Websoft University

www.radiomakalu.com || 021-522512


घनश्याम भुसालको भद्रगोल प्रवृत्ति



“…हाम्रो पार्टीको वैधानिक र संस्थागत जीवन अहिले जस्तो कहिल्यै भत्केको थिएन । ..पार्टी भित्र व्यापक गुटबन्दी रहेको छ ।” –घनश्याम भुसाल ।
–प्राडा. बद्रीविशाल पोखरेल
असोज ४ गते एमाले पार्टी स्थायी समितिमा सचिव घनश्याम भुसालले प्रस्तुत गरेको २६ पानाको वैकल्पिक प्रतिवेदनबाट उध्रित गरिएका हु्न् । भुसालले अत्यन्त उचित कुरा उठाउनु भएको देखिन्छ । २०७३ साउन ८ गते संसद भवनमा एमाले वरिष्ठ नेताले औपचारिक रुपमा पार्टी अनुशासन, पद्धति र प्रणालीको बर्खिलाफ देख्नेलाई समेत लाज हुने गरी एमाले पार्टी र सरकारमा पनि गुट हाबी छ भनी तत्कालीन प्रधानमन्त्री ओली लक्षित खुल्ला उद्घोष गर्नुभयो । अनि अर्का नेताले आफ्नै पार्टीका राष्ट्रपतिका उम्मेदरवारलाई भोटै दिनुभएन । यस्ता जग हसाउने काम ओली नेतृत्वका पालामा नै भएकाले भुसालका अनुसार अध्यक्ष ओली दोषको भागी हुनैपर्छ ।

तर ओली स्वयंले चाहिँ के गर्नुभएछ भने नवौँ महाधिवेशनमा बहुमतसहित विजय हासिल गरे पनि स्थायी समिति, सचिवालय, पोलिटब्युरो, केन्द्रीय विभाग तथा मन्त्रीमण्डलको चयनमा आवश्यक सन्तुलन कायम गरी सर्वसम्मत बनाउनुभयो । बरु कतै केही मुद्दा नपाएर स्थायी समितिको एउटा बैठकमा आजसम्म नभएको लिखित असहमति स्वयं भुसाल गुटले गरेको सञ्चार जगत्मा आएको थियो । आफ्ना सम्धी, ज्वाइँ चाहिँ गुटका नाममा उल्लेखनीय राजनीतिक र राजकीय पद र प्रतिष्ठाका पदमा विराजमान गराएर उल्टै ओलीलाई गुटगत गतिविधि गर्नुभयो भनेर अलाप विलाप गर्नुको कुनै अर्थ छैन । गुट भनेको लोभीपापी समूह मात्र होइन, विचार समूह पनि हो ।

कार्लमाक्र्स, माओ, लेनिन, मदन र ओली गुट होइनन् । त्यसैले गुट भनेर सबैलाई सोलोडोलो स्तरहीन आरोप लगाउनु हुँदैन । विचारविहीन गुट केवल निकृष्ट व्यक्तिगत र समूहगत स्वार्थमा मात्र निर्लिप्त हुन्छ । यसले कहिल्यै सिर्जनात्मक तथा दूरगामी काम देख्दैन र गर्दैन । जननेता मदन भण्डारी चौथो र पाँचौँ महाधिवेशनबाट महासचिव हुनु भयो । ती दुवै कालखण्डमा उहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा दूरगामी तथा प्रभावपूर्ण काम गरेर देखाउनुभयो । संयुक्त जनआन्दोलन मार्फत् पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था स्थापना गर्ने कामको संयोजन मदनले गर्नुभयो । त्यसपछि पाँचौँबाट महासचिव भएपछि मदनले जबजको सिद्धान्त स्थापित गर्नुभयो ।

कम्युनिस्ट पार्टी एमालेलाई देशव्यापी बनाउनुभयो यही रापतापमा नौ महिने सरकार बन्यो । तुलना नै गरेर हेर्ने हो भने मदन अघि र पछि पनि पार्टी महासचिव थिए र भए पनि ।

तर के कति दूरगामी काम भए ? भएनन् । बरु हुँदाहुँदा मदन र जबजको राप, ताप र प्रताप रहुन्जेल पार्टी जीवित थियो । राप सेलाएपछि नेतृत्वमा लुर नहुँदा पार्टी धर्मशालाजस्तै हुन गयो । नवौँ महाधिवेशन गुटगत गतिविधिका हिसाबले अविस्मरणीय रह्यो । माधव नेपालले सहज रुपमा नेतृत्व हस्तान्तरण नगरेर माथिदेखि तलतलसम्म गुटगत अनुचित क्रियाकलाप नगरी पार्टीलाई चिराचिरा नपारेको भए यसरी पार्टीमा भाँडभैलो हुने थिएन । नवौँ महाधिवेशनका बेला ओली कित्ताप्रति निकृष्ट, नियोजित र निच भन्न पनि मिल्ने आक्षेपपूर्ण अग्नि वर्षा रुपी सबाल नगरेको भए ओली कित्ताबाट जवाफ आउने नै थिएन ।

त्यसबेला भुसालले नै यहाँ ब्ल्याकमेलिङ गर्न खोजिँदैछ भनेर ओली केन्द्रित गम्भीर आक्षेपपूर्ण आरोप लगाउनु भएको होइन ? त्यति नै बेला उदयपुरे नेता जगन्नाथ खतिवडाले ओली मृत्युको अन्तिम घडीमा रहेको दुष्प्रचार गर्नुभएको होइन ? ओली लक्षित अनेक फतुर आरोप, आक्षेप र निकृष्ट अभिव्यक्ति अझै पनि सुरक्षित छन् । आवश्यक परे तिनलाई नै अगाडि सारेर बहस गर्न सकिन्छ । अनि अहिले भुसालले ओलीसित दाँजिएर वैकल्पिक राजनीतिक प्रतिवेदन पेस गर्नुको कुनै तुक र्छैन । यसरी सबका सबले वैकल्पिक प्रतिवेदन पेस गर्दै जानेहो भने के जात्रा होला । अहिले पार्टी स्कुल विभागले पार्टीव्यापी सघन प्रशिक्षण अभियान सञ्चालन गरेको देखिन्छ ।

यसलाई उपलब्धिमूलक हिसाबले सञ्चालन गर्ने बित्तिकै आम कार्यकर्ताको स्तर बलियो हुनेछ । अनि त्यसबेला नेताका जुँगा जता चले त्यतै कुद्ने कार्यकर्ताको सङ्ख्या अत्यन्तै पातलो हुने छ । त्यसबेला मात्र सही नेतृत्व पार्टीमा स्थापित हुन्छ । नत्र ओलीले ल्याएको पार्टी सङ्गठनको लोकतान्त्रीकरण मान्यता सातौँमा किन कुनामा पारियो ? आठौँमा ओलीको विचार पारित हुने अनि नेता चाहिँ अर्को हुने हुन्छ ? कम्युनिस्ट पार्टी अथवा सिद्धान्त केन्द्रित पार्टीहरुमा यस्तो कहाँ हुन्छ र भएको छ ।

तपाईंहरुले सके पार्टी र मोर्चाका चुनावमा जसरी पनि बहुमत ल्याउने, नसके समानान्तर सङ्गठन गरेर जाने नियतले काम गरेको होइन ? छैन र ? तपाईंले विराटनगरतिर आएका बेला लगाएको यस्तो उल्टो लिस्नोमा सहमतिमा आउनै नमान्ने अनि चुनावमा भाग लिएर अत्यन्त न्यून मत प्राप्त गरी पराजित भएर बुद्धिजीवी परिषद् मोरङमा डा. उद्धव पोखरेल गुटले रत्यौली खेलेर विजय हासिल गरेका होइनन् र ? अहिले जसको जिल्ला अध्यक्ष हुने मत थिएन उही केन्द्रीय सदस्य ?
एउटा नेताको सक्कली चिनारी उसकोे राजनीतिक समग्र सिद्धान्त, सङ्गठन र सिर्जनात्मक जीवनलाई मसिनो गरी नियालेर मात्र थाहा पाइन्छ । दूरदर्शी सोच, सिद्धान्त र सङ्गठनसम्बन्धी मान्यता राख्ने सही नेता हुन्छ । सिद्धन्तनिष्ठ नेता कम्युनिस्ट सिद्धान्त परित्याग गरेर प्रतिक्रियावादी कित्तामा लहसिएका डा. बाबुराम भट्टराईको माओवादी पार्टी परित्यागमा कार्लमाक्र्स नै बितेझैँ गरेर रोइलो लेख लेख्दैन । भुसालमा वैचारिक स्थिरता खासै देखिएको छैन ।

अस्थिरताले अन्यौल ल्याउँछ, अन्यौलले कुहिराको काग बनाउँछ । मदनले जबजमा सिद्धान्तका सबालमा नेता र कार्यकर्तालाई अत्यन्तै गम्भीर बन्न आग्रह गर्नुभएको छ । भुसालमा जबजप्रतिको बुझाइमा धेरै अलमल देखिन्छ । भ्रमपूर्ण दृष्टिचेतले राजनीतिक जीवन समाप्त हुन्छ । डा. बाबुराम पति, पिता, पुत्र र सामाजिक सचेत मानवका दृष्टिले अविराम नै हुनुहुन्छ तर राजनीतिक दृष्टिकोणले उहाँ पूर्णविराम हुनुभयो । यस्तो लकपके नेतृत्व पार्टीको शीर्षस्थ स्थानमा पुग्यो भने व्यक्ति नेताको त कुरै छाडौँ आन्दोलनमा नै भद्रगोल उत्पन्न हुन्छ फलतः समयक्रममा ध्वस्त, भष्म र खरानी हुनेछ । भुसाल आफ्ना भद्रगोल प्रवृत्तिसितै कुन चाहिँ गोलपोस्टबाट छिर्नुहुन्छ केही भन्न सकिन्न । भुसालका उहिल्यैदेखि अहिलेसम्मका लोली र बोली सुन्दा र बुझ्दा भद्रगोल प्रवृत्ति नै देखिन्छ । किनकि मनको कुरा नै बोलिने हो ।

सच्चा नेताले सय पचास वर्षको भविष्य देख्न सक्छन् । ठेस लाग्दै बुद्धि फेर्दै गर्ने नेता नेता हुनसक्तैन । सति सालझैँ सय वर्ष लडा, पडा र खडा तथा इमान, जमान र कमान्ड भएको नेता मात्र सही नेता हुन्छ । लम्बे अभियानमा सरिक नेता खुद्रा मसिना कुरामा अल्झिँदैन । हिजो चाहिँ लिङ्ग पहिचान नभएको एमाले पार्टी आज चाहिँ देश, जनता र जनजीविकाको मियो बन्ने कारण नेतृत्व हो । हिजो बन्न नसकेको संविधान अहिले बनेको र पारित भएको छ । हिजो भारतेली शासकसामु लम्पसार पर्ने नेपाल सरकार आज मोदी सरकारलाई थुरथुर कमाउने ठाउँमा पुगेको छ ।

यी सबै काम ओलीका पालामा नै हुनुपर्ने हो र ? अरुले हिजो किन गर्न सकेनन् ? भुसालको अध्ययन विस्तृत देखिन्छ तर अध्ययनको दिशा र दृष्टिमा गम्भीर कमजोरी रहेको छ । माओले सिद्धान्त सही भएर पनि त्यसलाई व्यहारमा इमानदारिताका साथ उतार्न सकिएन भने सफलता हासिल हुँदैन भन्नु भएको छ । तर भुसाल जबजको सारतत्वलाई निफन्ने, उजिल्याउने र केलाउने कुरामा पर्याप्त अलमलिनु भएको देखिन्छ । सरक्क हेर्दा जबज स्वीकारे जस्तो तर जबजमा उल्लिखित मूल्य र मान्यताका बारेमा विरोधाभासी अभिव्यक्ति भुसालको रहेको छ । यसलाई सविस्तार अर्कै लेखको विषय बनाउनुपर्ला । सत्य कुरालाई लामो समयसम्म थुन्न, छेक्न र भ्रमित पार्न सकिन्न । घनश्याम भुसालको पार्टी जीवनका सबै पहल गहिरो रुपमा हेर्दा अध्ययन गर्दा उनमा नकारात्मक प्रवृत्ति बढी भएको छनक पाइन्छ । दृष्टि दोष हुँदा सद्दे र सही कुरा पनि देखिन्न ।

देखिने र सुनिने जबजको खोजमा भौँतारिनु भएका भुसालले जबज निर्देशित ओलीको राजनीतिक र राजकीय नेतृत्वका सबल पक्ष देख्नु नै भयो । उहाँले ओली सरकारका सकारात्मक पक्षको प्रतिवेदनमा चर्चा गरेको देखियो तर ती सबै काम जबजका प्रकाशमा गरिएको भनेर भुसालले बुझ्नु भएन भने फेरि समस्या उत्पन्न हुन्छ । पार्टी सचिव भट्टाराईले ओली नेतृत्वलाई लक्षित गरेर पार्टीमा नाकाबन्दी गरिएको जस्ता तुच्छ आरोप लगाउनु कुन शुद्धमतिको प्रलाप हो ? एमालेका केही उपल्ला र माथिल्ला तहका नेतालाई कतिखेर कहाँ के बोल्ने भन्ने पनि होस देखिएन ।

राष्ट्र विखण्डनको गम्भीर मोडका बखत घर विखण्डन गर्न उद्यत हुनु सुहाउने र सोच्ने कुरा हो ? यस्ता बेलामा एमाले नेता आफ्नो आङ कन्याएर छारो उडाउन उद्यत छन् । देश रहे पार्टी, अनि पार्टी रहे नेता । ओली नेतृत्वको सरकारका विकल्पमा एमाले भित्रै अर्को प्रधानमन्त्रीको खोजी गरिएको त थाहा भयो नि । पार्टीभित्र केकस्ता, ककसले केके खिचडी पकाउन चाहन्छन् र खोज्छन् बुझ्नेले त बुझ्छन् नि । सबै एमाले हुस्सु छैनन् नि । हिजो ओली प्रधानमन्त्री हुँदा दिनहुँ जसो राष्ट्रिय सरकारको दुहाइ दिने एमाले नेताको बोली किन बन्द भयो ? हिजैका दिन केही उपल्ला एमाले नेताले ओली सरकारका राम्रा पक्षहरु खुल्ला दिलले बोल्न मन नगरेको पनि देखिएको र सुनिएको हो नि ।

यो चाहिँ गुटगत क्रियाकलाप होइन ? अनि एमालेमा उपल्लो तहमा व्यभिचारी नेता छन् भनेर विक्षिप्त कुरा गर्नु चाहिँ कुन गुटगत क्रियाकलाप हो भुसाल कमरेड ? माओले भुलहरु देखाउनुपर्छ, सच्याउनुपर्छ भन्नु भएको छ र उहाँले बिसालु झारपातरुपी गलत विचार उखेल्नुपर्छ भन्नुभएको पनि छ । अनि मदनले पनि जबजमा प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गर्नुभएको छ । यी सब उदाहरणको अर्थ पार्टी नेताका भुलहरु, बिसालु र नसालु विचार, चिन्तन र व्यवहारलाई मलजल गरेर स्याहार्नु भनेको पटक्कै होइन । त्यसैले कमरेडहरु होस गरौँ ।

अब एमालेभित्र पनि घाम लागेको छ । घाम लागेपछि अँध्यारो मासिनै पर्छ नत्र अँध्यारालाई डढाउने गरी पनि घाम लाग्नेछ । ओली प्रधामन्त्री हुँदा ताका सचिवालयमा दुर्नामीले पार्टीको बहालवाला मन्त्री तथा उदीयमान अविवाहित नेतालाई समेत षडयन्त्रपूर्वक बदनाम गर्न खोजेको थाहा भएकै हो । एउटा राप, ताप र प्रताप भएको भनिएको नेतृत्वसामु यस खालका हर्कत हुनु सामान्य कुरा होइन । आगाको धर्म डढाउने नै हो । एउटा लेखकका नाताले यो धर्म निर्वाह गर्नैपर्छ । तर एमाले नेताहरु आफ्नै पीरले भष्मखरानी नहुन् ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget