Websoft University

www.radiomakalu.com || 021-522512


‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’

काठमाडौँ, भदौ १८ गते । ‘तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् । हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ ।
प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ । धार्मिक रूपमा तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो । पार्वतीले आफ्ना पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो ।
महिला अधिकारको गरिमामय चाडका रूपमा रहेको यो पर्व मनाउने क्रममा पछिल्ला वर्षमा केही विकृति भित्रिएका छन् । बढ्दो तामझाम र सहरीया जीवनशैलीमा आएको परिवर्तनले चेलीलाई घरमा बोलाएर मीठोमसिनो खुवाउने चलन अब होटल, क्याटरिङ र रेस्टुरातिर सरेको छ । विभिन्न पारिवारिक समूह, सङ्घ, संस्था, टोलछिमेक र पार्टीहरूले चेलीबेटीलाई दर खुवाउन यस्तै ठाउँमा बोलाउने गरेका छन् ।
धेरै दिनसम्म दरको नाममा भोज खाने गर्नाले अस्पतालमा पेटका रोगीको सङ्ख्या बढेको पाइएको छ । तीजको रमाइला गीतमा एउटा गीत थप्नुपर्ने भएको छ । त्यो हो– ‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’ । तीज आउनु निकै अघिदेखि दर खान थालेका महिलालाई परम्पराका गीतका सट्टा चेतनामूलक यस्तै गीत गाउनु सुनाउनुपर्ने अवस्था आएको छ । तीज आउनु महिना दिनअगावैदेखि दर खाएर पेट दुखाएका महिलाले केही दिनयता आयुर्वेद औषधालय धाउन थालेका छन् ।
बागमती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरी र यस अन्तर्गत भद्रबास, इचङ्गुनारायण, कीर्तिपुर, मातातीर्थ र दक्षिणकाली स्वास्थ्य केन्द्रमा दैनिक सरदर २० देखि ३० जना महिला पेटमा खराबी भएको भन्दै उपचार गर्न आउने गरेका छन् ।
जयवागेश्वरीस्थित बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. रुपेन्द्र पुरी भन्नुहुन्छ, ‘‘महिलाहरूले तीजको दर खाएरै पेट दुख्यो भनेर खुलाउँदैनन् तर स्वास्थ्य परीक्षण गर्न आउँदा लगाइएको पहिरन र भेषभूषाबाट दरले नै पेट गडबड भएको प्रस्ट्याउँछ । ’’
यस औषधालय अन्तर्गतको भद्रबास, इचङ्गुनारायण, कीर्तिपुर, मातातीर्थ र दक्षिणकाली औषधालयमा पेट खराब भएका महिला बढी आउने गरेका छन् । दर खाने भन्दैमा अबेर रातमा खाने, भोक लागेका समयबाहेकका अवस्थामा धेरै थरिका चिल्ला, पिरा, मसलेदार परिकार खाने र सादा भोजनको सट्टा वाइन बियरसहित पेयपदार्थ पनि दरका नाममा भित्रिएकाले यो समस्या देखा परेको डा. पुरी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– उच्च रक्तचापका बिरामीले नुन भएका धेरै परिकार खानै हुन्न यसले नुनको मात्रा बढाएर रक्तचाप बढाएको र चिल्लो खान नहुने ग्यास्ट्रिक पीडितले पेट दुखाएको घटना देखा परिरहेको छ । स्वच्छ पानी पिउने र दर खाने स्थान सरसफाइयुक्त छ छैन ख्याल नगर्ने यहाँ देखियो । वीर अस्पताल इमर्जेन्सी विभागका डा. किरण महर्जन भन्नुहुन्छ– गर्मी मौसममा तीज पर्व पर्ने भएकाले बासी, सडेगलेका खानेकुरा नपरोस् भनेर ख्याल गर्दा पेटमा समस्या आउँदैन, प्रायः बासी र सडेगलेको भोजन दरमा पर्दा यो समस्या देखिएको छ ।
नरदेवीस्थित आयुर्वेद अस्पतालका डा. रामकामेश्वर ठाकुरका अनुसार नरदेवी अस्पतालमा पनि पेट दुखाएर आउने निकै छन्, खानपानको परिमाण र अमिल्दो खानपान पेट दुखाइको कारण भएको छ । तीज पर्वको आसपास अस्पतालमा पेटसम्बन्धी रोग निदान गर्न आउनेको भीडभाड रहँदै आएको छ । डा. ठाकुर तीजको आसपास पेटका बिरामी बढी आउने नै समय हो भन्नुहुन्छ ।
तीलगङ्गास्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्न आउने महिला अचेल निकै छन् । साँखुको पुखुलाछी प्राथमिक स्वास्थ्य केन्द्रमा पेटमा अपच भई जचाउन आएका केही बिरामी केन्द्रमा अबेरसम्म कोही नआएपछि फर्किएका छन् । डा. किरण महर्जन भन्नुहुन्छ, ‘‘गर्भवती, अल्सर पीडित, ग्यास्ट्रिक पीडित, उच्च रक्तचाप, चिनी रोग भएकाले खानपानमा ख्याल गर्नैपर्छ । ’’

सुरक्षाकर्मी परिचालन

तीजको बेला सार्वजनिक सवारी साधनमा सवार महिलामाथि हुने अश्लील व्यवहार, गरगहना लुटपाट, चोरीजन्य अपराधिक क्रियाकलाप नियन्त्रण गर्न महानगरीय प्रहरीले क्यामेरासहितका सुरक्षाकर्मी परिचालन गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले बिहीबारबाट नै चक्रपथ रुटमा सञ्चालन हुने बस र माइक्रो बसमा एक्सन क्यामेरासहित सादा पोसाकका प्रहरी कर्मचारी परिचालन गरेको छ । परिसरका प्रवक्ता ईश्वर कार्कीका अनुसार, तीजलाई लक्षित गरी यस्तो सुरक्षा निगरानी बढाइएको हो ।
नेपाली महिलाहरूकोे महìवपूर्ण चाड तीज शान्त र सुरक्षित बनाउन उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सुरक्षा निगरानी बढाइएको हो । तीजमा महिलाहरू आकर्षक पहिरनका साथै गरगहना लगाएर मठमन्दिर तथा माइतीघर निष्कने भएकाले उनीहरूमाथि दुव्र्यवहार तथा अपराध हुन सक्ने अनुमान प्रहरीको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget