Websoft University

www.radiomakalu.com || 021-522512


नेतालाई दुख्दा मात्र देशलाई दुख्नुपर्ने !

Deva-Prakash-Tripathi-2

देवप्रकाश त्रिपाठी
सांसारिक झमेलामा उल्झिएको मानिस परमात्मासँग साक्षात्कार हुन असम्भव छ, दुई छाक खानका लागि मात्र चिन्तित मानिसमा अरूको भोक बुझ्ने या अर्काको निम्ति केही गर्ने सामथ्र्य हुँदैन । खाल्डो खन्ने मानिसले गहिराइ बुझ्न सक्ला, तर उचाइको अर्थ बुझ्न कठिन हुन्छ । जसलाई जे गन्तव्य प्राप्त गर्नुपर्ने हो सोहीअनुरूपको कर्म र साधनामा आफूलाई समर्पण गराउन सक्दा मात्रै साध्य प्राप्ति सम्भव हुनसक्छ । राजनीतिको मूल उद्देश्य जनसेवा हो र जनसेवालाई नै राष्ट्रसेवाका रूपमा बुझ्ने गरिन्छ । मनोविज्ञानको सामान्य नियमअनुसार मानिसमा सङ्ग्रह गर्ने प्रवृत्ति जन्मजात गुणका रूपमा रहन्छ र अरूको स्वार्थप्रति आफूलाई संवेदनशील तुल्याउन व्यक्तिले अनेक साधना गर्नुपर्ने हुन्छ । राजनीतिलाई अरूहरूको अर्थात् समाजको स्वार्थका निम्ति गरिने कर्म पनि भन्न सकिन्छ र राजनीतिमा संलग्न मानिसले सधैँ समाज र राष्ट्रको स्वार्थलाई उच्चतम् प्राथमिकतामा राख्न सक्नुपर्छ ।

सामान्य मानिसबाट समाज र देशको हितमा काम हुन मुस्किल पर्ने ठहर भएर नै हुनसक्छ प्लेटोले राज्यसत्ताको उच्चतम् तहमा रहेर काम गर्ने व्यक्ति अर्थात् शासक दार्शनिक गुणको र परिवारविहीन हुनुपर्छ भन्ने निष्कर्ष निकाले । उनले ‘आदर्श राज्य’को परिकल्पना गर्दा शासक दार्शनिक गुण भएका, तर परिवार नभएका या पारिवारिक झमेलामा नपरेका व्यक्ति हुनुपर्ने र प्रशासक तथा सुरक्षाकर्मीहरूको परिवारको जिम्माचाहिँ राज्यले लिनुपर्ने अवधारणा बनाएका हुन् । तर, प्लेटोको सोचअनुरूप ‘आदर्श राज्य’ संसारमा कहीँ कतै स्थापना हुन सकेन, उनको अवधारणा केवल एउटा आदर्शकै रूपमा मात्र पुस्तकहरूमा सीमित हुन पुगेको छ । विश्वका सबैजसो मुलुकमा भएका राजनीतिक अभ्यासले उच्चतम् गुण, चेतना र चरित्रका व्यक्तिको राजनीतिमा केन्द्रीय भूमिका भएको पुष्टि गर्दैन । उच्चस्तरीय गुण–चेतनासम्पन्न व्यक्ति पद प्राप्तिकै लागि भनेर जालझेल, कपट, तिकडम र धोखाधडीजस्ता तुच्छस्तरीय कार्यमा सामेल हुन सक्दैनन् । उच्चपदीय हैसियत प्राप्त गर्ने क्रममा व्यक्तिले जुन स्तरका कथकण्डा अपनाउनुपर्ने हुन्छ त्यसले व्यक्तिमा भएका केही सद्गुणहरू पनि विसर्जन गरिसक्नुपर्ने अवस्थामा पु¥याउँछ ।

प्लेटोले परिकल्पना गरेजस्तो राजनीतिकर्मी संसारका कुनै मुलुकले प्राप्त गर्न सकेनन् भने नेपालले मात्र त्यस्ता सद्गुणी नेता प्राप्त गर्ने या त्यस्ता नेताको कदर गर्ने सम्भावना कसरी होस् † तुलनात्मक रूपमा कम स्वार्थी, कम आत्मकेन्द्रित, दूरदर्शी र देशभक्त नेतृत्वको अपेक्षा हरेक देशले गरेको हुन्छ र नेपालीको अपेक्षा पनि योभन्दा बढी होइन । तर, हामीले तुलनात्मक रूपमै पनि अपेक्षा गरिएअनुरूपको योग्य व्यक्ति प्राप्त गर्न सकिरहेका छैनौँ । आफ्नो स्वार्थलाई राष्ट्रको स्वार्थ ठान्ने, आफ्नो दुःखलाई राष्ट्रको दुःख ठान्ने, आफ्नो आवश्यकतालाई देशको आवश्यकता ठान्ने र आफ्नो सम्मान या अपमानलाई राष्ट्रको सम्मान या अपमान ठान्ने आत्मकेन्द्रित नेताबाट नै हामी नेपालीले काम चलाउनुपरेको छ । नेपालका जिम्मेवार मानिएका नेताहरूमा आत्मकेन्द्रित मानसिकता कुन हदसम्म बलियो देखिन्छ दृष्टान्तहरूबाट बुझ्न सकिन्छ ।

हाल प्रधानमन्त्री पदमा रहेका प्रचण्डका अनुसार गत वर्ष संविधान निर्माण गरी जारी गर्ने क्रममा परामर्शका लागि नेपाल आएका भारतीय विदेशसचिव जयशङ्करले बन्द कोठाभित्र छलफलका क्रममा प्रचण्डलाई बिझाउने–दुखाउने व्यवहार गरे । ‘तपाईंहरूलाई यो हैसियतसम्म पु¥याउन हामी (भारत)ले निर्वाह गरेको भूमिका स्मरण गर्न’ उनले प्रचण्डलाई सुझाव दिएछन् । प्रचण्डको कमलो मन जयशङ्करका कुराले अत्यन्तै दुखाएछ, उनले आफूलाई अपमान गरेको ठानेछन् र जयशङ्करको सुझावलाई राष्ट्रियतामाथि गम्भीर हस्तक्षेपको रूपमा बुझेछन् । त्यसपछि जयशङ्करबाट छुट्टिएर बाहिर प्रकट हुनेबित्तिकै प्रचण्डले नेपालको सम्प्रभुत्तामाथि भारतको हस्तक्षेप भएको निष्कर्ष सुनाउँदै उनले आमनेपाली जनतालाई राष्ट्रियताको रक्षाका निम्ति एकजुट भएर प्रतिवाद गर्न आह्वान गरे । इन्धन उपलब्ध नभए साइकल चढेर राष्ट्रियता जोगाउनुपर्ने विचार पनि प्रचण्डले त्यसबेला सार्वजनिक गरेका हुन् । भारतसँग आफू नझुक्ने भन्दै उनले जनतालाई पनि भारतसँग झुक्नुभन्दा भोकै बस्नु उचित हुने सुझाव दिएका थिए । जयशङ्करले ‘नराम्रोसँग’ चित्त दुखाइदिएका कारण प्रचण्ड गत वर्ष रातारात राष्ट्रवादी बन्न बाध्य हुनुपरेको थियो । यदि जयशङ्करले बन्द कोठाभित्र प्रचण्डलाई ‘प्रसन्न तुल्याइदिएको’ भए हाम्रो राष्ट्रियता सङ्कटमा परेको नहुने रहेछ । आफूलाई अपमान गरेको अनुभूति भएपछि प्रचण्डले सिङ्गै नेपाल र नेपाली जनतालाई अपमान गरेको ठाने । नेपाल र नेपाली जतिसुकै सम्मानित या अपमानित र उपेक्षित भए पनि नेताहरू आफू सम्मानित या अपमानित हुनुलायृ मात्र देशकै सम्मान या अपमानका रूपमा बुझ्छन् भन्ने एउटा दृष्टान्त हो यो ।

०५८ साल साउन महिनाको पहिलो सातामा तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सचेत गराउने या अर्को कुनै उद्देश्यले तात्कालिक राजा ज्ञानेन्द्रबाट ‘तपाईंलाई जनताले भ्रष्टाचारी भन्दारहेछन्’ भन्ने वाक्यांश प्रयोग भएछ । राजाको यस्तो वाणी गिरिजाप्रसादका लागि यति अपमानजनक हुन पुग्यो कि उनले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा मात्र दिएनन्, राजतन्त्र विस्थापित गरी राजासँग बदला लिइछाड्ने अठोट पनि कोइरालाबाट भयो । आफ्नो निजी चित्त दुखाउनुलाई उनले आमजनताको चित्त दुखाएको ठाने र यसले कोइरालालाई गणतन्त्र घोषणा गर्ने अवस्थासम्म पु¥यायो । कम्युनिस्ट र रामराजाप्रसाद सिंहहरूले गणतन्त्रको नारा लगाउँदा घनघोर आपत्ति–विमति जनाउने गिरिजाप्रसादले प्रजातन्त्रको स्थायी सुरक्षाका लागि गणतन्त्र स्वीकार गरेको नभई उनको आफ्नो चित्त दुखेकोले राजासँग बदला लिनका लागि मात्र गणतन्त्र घोषणासम्म पुगेका थिए भन्ने तथ्यहरूले पुष्टि गर्दछ ।

देशको दोस्रो ठूलो राजनीतिक दल नेकपा एमालेका सर्वाधिक बलशाली नेता माधवकुमार नेपाल राजाबाट कुनै विषयमा छलफलका निम्ति आमन्त्रित भएर जाँदा उनी सवार कारलाई नारायणहिटी राजदरबारको भित्री भागसम्म प्रवेश गर्न नदिएपछि उनलाई पनि गणतन्त्र नै ल्याइदिनेस्तरको झोंक चलेछ । माधवकुमार नेपाल स्वाभिमानी नेता भएकोमा शङ्का गरिरहनु नपर्ला, सम्मान र प्रशंसालाई गिरिजाप्रसादले झैँ एकलौटी आफ्नो मात्र हक नठाने पनि उनी सम्मान र प्रशंसापे्रमी नेता अवश्य हुन् । कतिपय नेताका गाडी राजदरबारको भित्री भागसम्म जान दिइएको, तर आफूलाई पश्चिम ढोकाबाट भित्र प्रवेश गर्नेबित्तिकै सुरक्षाकर्मीले गाडीबाट ओर्लिएर पैदलै भित्र जान भनेपछि माधव नेपालको स्वाभिमानमा ठेस लाग्यो, त्यसैले उनी दरबारभित्र प्रवेश गरेनन् बरु गाडी घुमाएर आफ्नै निवासतर्फ मोडिए । फर्कंदा उनले राजास“ग बदला लिने र गणतन्त्र स्थापना गर्नेबारेमा सोचेका हुनसक्छन् ।


कुनै विदेशीले मानसम्मानसहित प्रसन्न तुल्याइँदा राष्ट्रिय स्वाभिमानको ख्यालै नगरी ‘सर्वस्व’ सुम्पन्न तयार हुनु या व्यक्तिगत रूपमा अपमानित होइँदा सिङ्गै मुलुक र मुलुकवासीहरूले सास्ती भोग्नुपर्ने गरी देशलाई सङ्कटको भुमरीमा झोस्नु सर्वथा गलत हो र कुनै नेतालाई यसो गर्ने अधिकार पनि हुँदैन । व्यक्तिगत रूपमा उत्पन्न ‘इगो’का आधारमा राष्ट्रिय धारणा बनाउँदा त्यसले नेताविशेषको तुष्टि मेटे पनि देशले अनिष्ट व्यहोर्नुपर्ने अवस्था पैदा हुनसक्छ ।

कतिपयले प्रधानमन्त्री पद प्राप्तिका लागि निवेदन दिँदा राजाले आफूलाई उक्त पदमा नियुक्त नगरेकाले माधव नेपाल गणतन्त्रका पक्षमा उभिन पुगेका पनि भनेका छन् । यो अनुमानकै विषय मात्र हुनसक्ला, तर त्यसरी राजदरबारको व्यवहारबाट दुःखी भएका माधवकुमार नेपाललाई तात्कालिक राजा ज्ञानेन्द्रले थप मन दुखाइदिएपछि उनी गणतन्त्र स्थापना गरिछाड्ने निष्कर्षमा पुगेकाचाहिँ अवश्य हुन् । दर्शनभेटका लागि अर्को एकपटक शाही निवासमा बोलाइएका माधव नेपाल बैठककक्षमा प्रवेश गर्नेबित्तिकै त्यहीँ रहेका पुत्र पारसतर्फ हेर्दै राजा ज्ञानेन्द्रले भनेछन्, ’All the political leaders are a group of animal. (दलका नेताहरू भनेका जनावरहरूको एउटा समूह हो ।) माधवकुमार नेपालका अनुसार आफैँले सुन्नेगरी दलका नेताहरूलाई जनावरहरूको समूह भनेको उनले सहन सकेनन् र तत्काल प्रतिवाद गरे । करिब बीस मिनेटसम्म राजनीतिक दल र दलका नेता भनेका के हुन् भन्ने प्रवचन दिएपछि उनी शाही निवासबाट बाहिरिए र बाहिरिँदै गर्दा नेता नेपालले गणतन्त्र ल्याइछाड्ने अठोट पनि गरे ।

तर, बीपी कोइरालाको सन्दर्भमा तथ्य भिन्न छ । वि.सं. २०१५ सालको संसदीय निर्वाचनमा विजयी भई बीपी संसद्को दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री बने । जनताले भारी मतदान गर्नु र दुईतिहाइ स्थान हासिल हुनुमा बीपीको कुनै दोष थिएन, तथापि उनको नेतृत्वको सरकार अपदस्थ गरी बिनाकारण बीपीलाई आठ वर्षसम्म नजरबन्द गरियो । कारावासमुक्त भएपछि पनि बीपीलाई प्रवासमा जान बाध्य तुल्याइयो, अर्को आठ वर्ष प्रवासमा रहेर राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्केका उनलाई फासी दिनुपर्ने माग राजाकै समर्थकहरूबाट भयो । बीपीलाई जनताबीच जान र स्वतन्त्र ढङ्गले घुमफिर गर्नसमेत दिइएन । राजाबाट चरम प्रताडना व्यहोरिरहेका बीपीलाई एकपटक अचानक राजासँग दर्शनभेटका लागि भनेर नारायणहिटी राजदरबारमा बोलाइयो । निर्धारित समयमै दरबारमा पुगेका बीपीलाई राजाका कर्मचारीले ‘कोटको रङ्ग नमिलेको’ भन्दै दरबारको ढोकैबाट फिर्ता पठाइदिएका थिए ।

यसरी राजाबाट पटकपटक अपमान र उपेक्षा व्यहोर्दै आएका बीपी कोइरालाले वि.सं. २०३७ सालमा सम्पन्न जनमतसङ्ग्रहको परिणामलाई लिएर अनपेक्षित धारणा सार्वजनिक गरे । जनमतसङ्ग्रहमा बहुदलीय प्रजातन्त्र पक्ष पराजित भइसकेपछि पञ्चायती शासकहरूद्वारा धाँधली भएकोले परिणाम अस्वीकार गर्न र सङ्घर्षमा जान बीपीमाथि तीव्र दबाब प¥यो । थामिनसक्नु दबाबका बीच बीपीले टुँडिखेलको खुलामञ्चमा उभिएर घोषणा गरिदिए, ‘धाँधलीका बाबजुद म जनमतसङ्ग्रहको परिणामलाई स्वीकार गर्दछु…. र राजासँग मेरो घाँटी जोडिएको छ ।’ राजाबाट बारम्बार अपमानित र प्रताडित बीपी कोइरालाबाट त्यसप्रकारको अभिव्यक्ति हुने अपेक्षा सम्भवतः कसैले पनि गरेका थिएनन् । त्यसरी ‘राजासँग घाँटी जोडिएको’ बताएर बीपीले न राजाको प्रशंसा गरेका हुन् न आफ्नो सिद्धान्त र विचार त्याग्ने सङ्केत नै थियो त्यो । बरु आफूलाई राजाले जे–जसरी दुःख दिएका भए पनि राजसंस्थाको औचित्य सैद्धान्तिक रूपले पुष्टि गर्ने प्रयास बीपीले गरेका हुन् । राजाले आफूलाई दुःख दिनु या अपमान गर्नुसँग बीपीले राष्ट्रिय नीतिलाई जोड्न चाहेनन्, आफूले दुःख पाउनु या अपमानित हुनुसँग राष्ट्रिय हितको सम्बन्ध नरहेको स्पष्ट सङ्केत त्यसबेला बीपीले दिएका हुन् । त्यसैले बीपी कोइरालालाई हाल हामीसँग उपलब्ध नेताहरूको कोटिमा राखेर तुलना गर्नु कदापि न्यायसङ्गत होइन ।

हामीलाई उपलब्ध नेताहरू देशको भन्दा आफ्नो खुसी या दुःखलाई प्राथमिकतामा राख्छन् र सोही आधारमा धारणा बनाउने गर्दछन् । वास्तवमा सच्चा नेताहरू आफूलाई प्राप्त मान, सम्मान, उपेक्षा या अपमानका आधारमा राष्ट्रिय धारणा बनाउँदैनन् । कुनै विदेशीले मानसम्मानसहित प्रसन्न तुल्याइँदा राष्ट्रिय स्वाभिमानको ख्यालै नगरी ‘सर्वस्व’ सुम्पन्न तयार हुनु या व्यक्तिगत रूपमा अपमानित होइँदा सिङ्गै मुलुक र मुलुकवासीहरूले सास्ती भोग्नुपर्ने गरी देशलाई सङ्कटको भुमरीमा झोस्नु सर्वथा गलत हो र कुनै नेतालाई यसो गर्ने अधिकार पनि हुँदैन । व्यक्तिगत रूपमा उत्पन्न ‘इगो’का आधारमा राष्ट्रिय धारणा बनाउँदा त्यसले नेताविशेषको तुष्टि मेटे पनि देशले अनिष्ट व्यहोर्नुपर्ने अवस्था पैदा हुनसक्छ । राजाबाट प्रशंसा या सम्मान प्राप्त गरेको अवस्थामा प्रजातन्त्रलाई दाउमा राख्न तयार हुनु र विदेशीबाट प्राप्त सम्मानकै मात्र आधारमा राष्ट्रिय हित प्रतिकूल सम्झौता गर्न तयार हुनु जति भयानक गल्ती हुन् नेताविशेषलाई अपमान र उपेक्षा गरिएकै मात्र आधारमा नकारात्मक दृष्टिकोण या नीति तर्जुमा गर्नु पनि त्यति नै गम्भीर गल्ती हो । राजनीतिक व्यक्तित्वले राष्ट्र र समाजको दुःख या सुखलाई आफ्नो ठान्नुपर्छ, आफ्नो निजी सुख या दुःखलाई राष्ट्रकै सुख या दुःख ठान्ने व्यक्ति राजनीतिक कर्ममा भए पनि त्यस्तालाई योग्य मान्न सकिँदैन । देशकेन्द्रित सोच भएका व्यक्तिमा मात्र देशको सुख या दुःखलाई आफ्नो ठान्ने संस्कार र प्रवृत्ति हुनसक्छ, आत्मकेन्द्रितहरूमा फ्रान्सेली राजा लुई पन्ध्रौँले भनेजस्तो ‘म नै राज्य हुँ’ भन्ने प्रवृत्ति हुन्छ र हामीले हाल प्राप्त गरेका नेताहरूको गुण पनि लुईकै जस्तो हो भन्न सङ्कोच मान्नुपर्दैन ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget