मधुमेह र उच्च रक्तचापका रोगी बढिरहेकाले मिर्गाैलामा समस्या बढ्नु स्वभाविक हो । मधुमेह र उच्च रक्तचापजस्ता रोगबाहेक एन्टिबायोटिक, पेनकिलरजस्ता डाक्टरको सिफारिस बेगर आफैंले प्रयोग गर्न सकिने औषधिको अत्यधिक प्रयोगले पनि मिर्गाैला फेल हुन सक्ने जोखिम बढेको छ । यसैगरी जाँडरक्सी, चुरोट आदि बढी सेवन गर्ने, तनाव लिने र व्यायाम नगर्ने व्यक्तिको मिर्गाैला सधैं जोखिममा हुन्छ ।
मिर्गाैला रोगका अनेक लक्षण छन् । कतिपय अवस्थामा लक्षण नै नदेखिई समस्या आएपछि मात्र थाहा हुन सक्छ । तीमध्ये केही लक्षण अनुसन्धानबाट पहिल्याइएका छन् । अत्याधिक थकाइ र कमजोरी महसुस हुनु, खानामा अरुची, निदाउन कठिनाइ, राति खुट्टाको मासु गल्नु र फर्किनु, गोडा सुन्निनु, बिहान आँखा वरिपरि सुन्निनु, छाला सुख्खा हुनु र चिलाउनु, राति बढी पिसाब लाग्नु, रक्तअल्पता र महिनावारीमा अनियमितता यसका लक्षण हुन सक्छन् । तसर्थ यस्ता लक्षण देखिए मिर्गाैलामा क्षति पुगेको वा नपुगेको परीक्षण गराउनुपर्छ ।
मिर्गौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मृगौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अंगमा लागेका रोगहरूका कारण । मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मिर्गाैलामा असर गर्न सक्ने सम्भावना रहन्छ । त्यस्तै मिर्गौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मिर्गौला बिगार्न सक्छ । ग्लोमरुलोनेफ्राइटिस, पोलिसिस्टिक किड्नी डिजिजले पनि मिर्गौला खराब गर्छ । यसैगरी हैजा, डायरिया, डिहाइड्रेसनले पनि मिर्गाैलामा समस्या आउँछ ।
वैदेशिक रोजगारीमा गएका युवामा मिर्गाैला फेल हुने समस्या आइरहेका छन् । यसको यथार्थ खोजी भइसकेको छैन । तर, शरीरमा पानीको मात्रा कम हुने (डिहाइड्रेसन) हुन सक्ने अनुमान गरिएको छ । यसैगरी केमिकल र रबर उद्योगमा काम गरेकाहरूमा कमसल स्वास्थ्य सुरक्षा प्रबन्धका कारण पनि मिर्गाैलाको समस्या देखिएको हुन सक्छ ।
वर्षमा एकचोटि मात्रै भए पनि पिसाबमा प्रोटिन र रगतमा क्रियटिनिन तथा युरिया जाँच गरेमा मिर्गौलाको स्थितिबारे थाहा पाइन्छ । मिर्गौलालाई सुरक्षित राख्न धेरै सजगता अपनाउनुपर्छ । आफ्नो शरीरको तौल सन्तुलनमा राख्नु, रक्तचाप नियन्त्रण गर्नु र मधुमेह नियन्त्रण गर्नु मिर्गौला बचाउने प्रमुख उपाय हुन्् । औषधि प्रयोगमा सावधानी नअपनाउँदा पनि मिर्गौला खराब हुन सक्छ । सामान्य बिरामी हुँदा पनि औषधि प्रयोग गरिहाल्ने (विशेष गरी पेनकिलर) खाने बानीले मिर्गाैला बिगार्न सक्छ । स्वच्छ पानी दिनमा ८ गिलासम्म पिउने, नियमित व्यायाम गर्ने, जाँडरक्सी तथा चुरोटबिँडीबाट टाढा रहने, सन्तुलित आहार गर्ने बानी बसाल्ने गर्नुपर्छ । परिवारका कुनै सदस्यमा मिर्र्गाैलामा पत्थरी, मधुमेहजस्ता रोग भएमा विशेष सजगता अपनाउनुपर्छ ।
मिर्गाैलामा असर भएका मानिसले धेरै प्रोटिनयुक्त खाना खानुहुन्न । सकेसम्म रातो मासु नखाने, दुध तथा दुग्धजन्य पदार्थ कम खाने, हरियो सागसब्जी दुईचोटी पखालेर खाने र अत्यधिक पोटासियमयुक्त फल (अंगुर, अनार, केरा र मौसम) खानुहुँदैन । आफ्नो मिर्गौला ठीक भए÷नभएको थाहा पाइराख्न नियमित चेकजाँच गराइरहन जरुरी छ ।
डा अधिकारी काठमाडौं किड्नी एण्ड डायबिटिज सेन्टर सिनियर फिजिसियन एण्ड नेफ्रोलोजिष्ट हुन् ।-डा लक्ष्मणप्रसाद अधिकारी swasthyakhabar
Post a Comment