Websoft University

www.radiomakalu.com || 021-522512


चुपचाप जीवनसँग लड्दैछन् एक होनहार प्रहरी अधिकृत



मुटुको धड्कन अचानक एकैछिन रोकिँदा त्यसले मस्तिष्कमा गम्भीर आघात पारिदिएपछि मुलुककै एक होनहार प्रहरी अधिकृत झन्डै तीन सातादेखि अनिश्चयको जीवन बाँचिरहेका छन्। उनी हुन्, नेपाल प्रहरीमा उच्च व्यावसायिक मर्यादामा बाँचेका केही परिचितहरूको टोली मानिने ‘०४६ सालको इन्स्पेक्टर ब्याच’ कै अग्रधावक एसएसपी राजेन्द्रमान श्रेष्ठ। नेपाल प्रहरीको संगठनमै भावी प्रमुखका निम्ति अनुमान गरिएका एक मुख्य प्रतिस्पर्धी।

चिकित्सकहरुको ठम्याइअनुसार श्रेष्ठ अहिले ‘लक्ड इन सिन्ड्रोम’ मा छन्। अर्थात्, वरपर के भइरहेको छ भन्ने जानकारी त मिल्छ तर उनी आफूले चाहिँ कुनै कुरा कसैगरी पनि व्यक्त गर्न सक्दैनन्। उनको शरीरलाई अह्राउने मस्तिष्कको तन्तु (ब्रेन स्टेम) ले काम नगर्दा सम्पूर्ण शरीर र दिमागबीचको सम्बन्ध विच्छेद हुन पुगेको छ। स्वास्थ्य विज्ञानले यसको उपचार अहिलेसम्म निकालेको छैन। यस्तो अवस्था बेहोरेका विश्वका केही बिरामीले पुनः सामान्य जीवन प्राप्त गरेको स्थितिमा त्यस्तो चमत्कारको सम्भावनालाई भने चिकित्सकहरू नकार्दैनन्।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइँदा मुटुको धड्कन बन्द रहेका उनी यतिबेला त्यसैको प्रभावले बिथोलिएको मस्तिष्कबाहेक बाँकी सबै हिसाबले सामान्य भइसकेका छन्। धडकन फेरि सामान्य चालमा फर्केको छ। उनको शरीरको कुनै पनि अंगले मेसिन वा औषधिको सहारा लिनुपरेको छैन। एक हिसाबले उनी घर पठाइनका निम्ति तयार छन्। तर, ट्वाल्ल हेरिरहने र बेलाबेला यताउता गर्ने उनका नजरबाहेक शरीरका कुनै पनि अंगले प्रतिक्रिया व्यक्त गरिरहेका छैनन्। अर्थात् स्वासप्रश्वास र मलमूत्रजस्ता स्वचालित प्रक्रियाबाहेक शरीरका सम्पूर्ण ‘भोलन्टरली मसल्स’हरू ‘प्यारालाइसिस’ को अवस्थामा पुगेका छन्।

गत साउन १५ गते उनी धरानस्थित अञ्चल प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्दाखेल्दै अचानक लडेका थिए। उनलाई तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो। चिकित्सकका अनुसार उनी अस्पताल पुग्दा मुटुमा कुनै चाल थिएन। उनलाई ल्याउने प्रहरीहरूले घटना भएको १५ मिनेट भइसकेको बताएका थिए। अर्थात् उनको मुटुले रगत पम्प गर्न छाडेको १५ मिनेट भइसकेको मान्न सकिन्छ। अस्पताल पुगेलगत्तै उनको मुटुको चाल फेरि सुरू गराइयो। यसको अर्थ उनको मस्तिष्कमा १५ मिनेटसम्म रगत नपुगेको मान्ने हो भने त्यहाँ १५ मिनेटसम्म अक्सिजनको ‘सप्लाई’ नपुगेको ठान्नुपर्छ। जबकि, चिकित्सकहरुका अनुसार कुनै पनि व्यक्तिको मस्तिष्कमा चार मिनेटभन्दा बढी समय अक्सिजन नपुग्नेबित्तिकै त्यसले मस्तिष्कलाई क्षति पुर्‍याउन सुरू गर्छ।

राजेन्द्रमानको मस्तिष्कमा असर पर्नुको कारण यही हो। यसले उनको सारा शरीर हाल सामान्य भइसक्दा पनि मस्तिष्कको तन्तुले काम गरिरहेको छैन।

***

जतिबेला राजेन्द्रमान ब्याडमिन्टन खेल्दाखेल्दै अचानक लडेपछि दौडादौड अस्पताल पुर्‍याइएका थिए, त्यसै क्षण म पर्सा जिल्लाको थरूहट भेग पुगेको थिएँ। यो त्यही सोनवर्षा गाविस थियो जसको अर्थतन्त्र कुनै समय गाँजाले धानेको थियो।

कुनै समय गाँजाका बोराहरु थुपारिने गरेको गाउँलेका आँगनमा यतिबेला सूर्तिका पात सुकाइरहेको देख्न सकिन्थ्यो। ‘सूर्य टोबाकोले रोप्नुअगावै पैसा दिने गरेको छ,’ उनीहरु भनिरहेका थिए, ‘गाँजा जति त होइन तर नगदेबालीका रूपमा सूर्तिले हिजोआज हाम्रो खर्च जुटाउन सुरू गरेको छ।’

कुनै समय पर्सा जिल्ला र गाँजा आपसमा यस्तरी जोडिएको थियो, एकदिन यहाँ यसको खेती ठप्पै हुन्छ भनेर कसैले चिताउन पनि सक्दैन थिए। परम्परादेखि यहाँ चल्दै आएको गाँजाखेतीलाई २०३२ सालको लागूऔषध ऐनले पनि रोक्न सकेको थिएन। स्थानीय राजनीति, प्रहरी, प्रशासन, सञ्चारकर्मीदेखि गुण्डागर्दी समेतलाई आफ्नो प्रभावमा लिँदै आएको यसको खेती लरोतरो कोही एक जनाले चाहँदैमा रोकिने अवस्था थिएन। यहाँ उत्पादन हुने गाँजा र चरेसका निम्ति पहिले सीमापारको भारतीय बजार मात्र हुने गरेकामा पछिल्लो समय यसले रोपाइँ गर्नुपूर्व नै उतैबाट गतिलो अग्रिम लगानीसमेत भित्र्याउन सुरू गरेको थियो।

कुनै पनि प्रहरीका अधिकृतले देखाउनका निम्ति थोरै गाँजा काटेजस्तो गरिदिने र बाँकी समय आँखा चिम्लने हो भने वर्षमा तीन करोड रुपैयाँ त गाँजाबापत घुस मात्रै मिल्ने गरेको उतिबेलाका जिल्ला प्रहरी प्रमुखहरु स्वयं बताउँथे।

यस्तो अवस्थामा २०६६ मंसिर महिनामा एक जना यस्ता जिल्ला प्रहरी प्रमुख पर्सा आए, जसले असम्भव भनिएको गाँजा खेती उन्मूलनलाई केही महिनामै कार्यान्वयन गरेर देखाइदिए। ती प्रहरी अधिकृत अरू कोही नभएर तत्कालीन एसपी राजेन्द्रमान श्रेष्ठ नै थिए।

‘राजेन्द्रमान श्रेष्ठले रोकेको र उनीलगत्तैका एसपी रमेश खरेलले फेरि अघि बढ्न नदिएकै कारण पर्सा जिल्लाबाट गाँजाखेती निमिट्यान्नै भएर गयो,’ सोनवर्षाका कृषक भनिरहेका थिए, ‘हिजोआज यस भेगमा मकवानपुरबाट फाटफुट ओसारपसार चलिरहेको भए पनि यो जिल्लामा गाँजा खेती एक ठाउँमा पनि भेट्न मुश्किल पर्छ।’

नतिजा निस्कने गरी काम गरेर देखाउने तर प्रचारप्रसारमा उत्तिको आउन नरूचाउने राजेन्द्रमान श्रेष्ठले पर्साको गाँजा मात्र नियन्त्रण गरेका थिएनन्। जतिबेला मधेसमा भूमिगत समूहहरुको आपराधिक गतिविधि चुलीमा पुगेको थियो, त्यतिबेला एकपछि अर्को मधेसका जिल्ला सम्हाल्दै हिँडेका उनले त्यहाँका सर्वसाधारणलाई त्रासमुक्त पनि बनाउँदै गएका थिए।

वीरगन्ज कमर्स कलेजका संस्थापक एवं स्थानीय गुरू सुशील भट्टराई राजेन्द्रमानको प्रशंसा गरेर कहिल्यै थाक्दैनन्। किनभने उनले त्यो कहालीलाग्दो दिन भोगेका छन्।

शिक्षण संस्था चलाइरहेका सुशील जब कलेजमा पुग्थे, उनको कार्यकक्षभित्र पहिल्यैदेखि कोही आएर बसिसकेको हुन्थ्यो। सोफामा ढसमस्स, हेर्दै सोमत नभएको पाराले। उनी कुर्सीमा बस्न नपाउँदै त्यो अपरिचित उठ्थ्यो, ढोका लगाउँथ्यो र पाकेटबाट पेस्तोल निकालेर उनको टेबलमा राख्थ्यो। त्यसपछि मोबाइलमा नम्बर डायल गर्दै भन्थ्यो, ‘ल हाम्रो फलाना भूमिगत नेतासँग कुरा गर्नुहोस्।’

कुरा गर्न माने पनि सुख थिएन, नमाने पनि सुख थिएन। त्यो अपरिचित भने अगाडिको पेस्तोल घरि समात्ने त घरि टेबलमा राख्ने गरिरहन्थ्यो।

‘त्यो बेला पुस्तौंदेखि वीरगन्जमा बसोबास गर्दै आएका असंख्य परिवार पलायन भएर अन्यत्र गए,’ सुशील सुनाउँछन्, ‘सक्नेजति काठमाडौं गए, नसक्ने हेटौंडा र त्यो पनि नभ्याउनेहरु महेन्द्र राजमार्ग वरपरका बस्तीतिर।’

स्वयं प्रहरीमा पनि संदिग्ध चरित्र भएका व्यक्ति देखा पर्न लागेका बेला कसलाई पत्याउने र कहाँ गुनासो गर्ने भन्ने ठाउँसमेत नपाएको सुशील सम्झना गर्छन्। त्यतिबेला फिरौतीका निम्ति जिल्ला प्रमुख रहेका एक जना एसपी नै अपहरणमा संलग्न भेटिएपछि सम्पूर्ण वीरगन्ज काँपिरहेको थियो।

‘हो, यस्तो बेला आएका थिए एसपी राजेन्द्रमान,’ सुशील सुनाउँछन्, ‘त्यो समयको भयानक उपद्रो थामथुम पार्ने र पर्सा जिल्लाबाट गाँजा खेतीको दाग मेट्नमा उनको योगदान यहाँका बासिन्दाले कहिल्यै बिर्सन सक्दैनन्।’

पर्सा जिल्लामा लामो समयदेखि प्रहरीकै अगुवाहरूले संगठनलाई बिगार्दै आइरहेकोमा आफू आएपछि सबैभन्दा पहिलो सुधार संगठनभित्रै गर्नुपरेको राजेन्द्रमानले यस संवाददातालाई त्यतिबेला बताएका थिए।

‘मलाई वीरगन्ज पुग्नेबित्तिकै त्यतिबेला त्यहाँ सक्रिय २५ भन्दा बढी भूमिगत संगठन बरू त्यति चुनौतिपूर्ण लागेन,’ उनले भनेका थिए, ‘त्योभन्दा ठूलो चुनौति मेरो आफ्नै संगठनभित्र युगौंदेखि थुपारिएका खराबीलाई कसरी सुधार्ने भन्ने थियो।’

त्यतिबेला वीरगन्जको सार्वजनिक स्थानमै सबैले देख्ने गरी आफ्नै सहकर्मी प्रहरीलाई पिट्ने, कतिपयलाई जागिरबाटै हटाउने र कतिपयलाई अझ जेलमै पठाउनेसम्मका काम राजेन्द्रले गर्नुपरेको थियो।

जुन वीरगन्जमा एकपछि अर्को आपराधिक घटनाले व्यापारीहरुले कसैको फोन नउठाउने मात्र होइन, सहरै छाडेर जान सुरु गरेका थिए त्यस्तो ठाउँमा राजेन्द्रमान (पछि रमेश खरेल पनि आएपछि) ले सहरलाई पुरानै गतिमा फर्काइदिएका थिए। त्यसको जस अहिले पनि वीरगन्जले एक स्वरबाट यी दुई बहादुर प्रहरी अधिकृतलाई दिँदै आएको छ।

कुनै समय माओवादीले एकपछि अर्को स्थानमा आक्रमण गरिरहँदा यसरी प्रहारमा परेको जिल्ला सम्हाल्न राजेन्द्रमान पुग्थे। बेनी आक्रमण भएलगत्तै त्यहाँको जिल्ला प्रहरी प्रमुख भएर मात्र उनी गएनन्, गोरखा र दोलखालगायत जिल्लालाई माओवादी प्रभावका हिसाबले ‘क’ वर्गबाट ‘ख’ मा झार्न महत्वपूर्ण योगदान पनि दिए। दोलखामा प्रहरी प्रमुख रहँदा त उनी एम्बुसमै परेर बाँचेका थिए।

माओवादी र मधेसका भूमिगत गतिविधि मात्र होइन, एसएसपी भएपछि पनि पहिलो जिम्मेवारी पाएको ललितपुरमा युनिटीका मालिक काशी गुरूङलाई भारतदेखि पक्रेर ल्याउने काम उनैले गरेका थिए। हाल भारतका वरिष्ठ प्रहरी अधिकृतसँग उतिबेलै आइपिएस तालिममा रहँदा हिमचिम बढाएका राजेन्द्रमानले सीमापार अपराधमा संलग्न वा भागेर उता जाने ठूला अपराधीहरुलाई फिर्ता ल्याउन बारम्बार महत्वपूर्ण भूमिका खेले।

त्यसपछि लामो समय नयाँदिल्लीस्थित नेपाली दूतावासमा सुरक्षा प्रमुखका हैसियतले जिम्मेवारी सम्हाल्न पुगेका राजेन्द्रमानले स्वदेश फिर्नेबित्तिकै भर्खरै मात्र विराटनगरस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रको प्रमुख भएर काम गर्दै आइरहेका थिए। त्यसै क्रममा नियतिले अचानक क्रूर खेल राजेन्द्रमानसँग खेलेको छ।

***

‘संगठनकै महत्वपूर्ण अधिकृतबारे अचानक यस्तो खबर सुन्नुपर्दा हामी सबै स्तब्ध भएका छौं,’ डिआइजी देवेन्द्र सुवेदी भन्छन्, ‘त्यो समाचार थाहा पाउनेबित्तिकै स्वयं प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल वरिष्ठ स्नायुरोग विशेषज्ञ उपेन्द्र देवकोटालाई आफैंसँग लिएर धरान पुग्नुभएको थियो।’

यो घटनाले यतिबेला पूरै प्रहरी संगठनलाई चिन्तित पारिरहेको सुवेदीले बताए।

प्रहरी प्रधान कार्यालयमै रहेका सुवेदीलाई पनि धरान जाने प्रस्ताव थियो। तर, उनले यो अवस्थामा राजेन्द्रमानलाई सामना गर्ने आँटै जुटाउन सकेनछन्। त्यसको पनि कारण रहेछ।

‘संगठनबाहेक पनि मैले असाध्यै माया गर्ने मेरा भाइजस्तै थिए राजेन्द्रमान,’ उनी भन्दै थिए, ‘उनको सामु उभिँदा म बलियो रहिरहन्छु जस्तो लागेन र गइनँ।’

उनका अनुसार केही महिनाअघि मात्र प्रहरी आइजिपी उपेन्द्रकान्त अर्यालले बेलायत भ्रमण गर्दा त्यो टोलीमा सुवेदी र श्रेष्ठ साथै थिए।

आफूभन्दा जुनियर अधिकृत भए पनि कुनै समय देवेन्द्र र राजेन्द्रमानले सँगै तालिम लिएका रहेछन्। नेपालका अब्बल प्रहरी अधिकृतलाई भारतमा दिइने आइपिएस तालिमका बारेमा पनि उनको रोचक अनुभव रहेछ। बाहिर सुनिएको यससम्बन्धी चर्चालाई सुवेदीले यसरी पुष्टि गरेः

‘त्यो तालिमका निम्ति भारतमा जस्तै तह मिलाउन नेपालबाट डिएसपी पठाउनुपर्ने थियो,’ देवेन्द्र भन्छन्, ‘हामी त्यतिबेला इन्स्पेक्टर नै थियौं।’

यस्तो बेला प्रहरी प्रधान कार्यालयले आफूहरुलाई डिएसपीको फुली प्रदान गरेको उनी सम्झना गर्छन्।

‘मेरो बढुवाको पालो भइसकेकाले भारतबाट फर्कनेबित्तिकै म डिएसपी नै भएँ,’ उनले सुनाए, ‘राजेन्द्रमान र रमेश खरेलहरुले भने लगाइसकेको डिएसपीको फुली फर्केर आएपछि फिर्ता बुझाउनुपरेको थियो।’ सुवेदीका अनुसार कुनै तालिमकै कारण एकपटक डिएसपीको फुली लगाइसकेका ती अधिकृतले करिब दुई–तीन वर्षसम्मै फेरि इन्स्पेक्टरमा झरेर काम गर्नुपरेको थियो।

प्रहरी संगठनसँग नजिक रहेका व्यक्तिहरुका अनुसार योग्य प्रहरी अधिकृतलाई भारतको आइपिएस तालिममा पठाउन यस्तो प्रबन्ध मिलाउनुपरेको हो।

यो सबैले पनि राजेन्द्रमानको क्षमता पुष्टि गर्छ।

राजेन्द्रमानको अवस्थालाई यतिबेला आफूले नजिकबाट नियालिरहेको डिआइजी सुवेदी सुनाउँछन्।

‘अस्पतालमा त होइन,’ उनले भने, ‘घरमा आइसकेपछि उनको उपचारमा अब काम लाग्ने ‘कग्नेटिभ इम्प्रुभमेन्ट’का निम्ति म पनि एकपटक आफ्नो प्रयास लगाउने छु।’

***

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक एवं मुटुरोग विशेषज्ञ संजीव शर्मा यतिबेला राजेन्द्रमानको उपचारमा संलग्न चिकित्सक टोलीमा पनि सरिक छन्। प्रतिष्ठानकै एक जना कर्मचारी केही अघि सडक दुर्घटनामा परेर ६ महिनासम्म ‘कोमा’ मा रहे पनि पछिल्लो समय उनको मस्तिष्कमा सुधार भएको र अहिले कार्यालय जान थालेको अवस्था हेर्दा राजेन्द्रमानमा पनि त्यस्तो चमत्कार हुनसक्ने सम्भावना उनी देख्छन्।

‘उपचार गरेरै यसरी निको पार्ने भन्ने खासै उपाय बाँकी छैन,’ शर्मा भन्छन्, ‘मस्तिष्कलाई फेरि सामान्य अवस्थामा ल्याउन अपनाइने थेरापी र ‘रिहाबिलिटेसन’ (पुनर्स्थापना) का निम्ति सक्दो अनुकूल वातावरण उपलब्ध गराउने मात्र हो।’

‘सडेन कार्डियाक डेथ’ (अचानक मुटु बन्द) को अवस्थामा अस्पताल ल्याइएका राजेन्द्रमानलाई पहिले त बाँच्ने कि नबाँच्ने भन्ने अवस्था रहेकामा हाल बचाउने काम सम्पन्न भएको डा. शर्मा बताउँछन्। बिरामीमा पहिलेदेखि उच्च रक्तचापको समस्या रहेको र औषधि खाइरहेको भए पनि यसरी अचानक मुटु बन्द हुनुमा रक्तचापको कुनै दोष नरहेको डा. शर्माले प्रस्ट पारे।

‘मुटुलाई घर मानेर हेर्ने हो भने प्रायः समस्या निम्त्याउने खानेपानीको सञ्जाल वा घरका भित्ताहरुमा समस्या आएको होइन,’ डा. शर्मा भन्छन्, ‘अचानक बिजुली नै झ्याप्पै बन्द भइदिएको हो।’ त्यसरी अचानक मुटु थामिनुमा भने त्यस दिन राजेन्द्रमानले असाध्यै बढी शारीरिक अभ्यास गर्नु पनि कारक हुनसक्ने डा. शर्माको ठम्याइ छ।

‘उहाँ शरीरलाई अत्यन्तै बढी परिश्रम गराउनु हुँदोरहेछ,’ उनले थपे, ‘कोही कोही बेला असाध्यै ‘हेभी एक्जर्सन’ मा पनि ‘सडेन कार्डियाक डेथ’ हुनसक्छ।’

राजेन्द्रमानलाई अस्पताल ल्याउनेबित्तिकै एन्जियोग्राम गर्दा यसरी मुटु अचानक रोकिनुको कारण केही फेला परेको थिएन। धरानमा प्रविधिको सीमिततालाई पनि स्वीकार्ने डा. शर्माका अनुसार कतिपय अवस्थामा यस्तो समस्या मानिसले जन्मजातै बोकेर आउने भएकाले पनि पत्ता लगाउन मुश्किल पर्छ।

यसरी अचानक बन्द भएको मुटुले मस्तिष्कमा रक्तसञ्चार नगराउँदा नै अहिलेको अवस्था उत्पन्न भएको हो। बिरामी भइसकेपछि भने यसरी मुटु अचानक बन्द हुन नदिन सामान्यतया ‘पेसमेकर’ राख्ने चलन छ।

‘मुटु मात्र होइन, उहाँको सम्पूर्ण शरीर फेरि सामान्य भइसकेको छ,’ डा. शर्मा भन्छन्, ‘केवल मस्तिष्कमा सुधारको पर्खाइ छ।’

यसको निम्ति स्वदेशमा उपचार गर्ने वा विदेशमा भन्ने कुराले खासै ठूलो फरक नपार्ने भए पनि चिकित्सामा ‘मनको सन्तोष’ अर्को ठूलो ‘फ्याक्टर’ हुने गरेको डा. शर्मा बताउँछन्। त्यसो त विदेशमा गए दिमागको स्क्यान राम्रोसँग गर्न सकिने हुँदा केही भइ पो हाल्छ कि भन्ने परिवारको मनोविज्ञान छ भने त्यो पाटोलाई पनि बेवास्ता गर्न नमिल्ने डा. शर्माले सुनाए।

यतिबेला भने अस्पतालले उनलाई ल्याउनेबित्तिकै घाँटीमा प्वाल पारेर मेसिन राखेकोमा त्यो घाउ पुरिउन्जेल पर्खिरहेको, नत्र घर लगे हुने अवस्था रहेको उनले प्रस्ट पारे।

***

नेपालगन्जस्थित नेपाली कांग्रेसका पुराना नेता कृष्णमान श्रेष्ठका चार छोरामध्ये माहिला राजेन्द्रमानका शरीरमा भइरहेको एक-एक प्रगतिलाई यतिबेला उनकी पत्नी र छोरी साम्भवीलगायत परिवारले नियालिरहेका छन्। उनका छोरा भने अमेरिकामा अध्ययन गर्दैछन्।

‘पछिल्लो समय बुवालाई ह्विलचियरमा राखेर घुमाउने अनुमति दिएपछि बेलाबेला बाहिर पनि निकाल्न थालेका छौं,’ साम्भवी भन्छिन्, ‘भर्खरै उहाँले आँखाबाट अलिक बढी प्रतिक्रिया देखाउन सुरू गर्नुभएको छ।’

बुवाको सेवामा रहँदारहँदै साम्भवीले भारत र चीनका सुविधासम्पन्न अस्पतालहरुमा सम्पर्क गर्नेदेखि लिएर यससम्बन्धी संसारभरि के कस्ता उपचार सम्भव छन् भनेर खोजी पनि जारी राखिरहेकी छन्। यसै क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै चिकित्सक डा. प्रशान्त शाहमार्फत् उनले भारतको ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’मा सम्पर्क स्थापित गर्न सफल भइन्। उतै पढेर आएका डा. प्रशान्तले त्यहाँका वरिष्ठ स्नायुरोग विशेषज्ञसँग साम्भवीको सम्पर्क गराइदिएका थिए। ती विशेषज्ञले राजेन्द्रमानको उमेर अझै कम भएकाले उनको ‘ब्रेन रिकोभरी’ (मस्तिष्कमा सुधार) हुने सम्भावना रहेको आशा देखाएका छन्।

‘ती सिनियर न्युरोलोजिस्टले कम्तीमा एक-दुई महिना नेपालमै ‘रिकोभरी’ (सुधार) हुन दिने सुझाव दिनुभएको छ,’ साम्भवीले भनिन्, ‘त्यसपछि दिल्ली ल्याए हुने उहाँको राय पाएका छौं।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget