Websoft University

www.radiomakalu.com || 021-522512


थाहै नपाई अन्धो बनाउने जलबिन्दुबारे १० तथ्य

थाहै नपाई अन्धो बनाउने जलबिन्दुबारे १० तथ्य

जलबिन्दु आँखामा निम्तिने गम्भीर प्रकृतिको रोग हो । आँखामा दबाब भएर दृष्टिसम्बन्धी स्नायु (अप्टिक नर्भ)मा क्षति पु-याई अन्धोपन निम्तिनुलाई जलबिन्दु भनिन्छ ।

प्रारम्भिक चरणमा जलबिन्दुका केही लक्षण देखिने भए पनि कहिलेकाहीँ कुनै पनि लक्षण देखिँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर दृष्टि गुमाउने प्रमुख कारणहरूमध्ये जलबिन्दु दोस्रो समस्या हो । नेपालमा पनि जलबिन्दुका कारण दृष्टि गुमाउनेको यकिन तथ्यांक नभए पनि समस्या जटिल छ । वरिष्ठ आँखारोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेलले जलबिन्दुबारे १० तथ्य खुलाएका छन् :

१. जलबिन्दु आँखामा प्रेसर भएपछि आँखाको नसामा असर भएर अन्धो बनाउने समस्या हो । जलबिन्दु दुई प्रकारका हुन्छन् । आँखाभित्र बन्ने पानी (एक्युस ह्युमर) राम्रोसँग सञ्चालन तथा निकास नहुँदा जलबिन्दु हुने गर्छ । आँखामा प्रेसर बढ्नु नै जलबिन्दु हुनु हो ।

२. जलबिन्दु दुई प्रकारका हुन्छन्– प्राइमरी ओपन एंगल र क्लोज्ड एंगल । आँखाभित्रको पानी सजिलै निकास नभएपछि प्रेसर बढेर आँखाभित्र हुने एउटा एंगल खुल्नुलाई ओपन एंगल भनिन्छ । यस प्रकारको जलबिन्दु आँखाले झ्याप्पै देख्न छोडेपछि मात्रै थाहा हुन्छ । क्लोज्ड एंगल जलबिन्दु भएको बिरामीलाई भने आँखा बिग्रिँदै गएको प्रारम्भिक लक्षण देखिन्छ ।

३. अधिकांशलाई ओपन एंगल जलबिन्दु हुन्छ, जुन वेलैमा थाहा हुँदैन । अधिकांशमा आँखा बिग्रिएपछि मात्रै थाहा हुने भएकाले जलबिन्दुलाई साइलेन्ट प्रोब्लम भनिएको हो ।

४. क्लोज्ड एंगल जलबिन्दु भएकामा भने लक्षण देखिन्छ । जलबिन्दु हुँदा आँखाको भिजन कम हुन्छ । साँझपख हल्का टाउको दुख्ने तथा भारी हुने लक्षण जलबिन्दुको हो । टाउको भारी भएजस्तो अधिकांशमा हुन्छ । केहीमा भने सेतो बत्तीमा हेर्दा इन्द्रेणी परेजस्तो देखिन्छ । यसबारे पनि अधिकांशले ख्याल गर्दैनन् । आँखाको स्वास्थ्यबारे चलाखी अपनाउनेलाई मात्रै थाहा हुन्छ ।

५. जलबिन्दु भएको मानिसले सीधा अगाडिको चिज स्पष्टसँग देख्न सक्छ । तर, आफूभन्दा छेउछाउको चिज भने आँखाले ठम्याउन सक्दैन । यस्तो समस्यामा अधिकांशले ख्याल नपु-याउने भएकाले समस्या गम्भीर बन्दै गइरहेको हुन्छ ।

६. ४० वर्ष कटिसकेका व्यक्तिको आँखामा छिटोछिटो पावर परिवर्तन भइरहन्छ र चस्मा फेरिरहनुपर्ने हुन्छ भने जलबिन्दु भएको हुनसक्छ । यस्तो अवस्था कि त जलबिन्दुले कि त ब्लडसुगरले निम्त्याउने गर्छ । त्यसो त हाई ब्लडप्रेसर र सुगर पनि जलबिन्दु निम्त्याउने कारण बन्ने गर्छन् ।

७. जलबिन्दु वंशाणुगत समस्या पनि हो । परिवारमा कसैलाई जलबिन्दु भएमा पछिल्लो पुस्तामा सर्दै जाने हुनसक्छ ।

८. जलबिन्दु भएको सुरुमै थाहा भए औषधिकै माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । जलबिन्दु औषधिले ठीक नभएमा लेजर गर्नुपर्ने हुन्छ । लेजरले पनि नभए शल्यक्रिया अन्तिम विकल्प हो ।

९. जलबिन्दुले गुमिसकेको दृष्टि फर्काउन सकिँदैन । बचेको दृष्टि भने उपचारबाट जोगाउन सकिन्छ । वेलैमा उपचार भए आँखाको ज्योति जुन अवस्थामा छ, त्यही अवस्थामा कायम राख्न सकिन्छ ।

१०. आँखा संवेदनशील अंग भएकाले हरेक स्वस्थ व्यक्तिले पनि कम्तीमा ६–६ महिनामा नियमित जाँच गराउनुपर्छ । नियमित जाँच गराउँदा लजबिन्दु भए-नभएको थाहा हुन्छ । प्रारम्भिक चरणमै थाहा भए तुरुन्त समस्याको समाधान गरेर दृष्टि जोगाउन सकिन्छ ।

नयाँ पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget