Websoft University

www.radiomakalu.com || 021-522512


नेविसंघका महिला उम्मेदवार भन्छन्,‘नेतृत्वले हामीलाई हल्कारुपमा लिनु भएन’



नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेविसङ्घमा आबद्ध महिलाले पार्टी नेतृत्वले महिलालाई हल्का रुपमा लिँदा महिलाको नेतृत्व विकास हुन नसकेको बताएका छन्।

नेपाल विद्यार्थी सङ्घमा लामो समयदेखि सक्रिय रुपमा लाग्दै आएकी उर्मिला थपलिया अहिले महामन्त्रीको उम्मेदवार छिन्। उनी विद्यार्थी सङ्गठनलाई पनि भिन्न तरिकाले अगाडि लैजान महिला पनि पुरुषसरह नेतृत्वमा जानुपर्ने बताउँछिन्। उनले भनिन्,'यसका लागि महिलाले हिम्मत देखाउनु जरुरी छ ।'

उर्मिला नेविसङ्घको विधानमा महिला उपाध्यक्ष पदमा निर्वाचित एक र मनोनीत एक राखेर राम्रो काम गरे पनि महिलालाई सधै कमजोरको रुपमा हेर्ने गरेको बताइन्। महिला उपाध्यक्षको उम्मेदवार कृष्णकुमारी बस्नेत देशको मुख्य तीन पदमा महिला पुगेको वर्तमान अवस्थामा नेपाली काँग्रेसले महिलालाई विशेष प्राथमिकता दिनुपर्ने बताउँछिन्। उनी भन्छिन्,'संविधानमा जस्तै नेविसङ्घमा पनि महिलालाई ३३ प्रतिशत सिट सुनिश्चित गर्नुपर्छ।'उनले सङ्गठनलाई चुस्त र दुरुस्त बनाई अगाडि बढाउन सक्षम महिलालाई अगाडि बढाउनुपर्ने बताइन्।

प्रदेश नम्बर ५ बाट खुल्ला उपाध्यक्ष पदको उम्मेदवार निमा गिरीले अन्य राजनीति दलका महिला विद्यार्थी सङ्गठनमा महिला अध्यक्ष हुने गरे पनि नेविसङ्घका महिला नेतृत्वमा आउन नसक्नु दुःखद् भएको बताइन्। उनले भनिन्,'महिलालाई नेतृत्वमा आउने वातावरण पार्टीभित्रबाट बनाउनुपर्छ।'

कोषाध्यक्षकी उम्मेदवार अञ्जना अर्यालले महिलालाई केन्द्रमा लैजानका लागि तल्लो स्तरमा पनि महिलाको प्रतिनिधित्व राम्रो हुनुपर्ने बताउँछिन्। उनी भन्छिन्,'विद्यार्थीको हकहितमा काम गर्ने र सङ्गठनमा निरन्तर लागेको महिला नेविसङ्घमा आवश्यक छ।'

सहमहामन्त्री उम्मेदवार रञ्जिता कार्कीले विद्यार्थी सङ्गठनलाई हाँक्न सक्ने महिला नेतृत्व अहिले नेविसङ्घलाई खाँचो रहेको बताइन्।

उनले नेविसङ्घको नयाँ विधानले ३२ वर्षसम्म नेविसङ्घको अध्यक्ष लड्न पाउने व्यवस्था गरेकोलाई आपत्ति जनाउँदै भनिन्,'अहिले ३२ वर्ष भएको व्यक्ति महामन्त्री भयो भने त्यो मान्छे अर्को अधिवेशनमा अध्यक्ष हुन नपाउने?'

प्रदेश ५ बाट केन्द्रीय सदस्यको उम्मेदवार अनु शर्माले नेविसङ्घको ११ औँ अधिवेशनले महिलाको नेतृत्व चाहेको बताइन्। उनले भनिन्,'११ औँ महाधिवेशनले महिलाको प्रतिशत सुनिश्चित गरी धेरैभन्दा धेरै महिलालाई समेट्नुपर्छ।' उनले महिलालाई अवसर दिए जस्तोसुकै काम पनि गर्नसक्ने उल्लेख गरिन्।

विधान परिमार्जनसहित अबको नेविसङ्घको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ। जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एक जना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने छन्।

त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन्। सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ।

नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक)बीच पार्टी एकता भएपछि पहिलोपटक हुन लागेको महाधिवेशनमा विभिन्न पदमा दर्जनौँ महिलाले उम्मेदवार दिएका छन्। नेविसङ्घको ११ औँ महाधिवेशन यही साउन २३ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुँदैछ। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget