर्दा सुस्त रहेको पूर्वाधार निर्माण र मर्मतको कामलाई छिटोभन्दा छिटो सक्नुपर्ने भएकाले इन्जिनियरहरुले निरिक्षण गरेर सुझाव दिएको पूर्वाञ्चल खेलकुद विकास समितिको सदस्य गणेश बुढाथोकीले जानकारी दिए ।



पूर्वाधारको काम सुस्त

निर्धारित मितिसम्ममा खेल पूर्वाधार तयार गर्नुपर्ने भएकोले परिषद् अहिले पूर्वमा केन्द्रित छ । तर पूर्वाधारहरुको निर्माण नै ढिलो मात्र सुरु भएकोले नयाँ भन्दा पनि धेरैजसो पुरानै पूर्वाधारहरुलाई मर्मत गरेर प्रयोग गरिनेछ ।

लामो समय मर्मत नगरिएका प्रायः मैदानहरुको अवस्था त्यती राम्रो छैन । प्रतियोगिताको मितिमा प्रयोगमा ल्याउने गरी फास्ट ट्रयाकमा पूर्वाधार निर्माण गर्न इन्जिनियरहरुको टोली सँग सँगै परिषद् सक्रिय छ ।

सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी गरी ६ वटा जिल्लामा सबै प्रतियोगिता गरिनेछन् । अन्य जिल्लाहरुमा खेल पूर्वाधार तथा खेलाडीहरुको लागि अभ्यास तथा स्वास्थ्य सुविधा नभएकैले खेलकुद गर्न नसकिएको बुढाथोकी बताउँछन् । ‘बाँकी जिल्लामा क्षेत्रीय स्तरको प्रतियोगिता मात्रै भएपनि गर्न सकिन्छ कि भनेर विचार गर्दैछौं, तर त्यो पनि निकै गाह्रो देखिन्छ,’ बुढाथोकी भन्छन् ।



पूर्व खेलाडीहरु उत्साहित

पूर्वाञ्चलमा खेलकुद प्रतियोगिता हुने भएपछि यस क्षेत्रका खेलाडी, खेलप्रेमीहरुका साथै पूर्व राष्ट्रिय खेलाडीहरु उत्साहित छन् ।

एकताका नेपाली फुटबलको पर्याय बनेका इटहरीका सुरेन्द्र तामाङले पूर्वाञ्चलमा खेल हुनु खेलको लागि मात्र नभएर पर्यटन व्यवशाय, होटल व्यवशायसमेतको लागिसमेत खुसीको कुरा भएको बताए । उनले राष्ट्रिय खेलले पूर्वका पूर्व खेलाडीलाई पनि कुनै न कुनै भूमिकामा समेट्ने विश्वास गरे । ‘पूर्वमै खेल हुने हुँदा हामीलाई पनि भूमिका दिए योगदान गर्न तयार छौं,’ उनले भने ।

यस्तै म्याराथुनका पदक विजेता राष्ट्रिय खेलाडी जितेन्द्र चौधरी तथा चन्दन चौधरीले समेत खेल प्रतियोगिताले पूर्वमा खेलको माहौल ल्याउने बताएका छन् । पहिलेभन्दा अहिले खेल प्रतियोगिताहरुमा पुरस्कार तथा सुविधा बढेको बताउँदै खेलाडीहरुको लागि राम्रो अवसर रहेको जितेन्द्रले बताए ।

यस्तै भलिबलका पूर्व राष्ट्रिय खेलाडी विश्व धिमालले प्रतियोगिताले यो क्षेत्रका खेलाडी र खेल पूर्वाधारको विकासमा सहयोग गरेको बताए । भलिबलको लागि व्यक्तिगत तथा संस्थागत सहयोग जुटाएर खेलाडीहरुलाई प्रोत्साहित गरिरहेका उनले आफ्नै ठाउँमा खेल प्रतियोगिता आयोजना हुँदा खेलाडीदेखि यहाँका सबै पक्ष उत्साहित भएको बताए ।



‘राजनीतिले खेल खस्क्यो’

राष्ट्रिय खेलकुदले सबै खेलाडीहरुलाई उत्साहित बनाइरहँदा तेक्वान्दोका खेलाडीहरु भने निराश रहेको तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी बताउँछन् ।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको तेक्वान्दो खेलमा भइरहेको राजनीतिकै कारण पछिल्लो समय खस्कँदै आएको पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक ज्ञानु विक बताउँछन् । उनले भने, ‘सार्कको गोल्ड मेडलिस्ट नेपाललाई उछिनेर बंगलादेश, माल्दिभ्स अगाडी आइसके, हामी भने विवादमै अल्झिरह्यौं ।’

३० वर्ष खेल जीवनमा बिताएका उनी अहिले आफै पनि होटल व्यवशायमा केन्द्रित छन् । दुई वटा तेक्वान्दो संघलाई मिलाएर लान नसक्दा खेलाडी छनौटसमेत सोर्सफोर्सका आधारमा हुने गरेको उनी बताउँछन् ।

उनले सातौं राष्ट्रिय खेलकुदले खेलाडी र पूर्वाञ्चललाई उत्साहित बनाएपनि खेलाडीलाई राम्रो खेल वातावरण बनाउने र उत्प्रेरणा दिने काममा राष्ट्रिय खेलकुद परिषद्ले ध्यान दिनुपर्ने बताए ।

सरकारको वेवास्ताको कारण धेरै पूर्व खेलाडीहरुको अवस्था राम्रो छैन । वैकल्पिक पेशा अपनाउनेहरुले जीविका चलाएपनि धेरै खेलाडीहरु मेडल र ट्रफी हेरेरै चित्त बुझाइरहेका छन् । खेलमार्फत् देशलाई योगदान दिने खेलाडीहरुको जीवनयापनको लागि राज्यले उचित नीति बनाउनुपर्ने विकको माग छ ।



६ हजार बढीको सहभागिता रहने

प्रतियोगिताले यो क्षेत्रको खेल प्रतिभाहरुलाई प्रोत्साहन हुने र सुस्ताएको खेल क्षेत्रलाई नयाँ ऊर्जासमेत दिने सदस्य सचीव विष्टले विश्वास व्यक्त गरेका छन्। ३२ खेलका लागि चार हजार २०० खेलाडीका साथै प्रशिक्षक, व्यवस्थापक र निर्णायक समेत गरी ६ हजार बढीको सहभागिता रहने छ ।

प्रतियोगितामा सहभागिता जनाउन जिल्ला स्तरको प्रतियोगिताको लागि खेलाडीले भदौ २० गतेसम्म जिल्लामा आवेदन फारम भर्नुपर्नेछ । असोज १४ गतेसम्म जिल्ला छनोट सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

जिल्लास्तरीय प्रतियोगिताबाट छानिएका खेलाडीहरुले कात्र्तिकमा विभिन्न क्षेत्रमा हुने क्षेत्रीय स्तरको प्रतिष्पर्धामा भाग लिनेछन् । सो क्रममा १० हजार खेलाडीले सहभागिता जनाउँदैछन् । मध्यमाञ्चलमा ३ हजार ९ सय ७२ जना, पूर्वाञ्चलमा २ हजार ९ सय ८९ जना, पश्चिमाञ्चलमा २ हजार ५ सय ९३ जना, मध्यपश्चिमाञ्चलमा २ हजार १ सय जना तथा सुदूर पश्चिमाञ्चलमा १ हजार ६ सय ९० जना खेलाडीले सहभागिता जनाउनेछन् ।

राष्ट्रिय खेलकुदको लागि छनौटमा परेका खेलाडीलाई प्रतियोगिताअघि पूर्वमै एक साता क्लोज क्याम्पमा राखी प्रशिक्षण प्रदान गरिनेछ । सातौं राष्ट्रिय प्रतियोगिताको उद्घाटन विराटनगरमा हुनेछ भने समापन धरानमा गरिनेछ । प्रतियोगितामा मोरङमा ११, सुनसरीमा १३, झापामा पाँच, सिरहा, सप्तरी र इलाम जिल्लामा एक–एकवटा खेलको आयोजना गरिनेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget